कोरोना भाइरसको संक्रमण भएर अस्पतालमा उपाचार गरिरहेका वरिष्ठ भिडियोग्राफर शम्भु मोक्तान स्वस्थ्यमा सुधार भई घर फर्केका छन् । एक हप्ता अस्पतालको उपाचारपछि उनी आइतबार साढे १० बजे डिस्चार्ज भएर घर फर्केका छन् ।
‘भगवानको कृपा र मेरो स्वस्थ्यलाभ होस् भनेर सबैले गरेको प्रर्थानाले मेरो स्वस्थ सुधार भई घर फर्केको छु’ कोरोना लागेर उपाचारपछि घरमा पुगेबित्तिकै मोक्तानले एभरेस्ट टाइम्सलाई आफ्नो अनुभव यसरी सुनाएका छन् । ‘ढाका क्लबमा भएको विहेपाटी नै मेरो अन्तिम कार्यक्रम थियो । त्यसपछि अब कार्यक्रममा नजाने घरमै बस्ने भनेर निर्णय गरेको थिएँ ।
घर बसेको भोलिपल्ट अलि अलि जीउ दुख्न थाल्यो । त्यसपछि दिनप्रतिदिन जीउ दुख्ने, ज्वारो, हाच्छिउँ र खोक्न थालेपछि सिडिएमए क्लिनिकमा गएर जाँच गरेँ । एक हप्ता जति टयानल र औषधि खाएर घरमै बिताए । त्यसपछि निमोनिया हुनका साथै एक्कासी सास फेर्न अति नै गाह्रो हुन थालेपछि अस्पताल गएँ । त्यतिखेर मुखबाट बोली निस्कन निकै कठिन भइरहेको थियो । अस्पतालमा पुगेबित्तिकै कोरोना भएको पुष्टि गरियो ।
सास फेर्न निकै कठिन हुनका साथै बोल्न सक्दैनथेँ । अस्पतालमा जाँच गरेको केही दिनपछि फोन चलाउन मन लाग्यो । फोनमा धेरै मिसकलहरु आएको रहेछ । धेरै म्यासेजहरु पनि आएको रहेछ । त्यतिखेरसम्म परिवार र नजिकका आफन्तहरुलाई बाहेक कसैलाई पनि थाहा थिएन मलाई कोरोना लागेको भन्ने । मैले पनि कसैलाई सुनाएको थिएन । फोन आउँदा पनि कसैसँग बोल्न सक्दैनथेँ । त्यतिखेर मनमा ३० प्रतिशत अब मर्छु होला भन्ने लागे पनि ७० प्रतिशत मर्दिन बाँच्छु भन्ने लागिरहेको थियो ।
मनमा परिवारबारे अनेक चिन्ता र सोचाईहरु आउँथ्यो । तैपनि आफूले आफैलाई सम्हाल्दै धैर्य गरेर बसेँ । त्यतिबेला मनमा म मात्र होइन कयौं बिरामीहरु यतिबेला अस्पतालको शय्यामा जीवन र मृत्युको दोसाँधमा संघर्ष गरिरहेको महसुस गरे । अब मैले आफू कोरोना संक्रमित भएको सबैलाई जानकारी दिएमा अरुलाई पनि फाइदा हुन्छ कि भन्ने मनमा लागेर आफ्नो तस्बिर खिचेर आफ्नो बारेमा सार्वजनिक गरे । त्यो गर्नुको कारण आफू त कोरोना लागेर यहाँ पुग्यो अरुहरु नलागेकोहरु कोही बाहिर ननिस्कोस् । अरुहरु सुरक्षित होस् भन्नुको साथै आफ्नो स्वास्थ्यलाभको लागि पनि प्रर्थनाको आशा गदै मैले सार्वजनिक गरेको थिएँ ।
भगवानको कृपा र सबैले मप्रति गरेको प्रार्थनाकै कारण मेरो स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएपछि चिकित्सकको रायअनुसार आज घर आइपुगियो । यतिखेर मैले कोरोनालाई जितेको महसुस भइरहेको छ । अहिलेको यो कोरोना महामारीमा तपाईंहरु कोही पनि बाहिर नजानुस् । साधारण रुघाखोकी लाग्यो भनेर आतिनु हुँदैन । जीउ दुख्यो र रुघाखोकी लाग्दैमा कोरोना लाग्यो कि भनेर अस्पतालमा जानु हुँदैन । अलि अलि सन्चो हुँदै अस्पतालमा गएमा निरोगी पनि रोगी हुन सक्छ ।
श्वासप्रश्वासमा एकदमै कठिन भयो भने मात्र तुरुन्तै अस्पताल जानु पर्ने रहेछ । कोरोना नै लागे पनि आत्तिनु हुँदैन । रोगप्रतिरोधात्माक क्षमता बलियो हुनेले कोरोनालाई सजिलै जित्ने रहेछ । कोरोनाबाट गम्भीर बिरामी भएकोहरु पनि बैलैमा उपाचार पाएमा बाँच्ने रहेछ ।