४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन



काठमाडाैं । नवगठित जनता समाजवादी पार्टीले पार्टी एकीकरणको सहमतिपत्र निर्वाचन आयोगमा दर्ता गराएको छ । एकीकृत पार्टीका नेताहरुले बिहीबार निर्वाचन आयोग पुगी दल दर्ताको प्रक्रिया अगाडि बढाएका हुन् ।

योसँगै जनता सामाजवादीको दल दर्ताको प्रक्रिया सुरु भएको छ । आयोगमा जनता समाजवादी पार्टीको सहमतिपत्रको दर्ता नं १३८८ रहेको छ ।

सो आयोगमा पार्टी एकीकरणको सहमतिपत्र दर्तापछि अहिले संघीय संसद् सचिवालयमा दर्ताका लागि पुगेको सो पार्टीका नेता केशव झाले जानकारी दिए । दल दर्ताका लागि दुवै पार्टीको छुट्टाछुट्टै केन्द्रीय समितिको बैठकले निर्णय गरी पुनः दुवै पार्टीको संयुक्त बैठकले निर्णय गर्नेछ ।

एकीकृत पार्टीको पार्टीको विधान, घोषणापत्र, नियमावली र नयाँ पार्टीको संरचनासहित आयोगलाई बुझाएपछि मात्रै पार्टी दर्ता प्रक्रिया अघि बढ्ने नेता झाले बताए ।

समाजवादी  पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच बुधबार राति पार्टी एकीकरण भएको घोषणा गरेका थिए । जनता समाजवादी पार्टीका नेताहरु उपेन्द्र यादव, शरत्सिंह भण्डारी, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ, केशव झालगायत नेताहरु आज निर्वाचन आयोग पुगेका थिए ।

नवगठित पार्टीका नेता राजेन्द्र महतोले लकडाउनपछि पार्टी एकीकरणको बाँकी प्रक्रिया पूरा गरेर एकता टुङ्ग्याइने जानकारी दिए ।
अर्का नेता राजेन्द्र श्रेष्ठले सरकारले असान्दर्भिक अवस्थामा अध्यादेश ल्याएकाले आफूहरुले पनि पार्टी एकीकरणको कामलाई अन्तिम रूप दिएको बताए ।

नेता डा शिवजी यादवले झण्डै डेढ वर्षदेखि चलिरहेको एकता प्रक्रियाले अन्तिम रूप लिएको भन्दै पार्टी पदाधिकारी र केन्द्रीय समितिको आगामी बैठकले नयाँ रणनीतिका साथ अघि बढ्ने बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  १ : ४२ बजे