काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसहित देशभरका आन्तरिक विमानस्थलको सरसफाईमा तिव्र सुधार गरिने बताएका छन् ।
सफाई मजदुरलाई तालिम र आधुनिक सामग्रीको व्यवस्था गरेर सरसफाईमा परिवर्तन ल्याइने उनको भनाई छ ।
शुक्रबार मन्त्रालयमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएनए)ले तयार पारेको देशभरका ११ विमानस्थलहरुको सरसफाई अवस्थाको ‘अडिट’ हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अन्तराष्ट्रिय मापदण्ड अनुसार विमानस्थल सफाईका लागि सरकारले काम गर्ने बताए ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता एंव सफाई विज्ञ खेमनाथ शर्माले ११ विमानस्थलहरुको सरसफाई अवस्थाको बेग्ला–बेग्लै ‘अडिट’बुझाएका थिए । धनगढी, नेपालगञ्ज, गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवा, पोखर, भरतपुर, सिमरा, जनकपुर, विराटनगर, चन्द्रगढी, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (आन्तरिक) र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (अन्तराष्ट्रिय) को स्थलगत अध्ययनपछि ‘अडिट’ रिपोर्ट तयार पारिएको हो ।
‘अडिट’मा हाल विमानस्थलहरुमा सरसफाईको अवस्था, समस्या, कानुनी समस्या र आगमी दिनमा गर्नुपर्ने कामहरुको सूची र सुझाव समावेश छ । शर्माले अन्तराष्ट्रिय मापदण्ड अनुसार सरसफाई गर्नुपर्ने सफाईका स्पष्ट कानुनी व्यवस्था गर्नु पर्ने, सरसफाई मजदुरलाई तालिमको व्यबस्था गर्नुपर्ने, सफाई मजदुरले प्रयोग गर्ने सामग्रीमा सुधार गर्नुपर्ने लगायतका सुझाव दिएका छन् ।
मन्त्री भट्टराईले सुझावहरु महत्वपूर्ण भएको भन्दै ती त्यसकै आधारमा विमानस्थलहरुको सरसफाई सुरु गराउन प्राधिकरणलाई निर्देशन समेत दिएका छन् । उनले ती सबै सुझाव सम्बन्धित विमानस्थलमा पठाइदिन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई निर्देशन दिए । उनले सुझावलाई तत्काल कार्यान्वयन गराउन र एक महिनापछि कार्यान्वयन अवस्था बारेमा रिपोर्ट तयार पार्न निर्देशन दिए ।