कोरोनाविरुद्ध सार्क आपत्‌कालीन कोष

२०७६ चैत्र ३, सोमबार १०:४९

नयाँदिल्ली — दक्षिण एसियाली सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरूले कोभिड–१९ महामारीविरुद्ध लड्न आपत्कालीन कोष घोषणा गरेका छन् । सार्क सदस्य राष्ट्रका सरकार प्रमुख र उच्च प्रतिनिधिबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा एक करोड अमेरिकी डलरको कोष घोषणा गरिएको हो ।

छलफलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तर्फबाट एक करोड अमेरिकी डलर योगदान गर्ने जनाउँदै कोष स्थापनाको प्रस्ताव गरेका थिए । उनले अन्य मुलुकले कोषमा स्वैच्छिक रूपमा योगदान गर्न सक्ने र आवश्यकताअनुसार जुनसुकै मुलुकले कोषको रकम उपयोग गर्न सक्ने बताएका थिए । प्रस्तावमा सबै मुलुकले समर्थन जनाएका छन् । कोषको कार्यविधि दूतावासहरूमार्फत विदेश सचिवहरूले टुंगो लगाउनेछन् ।

भिडियो छलफलमा कोभिड–१९ महामारी रोकथामका लागि स्वास्थ्यसम्बन्धी सार्कस्तरीय संरचना गठन गर्ने समझदारी पनि भएको छ । सार्क सदस्य राष्ट्रहरूबीच सूचना आदानप्रदान र दीर्घकालीन सहकार्यका लागि क्षेत्रीय संरचनाको आवश्यकता छलफलमा सहभागी सरकार प्रमुख तथा प्रतिनिधिले औंल्याएका थिए ।

छलफलका लागि भारतको विदेश मन्त्रालयले समन्वय गरेको थियो । सार्क राष्ट्रका प्रमुखहरू सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनपछि पहिलो पटक यसरी सँगै छलफलमा सहभागी भएका हुन् । पाकिस्तानमा सन् २०१६ मा १९ औं शिखर सम्मेलन हुने तय भए पनि भारत र पाकिस्तानबीच विकसितकटुतापूर्ण सम्बन्धका कारण सार्क निष्क्रियझैं बन्न पुगेको थियो ।

कोभिड–१९ महामारीको त्रास विश्वव्यापी भएका बेला आइतबार भएको छलफललाई सार्कको पुनर्जीवनका रूपमा कतिपय विश्लेषकले अर्थ्याएका छन् । सार्क राष्ट्रमा कोभिड–१९ को संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । कोभिड–१९ महामारीको त्रास विश्वव्यापी भएका बेला आइतबार भएको छलफललाई सार्कको पुनर्जीवनका रूपमा कतिपय विश्लेषकले अर्थ्याएका छन् ।

सम्बन्धित समाचार