फार्दस डे र कुशे औंसी

२०७७ जेष्ठ २२, बिहीबार ०९:१६

गीता खत्री

कहिलेकाही मलाई लाग्छ यो संसार बिचित्र छ । जुन कुनामा पुगेपनि मानवजाति उस्तै, उनिहरुको जन्ममरण उस्तै अनि भगवानप्रतिको आस्था उस्तै । त्यसैगरि एकआपसी माया ममता उस्तै । ईश्वरीय सृष्टिमा सबै मानवीय सृजना उस्तैउस्तै । केबल ठाउ, समय र परिस्थिति अनुसार जीवन जीउने कला, धर्मसंस्कृति, भाषाभेष, लवाइखुवाइ रहनसहन अलिअलि फरक ।
हामी अमेरिका प्रवेश गरेदेखि यहा सबै किसिमका धर्म संस्कृति तथा परम्परालाई समानरुपले मनाइरहेको देख्दै आएकाछौं । त्यसमा पनि न्यूयोर्क शहर जहा संसारका सबै मानवजातिको उपस्थिति प्रत्येक दिन देख्न सकिन्छ । यो विशाल शहरमा विविध धर्म, संस्कृति तथा परम्पराको तामझाम भनौं वा मनाउन पाउने अधिकार भनौं प्रत्येक दिन देख्न पाइन्छ । यस्तो परम्पराले नव प्रवेशीहरुलाई पनि आफनो धर्म, संस्कृति तथा परम्परा अगाल्ने प्रेरणा मिल्दछ । फलस्वरुप हामी पनि यहा आएदेखि हामीले मनाइ आएका चाडपर्व, उत्सव, मेला, धार्मिक क्रियाकर्महरु सबै मनाउदै आएकाछौ । यतिबेला न्यूयोर्क सानो नेपाल हो जस्तो लाग्छ । जसरी नेपाल विभिन्न जातजाति, धर्म, परम्परा तथा समुदायले भरिएको छ त्यसरी नै न्यूयोर्क पनि सबै किसिमको जातजाति, धर्म, संस्कृति, भाषाभेष तथा परम्पराले भरिएकोछ । त्यसैले समय अनुसार हामी यहां सबै जातजातिले मनाउने चाडपर्व, धर्म, संस्कृति तथा परम्परालाई भ्याएसम्म मनाउदै आएकाछौं । अमेरिकी स्वतन्त्रताले यी सबैलाई बचाई राख्ने अवसर पनि दिएको छ ।

अबको केही दिनमै ( जुन २१) अमेरिकी फार्दस डे आउंदैछ । सन् १९९७ मा न्यूयोर्कमा पहिलो पटक फार्दस डे सुनेर म छक्क परेकी थिए । नेपालमा बाबुको मुख हेर्न दिन वा कुशे औसी भनेर मनाउदै आएको हाम्रो पर्व त यहा पनि रहेछ । कुशे औंसी भाद्र महिनामा पर्दथ्यो । यता अलि अगाडि जुनमै आयो । टेलिभिजनमा चौविसै घण्टा बाबुलाई दिइने उपहारका सामानको बिज्ञापन देखिन थालेपछि बल्ल यो दिनको पर्खाइमा मानिसहरु बस्न थाल्छन् । यदि यसरी विज्ञापन नगर्ने हो भने कार्यबोझले धेरैले बाबुको मुख हेर्ने दिन बिर्सन पनि सक्ने रहेछन् । हामी पूर्वीय परम्पराका मान्छेहरु धर्म कर्ममा बढी आस्था र विश्वास राख्ने भएकाले पुराना शास्त्र तथा धार्मिक ग्रन्थलाई आधार बनाएर हाम्रा परम्परालाई अगाडि बढाउंछौं । यता पश्चिमी समाजतिर कसरी यो परम्परा चल्यो होला भन्ने मलाई कौतुहाल जाग्यो ।

अमेरिकाको वेष्ट भर्जिनिया राज्यको खानीमा कामगर्ने ३६२ जना कामदारहरु सन् १९०८ मा खानीले पुरिएर मरेका रहेछन् । कोही जिवित भेटिएछन् पनि । तिनै मृत आत्मा तथा अन्य बहादुर पुरुषहरुको सम्मानमा वेष्ट भर्जिनियाको चर्चले पहिलो पल्ट सन् १९०८ पुरुषहरुको सम्मान कार्यक्रमको आयोजना गरिएको रहेछ । त्यो कार्यक्रम नै फार्दस डेको शुभारम्भ भएछ । पछि सोनारा डोड नाम गरेकी एउटी महिलाले यसलाई हरेक बर्ष मनाउनु पर्छ भन्दै अगाडि बढाइछिन् र उनको बाबुको जन्मदिन पारेर मनाउने प्रस्ताव गरिछिन् । तर त्यो दिनलाई सबैले नमानेर जुन १६ को दिन मनाउन थालेछन् । वाशिङ्टन स्टेटले पहिलो पल्ट सन् २०१० मा बाबुको मुख हेर्ने दिन मनाएको रहेछ । बिस्तारै अरु राज्यहरुले अनुसरण गरेछन् । बेलायतले पनि यतैको अनुसरण गरेको रहेछ । विस्तारै युरोपका अन्य मुलुकहरुमा पनि चल्न थालेछ तर कतै फेबु्रअरी, कतै मार्च र कतै जुन महिनामा । जुनमा पनि सबैले एकै दिन नमनाएर छुट्टाछुट्टै दिन निर्धारित गरिएका रहेछन् । तर अमेरिकी राष्ट्रपति लिन्डन जोन्सनले सन् १९६६ देखि जुन महिनाको तेस्रो आइतबारको दिन मनाउने घोषणा गरेछन् । पछि सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनले यसलाई आधिकारिक बनाएछन् ।

बाबुले आफना बालबच्चाको सुरक्षा, लालनपालन, सुखसयल तथा राम्रो शिक्षादीक्षाको लागि पुर्‍याएको योगदानको कदर गर्दै छोराछोरीहरुले बाबुप्रति देखाउने सम्मान, आदर तथा आभार नै फादरस् डे वा बाबुको मुख हेर्ने दिन हो । केटाकेटीहरु ठूला भएपछि बाबुआमाको भनाइ वा आदेशप्रति अनादर गर्ने वा नमान्ने पनि हुन सक्छन् । समयले पुरानो पुस्ता र नयाा पुस्ताबीच खाडल सिर्जन गर्न सक्छ । फलस्वरुप घरपरिवारमा सानातिना झै-झगडा पनि हुन सक्छ । अथवा आ-आफनो कामको पछि लागेर आमाबाबुबाट टाढा पुगेका हुन सक्छन् । ती सबै छोराछोरीहरु एकै ठाउामा जम्मा भएर आमाबाबु तथा छोराछोरीबीचको गहिरो नातालाई नवीकरण गर्दै मीठामीठा खानेकुराहरु खाने तथा बाबुआमालाई मन परेका उपहार दिइ खुसी बनाएर आशीर्वाद लिने दिन नै फादरस् डे हो ।

संसारको सृष्टिक्रममा आमाबाबु दुबैको योगदान ठूलो छ । कुनै एक विना सृष्टि चल्दैन । तर्क गर्नेहरुसंग धेरै कुरा हुनसक्छ । सरसरती हेर्दा बालबच्चा गर्भमा रहेदेखि पाांच-छ बर्षको उमेर नभएसम्म आमाको भार बढी हो की जस्तो मलाई लाग्छ । त्यसैले कुरा उठ्न सक्छ मदरस् डे पहिला शुरु भयो की फादरस् डे । आमाको जिम्मेवारी बढी देखेर नै होला सन् १८६० देखि नै मदरस् डे शुरु भएको थियो ।

हिन्दु धर्म, संस्कृति तथा परम्परामा पनि बाबुको मुख हेर्ने र आमाको मुख हेर्ने दिनलाई ठूलै पर्वको रुपमा लिइन्छ । बाबुको मुख हेर्ने दिनलाई कुशे औंसी पनि भन्ने चलन छ । यो पर्व हरेक साल भाद्र महिनाको कृष्णपक्ष औंसीमा पर्छ । पश्चिमी देशतिर जस्तै बाबुको मुख हेर्ने दिन भने भइहाल्थ्यो । किन कुशे औासी भन्नु परेको भन्ने प्रश्न वर्तमान पुस्ताले गर्न सक्छन् । हामी हिन्दु सनातनवादी समुदाय भएकाले हाम्रा जीवनका हरेक उकालीओरालीमा हिन्दु धर्म, संस्कृति तथा परम्पराको डोर छ । हिन्दु परम्परामा कुश एउटा महत्वपूर्ण घाास हो जुनविना हिन्दुहरुको कुनै पनि धार्मिक अनुष्ठान सम्पन्न हुन सक्दैन । कुश, पिपल र शालिग्राम यी तीनै प्राकृतिको सृजनाले हिन्दु धर्ममा अति महत्व राख्नछन् । हिन्दु शास्त्र अनुसार यी तिनै बस्तुले संसारको पालनहार भगवान विष्णुको प्रतीक जनाउछन ।

हामी मध्ये धेरैले स्वास्थानीको कथा पढेकै हुनुपर्छ । परापूर्वकालमा देवता र असुरबीच घनघोर युद्ध भएको थियो । जालन्धर नाम गरेको असुर असाध्य बलियो र शक्तिशाली भएकोले उसले देवगणलाई युद्धमा पराजित गर्ने सम्भावना बलियो भयो । असुर बिजयी भएको खण्डमा संसारमा सत्यमाथि असत्यको, न्यायमाथि अन्यायको र धर्ममाथि अधर्मको बिजय हुने निश्चित भयो । असुर जालन्धरको बल उसको पतिब्रता पत्नी बृन्दाको सतीत्वमा अडेको थियो । जबसम्म बृन्दा पतिब्रता रहन्छिन् जालन्धर अमर रहने कुरा भगवान विष्णुलाई थाहा थियो । त्यसैले भगवान विष्णु जालन्धरको भेष धारण गरी बृन्दाको सतीत्व नष्ट गर्न गए र गरे पनि । पछि बृन्दाले चाल पाइन । त्यसपछि उनले भगवान विष्णुलाई श्राप दिइन । उनले विष्णुलाई रुख, ढुङ्गा, घाास र झारपात हुनुपरोस् भनेर श्राप दिइन । त्यही श्रापले भगवान विष्णु धर्तीमा पिपल, शालिग्राम, तुलसी र कुशको रुपमा अबतरित भए । हामी यी चारै बस्तुलाई भगवान विष्णुको प्रतीकका रुपमा पुजाअर्चना गर्दछौं । यही भाद्र कृष्णपक्ष औंसीको दिन कुशलाई जरैसंग उखेलेर घरघरमा भित्र्याइन्छ र बर्षभरि गरिने धार्मिक अनुष्ठान तथा क्रियाकलापहरुमा कुशको प्रयोग गरिन्छ । अर्थात भगवान विष्णुलाई घरघरमा राख्दछौं र उनको पुजाआराधना गर्दछौं । जीवित आमाबाबुको सेवा गरेमामात्र मातृ ऋण र पितृ ऋणबाट मुक्ति पाइन्छ । जीवित अवस्थामा राम्रो व्यवहार नगर्नेले मरेपछि श्राद्ध गरेर वा अन्य दानपुण्य गरेर पितृको कहिले उद्दार हुंदैन भन्ने कुरा मानव जगतले बुझनु आवश्यक छ ।

बाबु हुनेले आप\mनो बाबुलाई यताकै जस्तो आदरसत्कार गर्ने, मीठामीठा खानेकुरा बनाइ खुवाउने तथा बाबुलाई मनपर्ने उपहार किनेर खुसी र प्रशन्न बनाउने र बाबुको आशीर्वाद लिने गर्दछन् । बिबाहित छोरीचेलीहरु पनि यो अवसरमा बाबुलाई भेटन मिठाइ, फलफूल तथा उपहार लिएर माइतिघरमा आइपुग्छन् । एकातिर बर्षभरि भेटघाट नभएका छोरीछोरीसंग बाबुआमाको भेटघाट हुन्छ भने अर्कोतिर दिदीबहिनी तथा दाजुभाइबीच पनि भेटघाट भई फेरि पारिवारिक मायाप्रेम र आदरसत्कारको पुर्नताजगी हुन्छ । सानातिना मनमुटाब पनि सकिन्छ । बाबु नहुनेले भने काठमाण्डौंस्थित गोकर्णमा रहेको उत्तरबाहिनी नदी र बागमती नदीको संगमस्थलमा गइ बाबुको श्राद्ध गर्ने गर्दछन् । त्यहा गएर श्राद्ध गर्दा पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ । त्यसपछि गोकर्णेश्वर महादेवको मन्दिरमा गई महादेवको दर्शन र पुजाआराधना गर्नाले पितृ लगायत सबै परिवारजनको मनोकामना पूर्ण हुन्छ भन्ने भनाई पनि प्रचलनमा छ ।

एकै दिन भएपनि यो पर्बले देशका आथिर्क क्रियाकलापमा निकै भरथेग गर्दछ । यो समयमा सबै व्यापारिहरु आ आफनो बन्दव्यापारको उच्च आकांक्षा राखेर व्यापारमा जुटेका हुन्छन् । विभिन्न जातजातिले भरिएको देश भएपनि बाबुआमा र छोराछोरीको माया प्रेम सम्बन्धमा सबैको एउटै धारणा रहेकाले देशभरि नै बडो चहलपहलकासाथ यो पर्ब सुसम्पन्न हुन्छ ।
यस पुनीत अवसरमा छयासी बर्ष पार गर्नु भएका मेरा बुवा कमलबहादुर खड्का र पचासी बर्ष काटनु भएकी मेरी आमा मखमली खड्काको सम्झनामा डुब्दै यति कलम चलाएा । उहाहरु आठ बीस उमेर बर्ष पार गर्नु भएकोमात्र होइन, अझै आफनै खुट्टामा उभिएर बााचिरहनु भएको छ । तीनजना आफना सन्तान र सातजना नाति र नातिनीको लालनपालनमासमेत अहम् भूमिका निर्बाह गर्नु भएका ती तन्नेरी बृद्धहरु हामी सबैका लागि प्रेरणाका स्रोत पनि हुनुहुन्छ । उहांको साथमा अहिले न कुनै आफना सन्तान छन् न नातीनातिनी । तर उहांहरुको माया, सद्भाव तथा समाजसेवा जस्ता गुणले गाउाका सबै दाजुभाइ दिदीबहिनीहरु उहााहरुको साथमा छन् । घरका गायक भनौ वा सक्कली गायक नबनेका मेरा बुवा स्वरका धनी हुनुहुन्छ । अहिलेपनि मेजेन्जरबाट प्रत्येक हप्ता कुरा गर्दा दुईतीनवटा भजन हामीलाई सुनाउन भ्याउनु हुन्छ ।

सन् २०१४ मा म काठमाण्डौ गएका बखत उहाहरुको दैन्नदिनीलाई हेर्दै एउटा भजन लेखेकी थिए । त्यो भजनमा बुबा र मेरी दिदीलाई गाउन लगाउने मेरो धोको थियो । मेरी दिदी पनि गायक त होइनन् तर कोकिल स्वरकी धनी भने हुन । उहांले दुइचारवटा भजनहरुको सि.डी अलबम पनि निकाल्नु भएको छ । मेरो शब्दलाई प्रसिद्ध संंगीतकार राजु सिंहले संगीतबद्ध पनि गर्नु भएको थियो । समयले त्यो काम नेपालमा बन्न दिएन । सन् २०१६ मा मेरो बुबाआमा अमेरिका आएका बखत सो काम सम्पन्न भयो । यहांहरुलाई सुन्न र उहााहरुको कलाकारिता देख्न मन छ भने कृपया युटुबमा गएर गीता खत्री मखमली भनेर खोज्नु होस् । उहाको स्वरको मूल्यांकन तपाईहरु आफैले गर्नु हुनेछ । दिदी नभएको बेला परेकोले दिदीको स्थानमा मैले आफनै स्वरलाई रेकर्डगर्न बाध्य भए । यो बाहेक अन्य चारपांचवटा गीतहरुमा पनि मेरा बुबाआमाले असी बर्ष काटेपछि आफनो कलाकारितालाई भिजुलाइजेशन गरेर जनसमक्ष पेश गर्नु भएको छ । साथै सन् २०१६ को जनवरीतिरै न्यूयोर्कको ज्याक्शन हाइटस्स्थित सत्यनारायण मन्दिरमा बुवाले दुई घण्टासम्म लगातार भजन गाएर एउटा युवतिको फोक्सो प्रत्यारोपणका लागि सहयोग जुटाउनु भएको थियो । म उहाहरुको मनोबल, शक्ति, मायाममता र सहासप्रति सदा गर्ब गर्दछु । यो छोटो आलेख उहांहरुप्रति नै समर्पित छ ।

अन्तमा संसार जतिनै बिशाल भएपनि आमाबाबु र उनिहरुका सन्तानबीचको नाता, मायाममता र मानसम्मान उस्तै हुन्छ, चाहे विकसित देशमा होस् वा अविकसित देश । परम्परागत हिसाबमा विधिविधानमा केही तलमाथि भएपनि बाबुको मुख हेर्ने दिन वा कुशे औासी र फार्दस डे समग्रमा एउटै हो । मुखैमा आइपुग्न लागेको फार्दस डे अमेरिकी महादेशमा बस्नु हुने सबै आदरणीय बुबाहरुमा नमन गर्दै धेरैधेरै शुभकामना अर्पण गर्दछु ।

लेखक अन्तराष्ट्रिय साहित्य समाज ट्रष्टी बोर्डकी अध्यक्ष हुन ।

सम्बन्धित समाचार