लक्ष्मी श्रेष्ठ
सुन्दरीजल
हाल, न्युयोर्क
ओहो यसपाली पनि
मेरी आमा ब्याउने भईसकिछिन्
कत्ति छिट्टो पत्तै नपाई
समयले पखेटा उचालिसकेछ
हिजो अस्तिजस्तै लाग्छ
मेरी कान्छी बहिनी जन्मेकी
हेर्दाहेर्दै १ वर्ष पनि बितिसकेछ !
पोहोरमात्रै त हो नि !
तप् तप् तप् मेरी आमाको आँखाबाट
आँसु तप्किरहेथ्यो
छट्पटिँदै छट्पटिँदै
रात छर्लंग हुन खोज्दै थियो
मेरी आमाको सुक्सुकाहटले
सायद मेरो बाबाको निद्रा
बिथोलिएछ क्यारे
उठेर आमालाई गाली गर्दै थिए
‘हैन कत्ति नाटक गरिरहेकी ?
रातभरि राम्रोसँग सुत्न पनि दिइन नखरमाउलीले
यसपाली त तै तै छोरा पाएर
मेरो वंशज थामीदेली कि भन्ने
मेरो विश्वासमा कुठाराघात नै गरिदिइस् हैन ?
पाँच वटी छोरी पाएर पनि अझै पुगेन तँलाई ??
घरभरी ४ जना ससाना बहिनीहरु
च्याँ च्याँ र म्याँ म्याँ गर्दैछन्
मेरी आमा मेसिनभन्दा कम त कहाँ छिन् र ?
छोरा पाउने सुन्दर सपनालाई
अझै तिलान्जली दिन सकेकी छैनन
अस्ति ज्योतिष बा ले खै के भने कुन्नी ?
मेरा बा को भूइँमा खुट्टा छैन
आजकाल त एक्लै बर्बराउँदै हिँड्ने
रोगले च्यापेको छ उनलाई
‘यसपाली त घरको दीयो बल्ने भो भन्दै’
मुसुमुसु एक्लै हाँस्दै पनि हिँड्न थालेका छन् !
म बिचरी गाई भैंसीलाई कुँडो
बहिनीहरुलाई फापरको हलुवा
बनाउँदै भोक साम्मे पार्न नै व्यस्त छु !
स्कुललाई घाँस दाउराका भारी सँगै नमन गर्छु ।
यो जमानामा आएर पनि कालो अक्षर
भैंसी बराबर नै हुने भो आफूलाई त
खै ! स्कुल जाने दिन कहिल्यै जुरेन
यो अभागी छोरीलाई
के गर्नु ? आफ्नै कर्मलाई दोष दिनु शिवाय
के नै पो गर्न सक्छु र म !
खै ! त्यो नारी दिवस कता अल्मलियो कुन्नी ?
सायद बाटो बिरायो होला !
आउँछ रे भनेको त सुनेकी थिएँ
हुन त हाम्रो यस्तो गाउँमा कसलाई पो आउन मन लाग्छ र ?
न त हाम्रा नेता चुनाव जितेर गाउँ आए
न त यो नारी दिवस नै कहिल्यै आउने भयो !
सहरको ठूलो ठूलो घरहरुभित्र नै
सायद व्यस्त भयो होला
अब आफ्नै भाग्यलाई सराप्नु शिवाय
के नै पो लछारपाटो लागाउन सक्छु र म ?
यस्तै छ मेरो नारी दिवस !