१६ फाल्गुन २०८०, बुधबार | Wed Feb 28 2024

न्युयोर्कमा मृत्यु भएका गुरुङको लागि आर्थिक संकलन


Ang

३० जेष्ठ २०७७, शुक्रबार  

0
Shares

न्युयोर्कको एलमष्ट अस्पतालमा मृत्यु भएका झोकबहादुर गुरुङको शव दाह संस्कार गर्ने जिम्मा द गुरुङ सोसाइटी युएसएले लिएको छ । मेरिल्याण्ड राज्यको विधान सभा सदस्य ह्यारी भण्डारीको विशेष पहलमा मृतक गुरुङको शवलाई गुरुङ सोसाइटीले दाह संस्कारको जिम्मा लिएको हो । कोलोन क्यान्सरका बिरामी ६० बर्षिय गुरुङको उपचारका क्रममा निधन भएको हो । निश्चित समयभित्र कसैले पनि दावी नगरेका शवहरु सामुहिक चिहानमा दफन गर्ने गरिएकोमा गुरुङको शव अन्तिम समयमा सोसाइटीले स्वामित्व लिएपछि दाह संस्कार गर्ने जिम्मा सोसाइटीले लिएकोे प्रवासी नेपाली एकता मञ्च अमेरिकाका अध्यक्ष टेक गुरुङले जानकारी दिए । गुरुङले भने, दुई घण्टा मात्र ढिलो भएको भए गुरुङको शव पनि अन्य पहिचान नखुलेका शवलाई जस्तै सामुहिक रुपमा दाह संस्कारको लागि लैजान लागिएको थियो, तर सोसाइटीसँगको छलफलपछि दाहसंस्कार गर्ने जिम्मेवारी गुरुङ सोसाइटीले लिएको हो ।

ह्यारी भण्डारी, तमु परिवारका अध्यक्ष मनिता गुरुङ र सामाजिक अभियन्ता यादव बास्तोलाको सहयोगमा मञ्चका अध्यक्ष टेक गुरुङले शवको शनाखत गरेका हुन् । मृतकको परिवारले शव दाह संस्कार गर्नका लागि टेक गुरुङलाई वारेसनामा स्वीकृतिपत्र समेत दिएको सोसाइटीले जनाएको छ । टेक गुरुङ सोसाइटीको आजीवन सदस्य समेत हुन् । मृतक गुरुङको रुबी मेरोरियल फ्युनेरल होम न्युजर्सीमा दाहसंस्कार गरिने सोसाइटीले जनाएको छ । मृतकको शव अहिले फ्युनेरल होममा राखिएको छ ।

गुरुङको नजिकको आफन्त नहुँदा शव दावी गर्न र दाहसंस्कारको प्रकृयाका लागि ढिलाई भएको थियो । सिन्धुपाल्चोक मेलम्ची घर भएका गुरुङका ६ छोरी, एक छोरा र श्रीमति छन् ।  ती मध्ये कान्छी छोरी मुटुको बिरामी रहेको परिवारले जानकारी दिएको छ । परिवारको आम्दानीको एक मात्र श्रोतको रुपमा रहेका गुरुङको निधनपछि परिवारलाई शोक र संकट एकैपटक परेको छ ।  यसैबीच, मृतकको परिवारको आर्थिक सहयोगार्थ गुरुङ सोसाइटीले आर्थिक संकलन अभियान सुरु गरेको छ । गुरुङको दाह संस्कार तथा परिवारको सहयोगको लागि सोसाइटीका अध्यक्ष विजय गुरुङको नेतृत्वमा गोफण्डमी मार्फत आर्थिक संकलन अभियान सुरु गरेको सोसाइटीले जनाएको छ । सोसाइटीले गुरुङलाई सहयोग गर्न सबैसँग आग्रह गरेको छ । मृतक गुरुङलाई सहयोग गर्न चाहनेहरुले तलको लिंकमा गएर सहयोग गर्न सकिने छ ।

https://gf.me/u/x8h2g8

प्रकाशित मिति : ३० जेष्ठ २०७७, शुक्रबार  ८ : ४६ बजे