इन्दिरा चोङबाङ
जीवन हेर्नेको नजरमा अलग अलग भएपनि यो सुन्दर छ जब हामी यसलाई भित्रबाटै महसुस गर्न सक्छौ । सुन्दर मन अनि विशाल आत्मा बनायो भने साँचिकै हामी बलियो हुन्छौ । बलियो हुनुको मतलब यो होइन कि हामी पहलवान हुनुपर्छ तर सबैभन्दा महत्त्वपूर्ण कुरा हामी शारीरिक, मानसिक र भावनात्मक तवरमा शक्तिशालि बन्नुपर्छ तबमात्र हामीलाई जीवनको सुन्दरता महशुस हन थाल्छ । कतिपय मानिसहरू निराश भएर आफ्नै जीवनको अन्त्य गरिरहेका छन्; यो सबै मानसिक शक्तिको कमी र आफुसँग आइपर्ने चुनौतीहरूको सामना गर्नका लागि पर्याप्त आत्म-विश्वास नहुनुले हो । मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै आवश्यक छ। यदि हामी भावनात्मकरूपमा सक्षम रहन सकेनौ भने शारीरिक बिरामीको अभावमा वा कुनै भौतिक चोट बिना नै बिरामी हुन्छौ ।सानो कुरोमा पनि बढी तनाबको महसुस गर्न थाल्छौं । कुनै पनि भौतिकवादी चिजहरूले मानसिक बिरामी भएकाहरूलाई निको पार्न सक्दैन ।मनको साथी मन नै हुनुपर्छ अर्थात भावनाको उपचार भावानाबाटै हुनुपर्छ ।
मानसिक शक्ति आन्तरिक शक्ति हो जसले हरेक कठिनाइ, समस्याहरू, या कुनैपनि असहजतासँग सामना गर्ने क्षमता प्रदान गर्दछ। मानसिक शक्ति बलियो भएको व्यक्तिले कुनै पनि प्रकारको समस्यालाई अवसरहरूमा रूपान्तरण गर्न सक्छ र कुनै पनि समस्याहरूको समाधान तत्काल देख्न सक्छ । त्यस्तो ब्यक्तिहरू आफैंमा विश्वास गर्छन् र विश्व जित्ने दृष्टिकोण राख्छन्।
सबै चीजको दुई पक्ष हुन्छ; नकारात्मक र सकारात्मक। यदि कसैको लागि कुनै ढोका बन्द हुन्छ भने, नयाँ ढोका सँधै प्रवेशका लागि खुल्ला हुन्छ । जीवनमापनि हरेक कृयाहरू आइरहन्छन् सफलता, असफलता, हाँसो,रोदन हरेक कृयाले प्रतिकृया दिइरहेकै हुन्छन् । यदि हामी मानसिक तवरले सुदृढ छौ भने जुनै किसिमको पीडासँग लड्न सक्छौ, हरेक समस्यालाई सामाना गर्न सक्छौ। परिस्थिति जस्तोसुकै भए पनि सँधै हाम्रो मार्गमा सफलता आइरहेको देख्छौअनि जीवनमा सँधै जोस जागर र उमँगहरूलाई लिएर रमाइरहन सक्छौ । यसको विपरित नकारात्मक विचारले या मानसिक कमजोरीका कारण हामीलाई सँधै निराश बन्छौ । यसले जहिल्यै हामीलाई चिन्ता, र समस्याकोमात्र अनुभूति गराउँछ । हरेक अवसरमा पनि कठिनाईहरु देख्न थाल्छौ । हामी साथीहरु र आफन्तहरूको महत्व बिर्सिएर एक्लै टोलाउने गर्छौ। यतिमात्र होइन नकारात्मक मनोवृत्तिले मानिसहरू बिरामी हुन्छन् र हरचिजलाई तनावको रूपमा लिन्छन् । आफैलाई गरीब देख्ने,असहाय र एक्लो महसुस गर्ने र हरेक समय विचलित भइरहने गर्छन् । यसले मानव भएकोमा कृतज्ञता र आदरको भावहुनुभन्दा पनि तिनीहरूसँग भएको दुःखकष्ट र समस्याको बारेमा मात्र सोच्न बाध्य बनाउँछ । यदि यस्तो समस्यालाई समयमै बिचार पुर्याउन सकेनौ भने एकदिन यसैबाट भयॅकरपरिणामको निम्तो हुन्छ ।
अहिले संसारमा बिभिन्न ख्यातिप्राप्त ब्याक्तिहरूले आफ्नो जीवनको अन्त्य गर्दै आएका छन् । बलिहुडका अभिनेता सुसान्त सिँहको आत्महत्यासँगै अन्य दुई युवतिहरूले पनि उनको आत्महत्यालाई पछ्याउँदै आफ्नो जीवन अन्त्य गरेको समाचारहरू आईरहेका छन् । कतिपय मानिसहरू बाँच्न पाए हुन्थ्यो भन्दा भन्दैपनि कोभिडको कारण ज्यान गुमाउरहेको यस जटिल घडिमा कसैले आफै आफ्नो जीवनको अन्त्य गरेको समाचारले अत्यन्तै दःखी बनाएको छ । कसैलाई बाच्ने रहर हुँदाहुँदै मर्नुपर्ने कोही चाँहि बाँच्न पाँउदा पाँउदै आफै मर्ने । जिन्दगी जिउने सबैको आआफ्नो रोजाई भएपनि आफै मर्नेहरूले सकारात्मक संदेश कहिल्यै छाड्दैन । किनकि जिन्दगी अत्यन्तै मुल्यवान छ यसलाई हामीले जति नै कठिनाईहरू आइपरेपनि भोग्नुसक्नु पर्छ अनि रमाउनु सक्नुपर्छ ।
त्यसैले हामी सदैब मानसिक र शारीरिकरूपमा स्वास्थ्य रहन जरूरी हुन्छ ।शारीरिकरूपमा स्वस्थ रहनको लागि सदैव आहार, बिहार, शारीरिक व्ययाम र सकारातमक सोचको जरूरत हुन्छ । त्यस्तै मानसिक रोगबाट बच्नको लागि ध्यान, योग, वा समाजीकरणबाट आशा, उत्साह र उमँग भर्न सकिन्छ ।मानसिक र शारीरिकरूपमा स्वास्थ्य मानिसहरूले मात्र यस संसारलाई सुन्दर देख्छन्, जसले उनीहरूलाई जुनसुकै चुनौतीसँग लड्न मद्दत गर्छ र यस संसारमा उनीहरू नै साँच्चिकै अर्थमा धनी मानिस कहलिन्छन् । उनीहरूको भौतिक स्वामित्वले यसमा कुनै भूमिका खेल्दैन तर, आत्मसन्टुष्टि र भावनात्मक शक्तिका कारण उनीहरूमा विशाल मन बन्छ । जीवनमा केही नयाँ परिवर्तन ल्याउन चाहान्छन् र सँधै आफ्ना प्रियजनहरूद्वारा घेरिएका हुन्छन्, सुन्दर दिनहरूको कल्पना गर्छन् । उनीहरू विगत र भविष्यको बारेमा चिन्ता गर्दैनन्।
यसका अलावा आध्यात्मिक शिक्षाले पनि हामीलाई मानिकरूपमा बलियो रहन मद्दत गर्छ। जीवन सुन्दर छ यसलाई पूर्णरूपमा जिउनु सक्ने या नसक्ने त्यो स्वयं हामी नै हो । जो भावनात्मकरूपमा बलवान छन् उनीहरू नै जीवनमा रमाउन सक्छन् बिना कुनै संकोच अनि बिना कुनै पश्चताप । दिमागमा सधैं फराकिलो दृष्टि, लक्ष्य र केही फरक पार्ने दृष्टिकोण भयो भने हामीलाई सँधै केहि न केहि नयाँ सृजना गर्न मन लाग्छ साथै सँधै संसारका सबै जीवित प्राणीहरूप्रति प्रेम र समानुभूतिले हृदयमा बास लिन्छ । त्यसैले जिन्दगीको अर्थ हामी पनि बुँझौ अनि संसारलाई बँझाऔ । जिन्दगीमा आइपर्ने हर चिजहरू अस्थायी हुन्छन् । आज दुःख छ, पीडा छ अर्थात पारिवारिक असमझदारी छ भनेपनि यो सँधै रहिरहँदैन । भोलिको दिन हामीसँग सुखैसुख, खुशि नै खुशिका पलहरूले पनि चुम्न सक्छ । त्यसैले हामीसँग जे छ त्यसैसँग कृतज्ञ हुन सिकौ । जिन्दगी खोजेर फेरि पाईन्दैन भरपुर यही समयमा जीउन सकौ । सबैमा सकारात्मक सोचको बिकास होस । हर कठिनाईसँग लड्ने हिम्मत जागोस् यही शुभकामन ।
www.indirasite.com