भारतमा लकडाउन थप दुई साता लम्बियो

२०७७ बैशाख २०, शनिबार १२:११

नयाँदिल्ली । कोरोना भाइरस संक्रमण फैलने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताका लागि लम्बाउने निर्णय गरेको छ ।

भारतको गृह मन्त्रालयले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुई साताका लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको हो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । फेरि १५ अप्रिलमा दोस्रो चरणको लकडाउन गरिएको थियो । दोस्रो चरणको लकडाउन मे ३ मा सकिन्छ ।

संक्रमण फैलने क्रम जारी रहेपछि दोस्रो चरणको लकडाउन सकिनुअघि नै तेस्रो चरणको लकडाउन घोषणा गरिएको हो । शुक्रबार साँझसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्‍या ३५ हजार ४३ पुगेको छ भने एक हजार १ सय ५४ जनाको मृत्‍यु भएको छ । संक्रमण पुष्टि भएकामध्‍ये ९ हजार ६८ जना निको भएका छन् ।

सम्बन्धित समाचार