गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषदले दुई लाख रुपैया राशीको गैर आवासीय नेपाली अन्तर्राष्ट्रिय साहित्य पुरस्कारको स्थापना गर्ने भएको छ । एनआरएन आइसीसीको नेपाली भाषा,साहित्य,संस्कृति तथा सम्पदा समितिको गत शनिवार सम्पन्न बैठकले यो निर्णय गरेको जनाएको छ । पुरस्कारको लागि आवश्यक नीति,नियमावली र श्रोत व्यवस्थापन गर्न समितिका अमेरिका क्षेत्रका सहअध्यक्ष महेश्वर पन्तलाई संयोजकको जिम्मेवारी दिएको समितिले जनाएको छ ।
प्रवासमा रहेका गैर आवासीय नेपालीहरुले प्रकाशन गरेको उत्कृष्ठ कृतिलाई नगद राशीसहित स्वर्णपदक प्रदान गर्ने गरी प्रत्येक दुई वर्षमा पुरस्कार प्रदान गर्न लागेको संयोजक पन्तले जानकारी दिएको छ । संयोजक पन्तले पाच सय अमेरिकी डलर प्रदान गर्ने बैठकमा जानकारी दिएको छ ।
समितिका अध्यक्ष एवं एनआरएन आइसीसीका पूर्व कोषाध्यक्ष हिक्मत थापाको सभापतित्वमा बसेको शनिवारको बैठकले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीलाई अन्तर्राष्ट्रिय भाषा दिवसका रुपमा मनाउन विश्वका सबै नेपाली भाषा,साहित्यसंग सम्बन्धित संघ,संस्था र साहित्यप्रेमीहरुलाई आव्हान गर्ने र समितिले पनि एक विशेष कार्यक्रम गर्ने निर्णय गरेको छ ।
समितिको दोश्रो पूर्ण बैठकले समितिका सदस्य गौतम दाहाल -अमेरिका) लाई समितिको संचार संयोजक,समितिकी सदस्य सचिव भगवती बस्नेत संयोजक रहेको अनलाईन साहित्यिक कार्यक्रम ‘प्रवास प्रवाह’को सहसंयोजकमा समितिका सदस्य नृपेश उप्रेती -बेलायत) र सदस्यहरुमा विकास विष्ट -अमेरिका) र निमेष गिरि -युएइ)लाई मनोनयन गरेको छ । दुई महिना पहिले -अपि्रल) मा गठन भएको यो समितिको गत महिना सम्पन्न पहिलो बैठकले गैर आवासीय नेपाली नियात्रा संग्रह,गजल संग्रह र प्रवासमा रहेका नेपाली लेखकरसाहित्यकारहरुको अभिलेखीकरण प्रकाशन गर्ने निर्णय गरेर काम गर्दै आएको छ। यी विषयमा पनि समितिको दोश्रो बैठकमा हालसम्म भएका उपलब्धि बारे समीक्षा र छलफल भएको थियो।
बैठकमा विशेष आमन्त्रितका रुपमा सहभागी समितिका वरिष्ठ सल्लाहकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञा प्रतिष्ठानले बिदेशमा नेपाली भाषा र साहित्यको प्रबर्द्धन गर्न मिलेर जानूपर्नेमा जोड दिएका थिए । उनले प्रज्ञा प्रतिष्ठान संघले गर्ने सबै कार्यक्रमहरुलाई सहयोग गर्न तयार रहेको बताए । त्यसैगरि बैठकमा समितिका सल्लाहकार एब संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सन २०१३ मा संघ र प्रज्ञा प्रतिष्ठानबीच भएको सहमति अनुसार प्रवासमा नेपाली साहित्यको प्रबर्द्धन गर्न कार्य अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए । बैठकमा समितिका सल्लाहकार रमेश पौडेल ( नेपाल ),सहअध्यक्षहरु महेश्वर पन्त ( अमेरिका), हरि पौडेल ( युरोप ) , बेलु काजी थापा ( एशिया ) र निश्चल पि एस लिम्बू ( मध्यपुर्व) को उपस्थिति थिए । त्यसैगरि सदस्यहरु गौतम दाहाल ( अमेरिका) , तिर्थ सङ्गम राई – ( कतार), नृपेश उप्रेती ( बेलायत ) र कृष्ण कुसुम ( अमेरिका) को सहभागिता रहेका थिए । बैठकको संचालन सदस्य सचिव भगवती बस्नेतले गरेकी थिए ।