१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

चीनको वुहानमा एक महिनापछि फेरि काेराेना संक्रमण



बेइजिङ (एजेन्सी) । विश्वव्यापी महामारीको रूप लिन पुगेको कोरोनाभाइरस (कोभिड–१९) को उद्गमस्थल मानिएको चीनको वुहानमा एक महिनापछि फेरि पहिलो सङ्क्रमित व्यक्ति भेटिएका छन् । उनी शनिबार अस्पतालमा पुगेका बताइएको छ ।

वुहानमा मे ३ तारिखपछि शनिबारसम्म नयाँ सङ्क्रमित देखिएका थिएनन् । विश्वमै पहिलो कोरोना भाइरस सङ्क्रमितका रुपमा गत डिसेम्बरमा वुहानमा विरामीहरू भेटिएका थिए ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार शनिबार चीनभर १४ जना नयाँ सङ्क्रमित भेटिएका छन् । चीनमा अप्रिल २८ तारिखयता एकै दिन सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो ।

चीनमा शुक्रबार एक जना मात्र नयाँ संक्रमित भेटिएका थिए । शनिबार सङ्क्रमण पुष्टि भएकामध्ये चीनको जिलिन प्रान्तस्थित सुलान शहरका ११ जना छन् ।

आयोगले सुलान सहरमा बुधबार सङ्क्रमण पुष्टि भएकी एक महिलाबाट ती व्यक्तिहरुमा सङ्क्रमण फैलिएको जनाएको छ । सङ्क्रमित सबैमा कोरोना भाइरस सङ्क्रमणका कुनै लक्षण नदेखिएको आयोगले बताएको छ ।

चीनमा आइतबारसम्म ८२ हजार ९०१ जना सङ्क्रमित भएका छन् । तीमध्ये चार हजार ६३३ जनाको ज्यान गएको छ भने ७८ हजार १२० व्यक्ति उपचारपछि घर फर्किएका छन् । चीनमा छिटपुट घटनाबाहेक सङ्क्रमितको सङ्ख्यामा नियन्त्रण देखिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ८ : ४४ बजे