१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अर्को साता हाम्रा लागि अझै चुनौती छ : ट्रम्प



वासिङ्टन (एजेन्सी)–– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसका बारेमा पर्याप्त सचेतता नअपनाउने हो भने आउँदो दुई साता अझै धेरै मानिसको मृत्यु हुन सक्ने बताएका छन् ।

अमेरिकामा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या नै बढी देखिएकाले आउँदो दुई सातामा अझ धेरै अमेरिकी नागरिकको मृत्यु हुने सम्भावना रहेको उनले बताए ।

पछिल्लो विवरणमा अमेरिकामा कोरोनाभाइरसका कारण तीन लाखभन्दा बढी नागरिक संक्रमित भइसकेका छन् ।

ह्वाइट हाउसमा गठन गरिएको कोरोनाभाइरस नियन्त्रण कार्यदलको बैठकपछि सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा मानवीय क्षतिको अनुमान गर्न निकै कठिन रहेको बताए ।

स्थानीय समय अनुसार शनिबारसम्म अमेरिकामा आठ हजार २९१ जनाको मृत्यु भइसकेको विवरण कार्यदलको बैठकमा पेस गरिएको थियो । सो विवरण जोन्स हप्किन्स विश्वविद्यालयको विवरण हो ।

राष्ट्रपति ट्रम्पले जरुरी स्वास्थ्य उपकरण उत्पादनमा रहेको एकाधिकार तोड्न डिफेन्स प्रोडक्सन एक्ट (डिपिए)मा हस्ताक्षर गर्नु परेको पनि बताउनुभयो । यो जारी भएसँगै अन्य कम्पनीहरुले पनि चिकित्सा सामग्री उत्पादन गर्न पाउने र बजारमा अत्यावश्यक स्वास्थ्य सामग्री सर्वसुलभ हुने अमेरिकी सरकारको विश्वास छ ।

कार्यदलकी सदस्य डा म्यारी इ. बर्चले पनि राष्ट्रपति ट्रम्पले भनेझैं आगामी दुई हप्तामा कोरोनाका कारण अमेरिकामा ठूलै स्वास्थ्य चुनौती देखिने बताइन् । उनले क्षति न्यूनीकरण गर्नका लागि जस्ले जहाँबाट जे जे सकिन्छ, त्यही त्यही गर्नुपर्ने समय आएको पनि बताइन् ।

अमेरिकामा पछिल्लो २४ घण्टामा २३ हजार ९४९ जना नयाँ संक्रमित भेटिएका छन् भने एक हजार २३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०७६, आइतबार  १२ : ५२ बजे