नेपालमा बिहीबार ३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४८ पुग्यो, ९ जना निको

२०७७ बैशाख ११, बिहीबार २१:०३

काठमाडौं । बिहीबार थप ३ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुर, जनकपुर र भोजपुरमा ३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानमा भएका परीक्षणहरुमा उदयपुरका ५५ वर्षीया महिला, जनकपुरका १४ वर्षीय किशोर र भोजपुरका २६ वर्षका पुरुषमा कोरोना पोजिटिभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

यस्तै बिहीबार नै थप दुई जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रवक्ता देवकोटाका अनुसार पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षिय पुरुष र ८१ वर्षिया महिला उपचारपछि निको भएर घर फर्किएका हुन् । चैत पहिलो साता बेलायतबाट फर्किएका उनीहरुको वैशाख १ गते र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो । सोही दिन उनीहरुलाई अस्पताल भर्ना गरिएको थियो । यो सागै निको भएर घर फर्किनेको संख्या ९ पुगेको छ ।

अहिलेसम्म पिसिआर विधिबाट ९ हजार १ सय ९९ जनाको परीक्षण भएको छ । यसैगरी आरडिटी विधिबाट ३४ हजार ५ सय २३ जनाको नमुना परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५ वटा नयाा परीक्षण भएका छन् ।

प्रदेश नम्बर १ मा ३ हजार ५ सय ९२, प्रदेश नम्बर २ मा ४ हजार ५ सय २९ र बागमती ६ हजार १ सय ५५ वटा परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ५ सय ५५, प्रदेश नम्बर ५ मा २ हजार ७ सय ५६, कर्णाली प्रदेशमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको आरडिटी परीक्षण भएको उनले बताए ।

अहिले देशभरी १० हजार ५ सय ७३ जना क्‍वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ४ र बाहिर ८२ जना गरी ८६ जना आइसोलेसनमा रहेका छन् ।

बिहीबार सार्क राष्ट्रस्तरिय स्वास्थ्य राज्यमन्त्रीहरुको भिडियो कन्फ्रेन्स भएको छ । कन्फ्रेन्समा सहभागि राष्ट्रहरुले आफ्ना अनुभव आदान प्रदान गरेका थिए । कन्फ्रेन्समा कोभिड—१९ नियन्त्रण सम्बन्धि सार्क क्षेत्रमा भएका क्रियाकलापहरुको समिक्षा र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिकहरुको विषयमा समेत छलफल भएको थियो । नेपालका तर्फबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले सहभागिता जनाएका थिए ।

 

सम्बन्धित समाचार