बिरामीको ज्यान बचाइदिएर पाइने हाँसो अमूल्य हुन्छ : डा.कुन्जाङ शेर्पा

२०७६ चैत्र ९, आईतवार ०८:२६

नेपालका आदिवासी शेर्पा समुदायबाट पहिलो मुटुरोग विशेषज्ञ हुन् डा.कुन्जाङ शेर्पा । सोलुखुम्बु सल्लेरीमा वि.सं. २०४० जन्मेका डा. कुन्जाङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी, काठमाडौंमा मुटुरोग विशेषज्ञको रुपमा कार्यरत छन् । उनले नेपाल मेडिकल कलेज जोरपाटीबाट एमबीबीएस र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट इन्टरनल मेडिसिनमा एमडी गरेका थिए । लगत्तै बीपी प्रतिष्ठानमा एसिस्टेन्ट प्रोफेसर भएर अढाइ वर्ष कार्य गरेका थिए । त्यसपछि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को डिएम (डक्टर अफ मेडिसिन) कार्डियोलोजीको तीन वर्षे छात्रवृत्तिमा अध्ययन पूरा गरी हालै डिएम कार्डियोलोजी बनेका हुन् । शिक्षित परिवारमा जन्मिएका डा. कुन्जाङ सानैदेखि डाक्टर बन्ने सपना देख्थे भने उनका बुवाले पनि डाक्टर नै बनाउन चाहन्थे । अथक् मेहनतले मुटुरोग विशेषज्ञ बनेका डा.शेर्पासँग यस क्षेत्रका संघर्ष, नेपालमा मुटुरोगको निदान, उपचार केन्द्रको सर्वसुलभता र आगामी योजनालगायत विषयमा टीकाराम तामाङले गरेको कुराकानी ।

 

तपाईं मुटुरोग विशेषज्ञ, कसरी दिनचर्या बिताइरहनु भएको छ ? 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को डिएम (डक्टर अफ मेडिसिन) कार्डियोलोजीको तीन वर्षे छात्रवृत्तिबाट पढेकोले हामी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको करारमा ‘बोन्ड’ हुन्छौं । त्यो दौरानमा दुई वर्षका लागि भर्खरै शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा सरकारले खटाएको छ । अहिले यहीं बिरामीलाई सेवा दिइरहेको छु । सरकारले छात्रवृत्तिमा पढाएबापत हामी दुई वर्ष सरकारलाई सहयोगका लागि आबद्ध हुन्छौं ।

मुटुरोगका समस्या कत्तिको आउने गरेको छ त ?

दैनिक हेर्दा साउथ एसिया रिजन नै मुटुरोगको एकदमै हाइरिक्समा छ । नेपाल पनि साउथ एसियाकै एरियामा पर्छ । मुटुरोगका प्रमुख कारणहरु मधुमेह, उच्च रक्तचाप, सुर्तीजन्य वस्तु सेवन, तनावपूर्ण जीवन, जेनेटिक हिस्ट्री, उच्च कोलेस्ट्रोल, रगतमा हुने बोसोपन, व्यायाम नगर्ने बानी, खानपिन र जीवनशैलीले दक्षिण एसिया एकदमै मुटुरोगको जोखिममा परिरहेको छ । नेपालको कूल जनसंख्यामध्ये ३० देखि ५० प्रतिशत मुटुरोगको जोखिममा छ । मानिसको हिँडडुल पनि छुट्यो । खानपिन चेन्ज भयो । पहिलेको जीवनशैली छोडेर आधुनिकतामा जान खोज्यौं । त्यसले खासगरी कोरोनरी आटरी डिजिज लाग्नेहरुको संख्या धेरै छ । घाँटीको इन्फेक्सन भएपछि कन्ट्रोल गर्न नसकेर अन्तिममा मुटुको भल्वलाई इन्फेक्सन गर्ने रिम्याट्रिक हार्ट डिजिज ( मुटुको बाथ रोग) हुन्छ । ज्वरो आउने, घाँटी दुख्ने र त्यसको दुई तीनदिनपछि जोर्नी दुख्ने, त्यसको दुई तीन हप्तापछि मुटुको भल्वलाई असर गर्ने रिम्याट्रिक हार्ट डिजिजका बिरामीहरु पनि एकदमै बढ्दो छ । अर्को भनेको जन्मजात हृदयरोग र मुटुको धड्कन गडबढी हुने बिरामीहरु हामी धेरै हेरिरहेका छौं ।

मुटुरोगीलाई अहिले विश्वमा फैलिएको कोरोना भाइरस संक्रमण हुने कत्तिको जोखिम हुन्छ ?

जो बिरामीमा प्रेसर, सुगर, मुटु रोग हुन्छ । त्यसमा कोरोनो भाइरस संक्रमणको जोखिम धेरै हुन्छ । र, मृत्युदर मुटुरोग हुनेहरुको १० प्रतिशत बढी देखिएको छ ।

नेपालको सन्दर्भमा कुन भेगका मानिसलाई बढी मुटुरोगको जोखिम छ ? नेपाल पनि साउथ एसियामा पर्ने भएकोले यस ठाउँमा जन्मिएका एक चौथाइ मान्छेहरुमा जन्मजात मुटुरोगको सम्भावना हुन्छ । जस्तो, चारमध्ये एक जनालाई मुटुरोग हुने चान्सेज हुन्छ । वंशजका कारण तिनीहरुलाई मुटुरोगको झन् जोखिम धेरै हुने हो । साउथ एसिया रिजनका मान्छेहरुलाई पश्चिमी विकसित देशका नागरिकभन्दा अझै चाँडो उमेरमा हृदयघात भइरहेको छ ।

हामीमा मोटोपन पनि बढ्दो छ । दैनिक तनाव, खानपान र जीवनशैलीका कारणले कोरोनरी हार्ट डिजीज (मुटुको धमनी ब्लक हुने) एकदमै धेरै छ । हिमाली क्षेत्रमा बसोबास गर्ने मान्छेहरु दैनिक व्यायाम गर्नुहुन्छ, राम्रो खानपान गर्नुहुन्छ । त्यहाँ मुटुको धमनी ब्लक हुने प्रतिशत धेरै कम छ । तर, तराईमा बस्ने मान्छेहरुमा अलि बढ्ता छ । सहरमा बसेर खानपिन, व्यायाममा ध्यान नदिने मानिसमा त मुटुको नली बन्द हुने चान्सेज उच्च छ । मुटुको भल्व बिग्रिने रोग गरिब वर्ग र पिछडिएका क्षेत्रमा धेरै देखिएको छ ।

कुन उमेर समूहका मानिसलाई बढी हृदयघात हुने सम्भावना हुन्छ ?

हामी ४० वर्षभन्दा तलकालाई युवा मान्छौं । त्यो उमेर हद काटेकालाई हृदयघात हुने डर हुन्छ । र, महिलाहरुमा चाहिँ महिनावारी सकिसकेपछि एकदमै हाइरिक्स हुन्छ । खानपिन र जीवनशैली परिवर्तन र धुम्रपान गरेकाले ४० वर्ष मुनिकालाई पनि हृदयघातको जोखिम हुन्छ ।

बेलाबेलामा मुटु परीक्षण गर्नुपर्छ भन्ने चेतना मानिसमा देखिन्न, कति समयावधिमा गर्दा उत्तम हुन्छ ? 

मानिसलाई जबसम्म रोग लाग्दैन, तबसम्म जीवनशैली परिवर्तन गर्ने, नियमित आफ्नो शरीर जाँच गर्नुपर्ने कुरा थाहा हुँदैन । हामीले हाम्रो ब्लडप्रेसरको नम्बर, कोलेस्ट्रोलको लेभल (बोसोपन), सुगरको लेभल थाहा हुनुपर्दछ । साथसाथै हामीले दैनिक व्यायाम, राम्रो खानपान र गुणस्तरीय जीवनशैली बनाउनुपर्दछ । यो कुरा सानैदेखि थाहा पाउनुपर्दछ र ३० वर्ष कटिसकेकाले नियमित जाँच गर्नुपर्दछ । वंशजमा मुटुरोग छ भने त हामीले धेरै नै ध्यान दिनुपर्दछ ।

चिकित्सा क्षेत्रमा जति म्याचोरिटी गेन गर्दै गयो, उत्तिकै चम्किलो हुँदै भविष्य फराकिलो हुन्छ ।

आफ्नै देशमा मुटुरोग विशेषज्ञ भनेर जति रेस्क्पेक्ट कमाइन्छ, त्यो विदेशमा कुनै पनि हालतमा कमाउन सकिँदैन । विदेशमा पैसा हुन्छ, रिकोग्नेसन कसैलाई छैन ।

थुप्रै आमा, बुबालाई बचाउन सक्छु जस्तो प्रेरणाले नै मलाई कार्डियोलोजिस्ट बन्ने हौसला मिल्यो ।

राज्यले सबैतिर सरकारी अस्पताल र विद्यालयलाई निःशुल्क र गुणस्तरीय बनाउनतिर सोच्नुपर्छ ।

मुटुरोग लाग्ने नेपाल उच्च जोखिममै छ । उपचारको सर्वसुलभता कत्तिको छ ?

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सेवा दिन थालेको २० वर्ष नाघिसक्यो । यहाँ साउथ एसियामै एकदमै राम्रो सेवा दिइएको छ । किनभने हर्ट अट्याक्ट भइसकेपछि सय प्रतिशत धमनी बन्द हुन्छ । ती नसामा तत्कालै स्टेन्ड हाल्ने सुविधा पहिलेदेखि नै छ । भल्व फेर्ने शल्यक्रिया दैनिकजस्तै हुन्छन् । मुटुका तीनवटै नसा ब्लक छ भने बाइपास सर्जरी गर्नुपर्छ । साथसाथै बच्चाहरुका सर्जरी, मुटुको धड्कन गडबडीको उपचार, धड्कन कम भएर हुने हर्ट ब्लकलाई गरिने उपचार पेसमेकर,  तत्काल ज्यान बचाउनका लागि गरिने आइसीडी, मुटुको पम्पिङ गर्ने सिआरटी मेसिन, जो साउथ एसियाका धेरै कम देशहरुमा छ । यो पनि हाम्रोमा धेरै अघिदेखि नै सुरु भएको हो । सम्पूर्ण रुपले हेर्दा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले लगभग मुटुरोगका सबै बिरामीलाई सबै खालका सेवा, सुविधा दिनसकेको छ । विपन्न वर्गका लागि सरकारी सुविधा दिएको छ । बिरामीलाई पर्ने आर्थिक भारमा पनि धेरै कटौती गरिदिएको छ ।

गंगालाल हृदय केन्द्रकै जस्तो सेवा काठमाडौं उपत्यका बाहिर पनि विस्तार हुन नसक्नुलाई के भन्नुहुन्छ ?

नेपालमा अरु विशेषज्ञ सेवाहरु पनि बढिरहेको छ । मुटुको नली ब्लक हुँदा हर्टअट्याक हुन्छ, त्यसको विकेन्द्रीकरण पनि भइरहेको छ । अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबल मेडिकल कलेज विराटनगर, भेरी अञ्चल अस्पताल नेपालगन्ज, पोखरा मणिपाल कलेज, चितवन मेडिकल कलेजमा पनि क्याथ ल्याब छ । गौतम बुद्ध हर्ट सेन्टर र क्रिम्सन बुटवलमा पनि क्याथ ल्याब छ । यस्तो सेवा बढ्दै पनि छ । जब इन्टरभेन्सन कार्डियोलोजिस्ट (जसले नसामा गएर जाली हाल्न सक्ने) को विकास हुन्छ तब सेवा पनि विकेन्द्रीकरण हुनेछ ।
विशेषज्ञ डाक्टरको अभाव हो ? काठमाडौंमा त कार्डियोलोजिस्ट धेरै नै हुनुहुन्छ । २० वर्षदेखि सेवा दिइराखेको गंगालालमा धेरै बिरामी आउने भएकोले म्यानपावर पनि राम्रै छ । तर पेरीफेरिमा चाहिँ जनशक्ति अभाव नै छ । अहिले पूर्वतिर त डेभलव छ, पश्चिम नेपालतिर भने त्यत्ति छैन ।

चासो दिनेको कमी कि गभर्मेन्टको प्राथमिकता नपुगेर ? 

सरकारले पनि पूर्वाधार सबैतिर बनाउँदै छ । गभर्मेन्टले पनि गंगालाल अस्पताललाई सपोर्ट गर्ने गरेको छ । अर्को भेरी अञ्चल अस्पतालमा क्याथ ल्याबको सेवा दिँदैछ । अरु ठाउँमा सरकारले क्याथ ल्याबको सुविधा खासै दिन सकेको छैन, योजना बनाइँदै छ । क्याथ ल्याब स्थापनाको खर्च, जनशक्ति उत्पादनका लागि तालिम लगायत सबै कुरामा विकसित हुनका लागि टाइम लागिरहेको छ । सरकारले अब आउने जनशक्ति (डिएम कार्डियोलोजिस्ट)लाई विकेन्द्रीकरण गर्ने कोसिस गरिरहेको छ । यसले त्यो सर्भिस् भविष्यमा बढ्न सक्ला भन्ने आशा गर्न सकिन्छ ।

तपाईं यस क्षेत्रको अध्ययन र अनुभव गरिरहनुभएकोले नेपालमा उपचार नभएर विदेश रिफर गर्नुपर्ने मुटुरोगी कत्तिको छ ?लगभग मुटुको सबै रोगको उपचार नेपालमै हुन्छ । नेपालमा मुटुको बन्द नली खोल्ने, बाइपास सर्जरी, भल्व फेर्ने, प्वाल टाल्ने, मुटुको धडकन गडबडी हुने लगायत धेरै उपचार गंगालाल अस्पतालले गर्न सफल भइसकेको छ । मलाई लाग्छ, मुटुरोगका कुनै पनि बिरामीलाई विदेश रिफर गर्नुपर्ने अवस्था छैन । नेपालमा मुटु फेर्ने काममात्रै भएको छैन ।

गंगालालमा मुटुरोग उपचार कत्तिको महँगो छ ? 

गंगालाल अस्पतालले ७० वर्ष नाघेका बिरामी, बच्चाहरु साथसाथै मुटुको वाथरोगका बिरामीहरुलाई निःशुल्क उपचार दिइरहेको छ । सरकारको तर्पmबाट पनि विपन्नलाई उपलब्ध गराइने १ लाखको सुविधा छ । आर्थिक अवस्था कमजोर भएका बिरामीहरुलाई विभिन्न खालका ट्रष्टहरु छन्, जसबाट पैसा उपलब्ध गरिदिन्छ । गंगालालको लेखामार्फत पनि सहयोग गरिदिइरहेको हुन्छ । महँगो उपचार स्टेन्टिङ, जाली हाल्ने, जन्मजात मुटुमा परेको प्वाल टाल्ने, बाइपास सर्जरी, भल्व परिवर्तन सबैमा सरकारको नीति, गंगालाल र अरु ट्रस्टहरुले गर्दा बिरामीलाई आर्थिक भार पर्दैन । यी उपचार निजीमा गर्ने हो भने मध्यम आय भएका परिवारले समेत तिर्न सक्दैन । विपन्नको सुविधा लिन सरकारी हस्पिटलमा आफ्ना मान्छे चाहिने र प्रक्रिया झन्झटिलो छ भनिन्छ, यहाँ कस्तो छ ? यहाँ (गंगालाल हृदय रोग केन्द्र)मा मैले पढाइको बेला काम गरेको थिएँ । अहिले पनि काम गरिरहेको छु । सुविधा लिनका लागि हामीले पत्र लेखिदिने र बिरामीले गाउँपालिका/नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालयबाट चिठी ल्याउनेबित्तिकै प्रक्रिया अगाडि बढ्छ । गंगालालमा सामाजिक इकाई सेवा भन्ने छ, जसबाट सामान्य व्यक्तिहरुले पनि सजिलो गरी सुविधा पाइरहेका छन् ।

तपाईंले मुटुरोग विशेषज्ञ बन्दासम्म कत्तिको संघर्ष र खर्च गर्नुपर्‍यो ? 

पहिलेका पुस्ताका डाक्टर साबहरु पढ्दाको र अहिले तुलना गर्दा छात्रवृत्तिमा नाम निकालिएन भने यहाँसम्मको यात्रा खर्चिलो नै छ । तर, डा.गोविन्द केसीको आन्दोलनपछि एमबीबीएस, एमडीएमए, डीएमका सबै पढाइहरु निःशुल्क हुन्छ । त्यसबापत केही समय गभर्नमेन्टको बोन्डमा गएर केही वर्ष काम गरिदिनुपर्ने हुन्छ । निजीमै पढ्नुपर्ने भयो भने एमबीबीएस, एमडीएमए, डीएम अध्ययन एकदमै खर्चिलो छ ।
कति लाग्छ ? एक्ज्याक्ट फिगरमै त म भन्न सक्दिनँ । एमबीबीएको लगभग ३५ लाख रुपैयाँ पुगेको होला । एमडीको पनि ३० लाखजस्तै रेछ । डीएमको पैसाचाहिँ निःशुल्क छ । डीएममा भर्ना शुल्कमात्रै चाहिन्छ । डीएमको पढाई सरकारीमा मात्रै हुने भएकोले सबै निःशुल्क गरिदिएको छ ।

नेपालमा मिहिनत, लगानीअनुसार प्रतिफल पाइन्न भन्छन्, हो ? 
मेडिकल फिल्डमा पनि गाह्रै छ । यहाँको संघर्ष भनेको ५ वर्ष एमबीबीए पढ्नुस्, त्यसपछि इन्ट्रर्नसीप, मेडिकल अफिसर गर्नुस् । त्यसपछि एमडीएमएसमा नाम निकाल्नुस् । त्यतिखेर कुनै पनि युवा, युवतीको उमेर २८ पुगिन्छ । एमडीएमएस पढ्दा अर्को ३ वर्ष जान्छ । त्यत्तिखेर ३३ वर्षजति पुग्छ । त्यतिखेर फ्यामिली लाइफ हुन्छ, हातमा पैसा हुँदैन । सरकारी जागिरमा नवौं तहको पैसा दिन्छ, ४०/४२ हजार । त्यसमा पनि कामको तनाव हुन्छ । ड्यूउटी जुनसुकै समयमा गर्नुपर्ने हुन्छ । यत्ति गर्नलाई फ्यामिली लाइफ पनि त्याग्नु पर्‍यो । करिअर बनाउनका लागि पैसालाई पनि त्याग्नुपर्‍यो । प्रतिफल एकदमै न्यून छ । तर, हामी यो पेसामा समर्पित भएर बिरामीको ज्यान बचाइदिएर अनुहारमा जुन हाँसो पाइन्छ, त्यो अमूल्य हुन्छ ।

त्यसकारणले मिहिनत गरिसकेपछि सबै कुरा त पाइन्छ, पाइन्छ । यो क्षेत्रमा स्थापित हुन लामो समय लाग्छ । अरु व्यवसायमा युवा अवस्थामा कमाउँछ, बुढेसकालमा उनीहरु रिटायर्ड हुन्छ । तर, यसमा जति म्याचोरिटी गेन गर्दै गयो, उत्तिकै चम्किलो हुँदै पछिका लागि भविष्य फराकिलो हुन्छ । त्यसकारण डेफेनेट्ली संघर्ष छ ।

भविष्य राम्रो भए पनि नर्सिङ र डाक्टरहरु नै विदेश जाने गर्छन्, किन ?

नेपालमा डाक्टरलाई जुन खालको पेमेन्टको स्केल छ, संसारमा अरु देशका डाक्टरहरुको तलब स्केल फरक छ । अमेरिकाको त परैजाओस्, भारतमा पनि एमडीएमएसमा रेजिडेन्ट गर्दा लगभग ८० हजारदेखि १ लाख आईसी (भारु) उसले पाउँछ । डीएम गर्दाखेरी १ लाख रुपैयाँ आइसी पाउँछन् । काम गर्ने बेलासम्म उसको पैसा सेभ भइरहेको हुन्छ । नेपालजस्ता देशमा एमडीएमएस गरेका डाक्टरको तलब ३५/४० हजारजस्तो हुन्छ । डीएमको ४० हजार हुन्छ । डीएमको न्यूनतम स्केल ४० हजार भएकोले त्यसले बाँच्न पुग्दैपुग्दैन । र, पढाइसकेपछि पनि तलब कम हुने भएकोले डाक्टरहरु धेरै ठाउँमा काम गर्न जान बाध्य हुन्छन् ।

सबै विदेश जान चाहनुको पछाडि यहाँ (नेपाल) को पेमेन्ट स्केलभन्दा विदेशको पेमेन्ट स्केल धेरै फरक हुन्छ । अमेरिकामात्रै होइन, डाक्टरहरुलाई खाडी मुलुक पनि बोलाइन्छ । धेरै जना नेपाली डाक्टर माल्दिभ्स पनि गएका छन् । हाइली पेड दिन्छ स्पेसल्ली एमडी गरिसकेपछि । एमबीबीएस गरिसकेपछि अमेरिकामा जान चाहन्छन् । किनकि उनीहरुले एमडी गरिसकेपछि कम्तीमा मासिक १०/१२ हजार डलर पाउँछन् । त्यो देखेर धेरै जना जान्छन् । कामको लोड कम, पैसाचाहिँ धेरै । नेपालमा जस्तो ओपीडीमा बसेर एकदिनमा धेरै बिरामी पनि हेर्नु पर्दैन । त्यहाँ सोसिओ इकोनोमी स्टाटस् नाप्छ । एजुकेसन, कति दुःख गरेको छ भनेर हाइली रेस्पेक्टेसन प्रोफेसन बनाएर पेस्केल हाइ बनाइन्छ । त्यो सपना देखेर नै मानिसहरु जान खोज्छन् । धेरै नर्सिङका पनि क्यानाडा, अस्टे«लिया गएका छन् । किनकि त्यहाँ पेस्केल राम्रो छ । यहाँचाहिँ हामी काम पनि सोचौं, आर्थिक पनि सोचौं । तर, विदेशमा काम गर, आर्थिक त आइराख्छ । त्यसकारणले मान्छेले काममा मात्र फोकस गर्छ । नेपालमा डाक्टर बनेर, पुख्र्याैली छैन भने सबै गर्छु भनेर सकिँदैन ।

तपाईंको करियरको यात्रा कस्तो भयो र नेपालमै सेवा गर्ने सोचाइमा कि विदेश जानुहुन्छ ?

मेरा साथीहरु पनि अमेरिकामा राम्रो ठाउँमा स्थापित भएका छन् । एमबीबीएसपछि म पनि जाने भनेर सोच बनाइसकेको थिएँ । तर, कारणवंश पछि गइनँ । यहीं नाम निकालेर पढ्ने मौका पाएँ । म आफू पढेर अरुलाई पढाउन सानैदेखि रुची राख्थेँ । शिक्षकको छोरा भएर पनि होला । एमबीबीएस सकेर इन्टर्नसीप गर्दा पनि ओम नर्सिङ क्याम्पसमा ब्याचलर अफ नर्सिङ र बीएसी नर्सिङलाई पढाउन जान्थेँ । पढाउनेक्रममा आफ्नो प्रिपरेसन पनि गर्थेँ । सुरुमा मलाई मेडिसिन र मुटुरोग विशेषज्ञ बन्ने नै इच्छा थियो । तर, कम्पिटीसन ज्यादा हुन्छ, एमडीको स्कलरसीपमा । त्यसमा १२/१३ नम्बरमा नाम निस्केकोले नाक, कान, घाँटीको पाएँ । हैन, नाक, कान, घाँटी पढ्ने मान्छे त होइन । म त मुटुरोग विशेषज्ञ बन्नु छ भनेर छोडिदिएँ । त्यसपछि धरानमा नाम निकालेर त्यहाँ पढ्न थालेँ । धरानमै रमाएँ । धरान पढाइका लागि एकदमै राम्रो । भारतकै विद्यार्थी धरानमा ५० प्रतिशत हुन्थ्यो । किनकि इन्डियन मेडिकल काउन्सिलसँग रिकोग्नाइज्ड भएकोले उनीहरु आउँछन् । त्यहीं आबद्ध भएर म एसिस्टेन्ट प्रोफेसर अफ इन्ट्रनल मेडिसिनसम्म पुगेँ ।

त्यसपछि एमबीबीएस, एमडी, बीडीएसलगायत पढाउँदै त्यहीँ हराएँ । साथै श्रीमती (डा.ओजश्वी शेरचन शेर्पा) लाई पनि त्यही बेलाएर र हामी दुवै जना त्यहीं स्थायी ढंगले काम गर्‍यौं । त्यहीं बसेको भए ७/८ वर्षमा मेडिसिनमा प्रोफेसरसम्म पुग्न सकिन्थ्यो । तर, करियर ओरिन्टेड भएकोले डीएम गर्न यता (काठमाडौं) आएँ । डीएम गरिसकेपछि हामीले नेपालमा कम भएको सुपर स्पेसिलिस्ट सेवा दिन सक्यौं भने अहिलेको जेनेरेसनका मान्छेले बाहिर जानु पर्दैन । बिरामीहरु पनि धेरै छन् । आफ्नै देशमा मुटुरोग विशेषज्ञ भनेर जति रेस्क्पेक्ट कमाइन्छ, त्यो विदेशमा कुनै पनि हालतमा कमाउन सकिँदैन । विदेशमा पैसा हुन्छ, रिकोग्नेसन कसैलाई छैन । आफ्नो समुदाय, देशका सबै मानिसले जुन तरिकाको माया दिन्छ । विशेषज्ञ सेवा दिएर बिरामीको राम्रो केयर हुने हो भने नेपाली र आफ्नो कम्युनिटीले जति माया र भावना कसैले दिँदैन । त्यहीं हाँसो हेर्न र त्यहीं हाँसोबाट उत्साह, प्रेरणा लिएर काम गर्दै अगाडि बढाइरहेका छौं । यही कुरालाई सबैले आत्मसात गर्दै गयो राम्रो हुन्छ । हाम्रो मेडिकल इन्फ्यान्टरी फेजमा छ । यही कुरालाई विकेन्द्रीकरण गर्दै अरु ठाउँतिर डेभलप गर्दै जानुपर्ने धेरै ठाउँहरु छन् । सेवासुविधा गुणस्तरीय बनाउन सकियो भने यहाँ पनि आर्जन गर्ने ठाउँहरु धेरै छन् । यहाँ नाम पनि हुन्छ, दाम पनि हुन्छ । त्यसकारणले अहिलेको फेजमा विदेसिनु तत्कालै पर्छ जस्तो लाग्दैन ।

आमालाई मुटुरोग लागेपछि मुटुरोग विशेषज्ञ बन्नतिर लागेको भन्दै आउनुभएको छ । शिक्षक बुवाले यहाँलाई डाक्टरै बनाउन चाहनुहुन्थ्यो कि यहाँकै स्वेच्छाले ? 

म सानो हुँदा नै बुबाले छोरालाई पढाएर डाक्टर बनाउनुपर्छ भन्नुहुन्थ्यो । हुन, त छोरालाई डाक्टर, इन्जिनियर पाइलट बनाउने सबै नेपालीको इच्छा हुन्छ । बुबाले सानैदेखि पढ्नुपर्छ र भविष्यमा डाक्टर बन्नुपर्छ भन्ने सधैं प्रेरणा दिनुहुन्थ्यो । र, म १०, ११ वर्षको हुँदा आमा हर्टअट्याक्ट भएर बिरामी हुनुभएको थियो । त्यतिखेर नेपालमा अरु उपचार हुन्थ्यो तर मुटुमा जाली हाल्ने सेवा थिएन  । आमाले त्यो बेलाको बिरामीपछि धेरै औषधि खानुपथ्र्यो । त्यसपछि यस्तै रोग लागेका अरु थुप्रै आमा, बुबालाई बचाउन सक्छु जस्तो प्रेरणाले नै मलाई कार्डियोलोजिस्ट बन्ने हौसला मिल्यो ।

आदिवासी जनजाति समुदायबाट यहाँ डाक्टर बन्नुभयो । निजामति, राजनीति, सेना, प्रहरी लगायतमा यी समुदायका युवा, युवतीहरु कमै छन्, के कारण हो यो ? 

समुदायमा हामीलाई ग्रो हुन गाह्रो छ । हामी पढ्नेभन्दा पनि अरु कुरामा फोकस छौं । राज्यले नीतिमा सबैलाई सबै कुरा दिन सकेको छैन । विद्यालय सबै ठाउँमा पुर्‍याउन सकेको छैन । पहाडी इलाकाबाट बोर्डिङ स्कुलमा पढेसरी आउन सक्दैन । त्यही स्तरको शिक्षा गाउँमै दिन सक्यो भने ट्यालेन्ट मान्छे भेटिन्छ । पहाड, हिमाल, तराईका मान्छेले पनि सहरी क्षेत्रका राम्रा स्कुलमा पढ्न सक्यो भने त केही न केही गर्न सकिहाल्छ नि ! एउटा डाक्टरको छोरा डाक्टर नै बन्छ । कोही सरकारी अफिसर छ भने आफ्ना सन्तानलाई बाटो देखाइहाल्छ । बाटो देखाउने मान्छे हाम्रो समुदायमा कम हुन्छ । यसमा अवसर पाउने मान्छे पनि एकदमै कम छ । अवसर पाउन मेहनत गर्नुपर्छ, धेरै मान्छेसँग प्रतिस्पर्धा गर्नुपर्छ । गाउँको इलिङ मिडियम कम भएको स्कुलमा पढेका मान्छेलाई सबै इङ्लिस मिडियममा पढेका मान्छेसँग लड्न गाह्रो हुन्छ । त्यसैले सानैदेखि डेभलव गराएमा हामी डेवलभ हुने हो । त्यहीकारण राज्यले सबैतिर सरकारी विद्यालयलाई निःशुल्क र गुणस्तरीय बनाइदिए सबै समुदायको मानिसको उन्नति हुन्थ्यो ।

 

सम्बन्धित समाचार