काठमाण्डू देखि न्युयोर्क सम्म टर्किश एयरलाईन्सको झुर सेवा ( यात्रा डायरी)

२०७७ असार १३, शनिबार १८:४६

सहदेव पौडेल
तीन हप्ताको लागि नेपाल गएको म कोरोनाको कारणले लकडाउनमा फसिएला र चार महिना सम्म नेपाल बस्नु पर्ला भनेर मैले कल्पना पनि गरेको थिईन । यति लामो बसाईले गर्दा यता अमेरिकामा मेरोघर ब्यबहार महिनौं देखि नकाटेको घास झै गंजागोल भएको थियो । लकडाउनले ९० दिन काटे पनि नेपाल सरकारले अन्तराष्ट्रिय नियमित उडान खोल्ने अत्तो पत्तो नभए पछि म जसरी भए पनि अमेरिका उड्ने निधोमा पुगें । चार्टर फलाईटमा अमेरिका र्फकदा टिकट मंहगै पर्नै भएपनि बल्ल बल्ल बिभिन्न अन्योलताको बिचमा टर्किश एयरलाईन्सको फलाईट पक्का भएपछि म ढुक्क भए ।

ट्राभल एजेन्ट्सले प्रारम्भिक रुपमा भने अनुसार दिउंसो चार बजे उड्ने, ईस्तानबुलमा छोटो ३ र४ घण्टाको ट्रान्जिट र त्यसपछि न्युयोर्क यात्रा सहजनै होला भन्ने अनुमान गरियो त्यसमाथि मंहगो १६ र १७ सय डलरको टिकट । मैले भन्दा पनि महंगो २५ सय देखि तिन हजारसम्म तिरेर मेरा थुप्रै साथीहरु अमेरिका आएका थिए । हामी एक बजे नै एयरपोर्ट पुग्यौं । सामान्य समयको जस्तै एयरपोर्ट भित्र छिर्ने ढोकामा अब्यबस्थित भीड थियो । भित्र छिर्दा छिर्दै सामान्य ज्वरो नापे पछि लगेज बोकेर हामी चेक ईन गर्न गयौ । चेक ईन पनि सजिलै भयो । त्यसपछि ईमिग्रेशनमा डिपार्टचरको छाप हानियो ।

नेपाल सरकारले भिसामा नेपाल बसेका पर्यटकहरुको भिसाको म्याद सकिए पनि कुनै थप शुल्क र जरिवाना मिनाह गरेको रहेछ । मन मनै नेपाल सरकारलाई धन्यवाद दिए र दुईहात जोडेर ईमिग्रेसन अफिसर संग बिदा लिएर जहाज उड्ने प्रतिक्षामा बसें । चार बजे उड्ने जहाज केही समय अघि मात्रै बोकेर ल्याएका यात्रुहरु ओरालेर सरसफाईमा ब्यस्त थियो । फोहरको पोका बोकेर गाडीहरु यताउता दौडीरहेको थियो । जहाज उड्न ढिला भैसकेकोले हामीहरु तनाबमा थियौं । करिब ४: ४५ मा बोर्डिङ सुरु भयो र ५ :२० मा जहाजले जमिन छाड्यो ।

जहाजमा भीड सामान्य बेलाको जस्तै थियो । भित्र कुनै सामाजिक दुरी कायम थिएन तर धेरैको मुखमा मास्क र हातमा पञ्जा थियो । म आफनो सीटमा बस्नै लाग्दा मेरै पहिलेको यात्रुले प्रयोग गरेको टिस्युहरु सिटको कुनामा लुकिरहेको थियो भने खाना खाने ट्रे खोलेर हेर्दा त्यसमा फोहरको दागहरु थियो । मैले एयर होस्टेजलाई भने पछि एक छिनमा आएर सफा गरिदिईन् । सामन्यतया जहाज उडेको केही समयमा पेय पदार्थ, खाजा, स्न्याक्स दिईन्छ तर हामीलाई निकै बेर पछि खैरो कागजको ब्यागमा लामो पाउरोटीमा सेतो चीज पदार्थ र फ्रोजन गोलभेंडा राखेको फ्रोजन स्यान्डवीच र जुस लेराएर दिईयो । यो पहिलो स्न्याक्स होला यस पछि तातो खाना आउला भनेर खाइयो । तर दोश्रो पटक पनि हामीलाई यहि स्याण्डवीच जबरजस्ती दिईयो र भने अर्को कुनै अप्सन छैन । तातो पानी, चिया, कफी केही पनि छैन भने । मन खिन्न बनाउदै टर्किश एयरलाईन्सलाई गाली गर्दै भोकको झोकमा त्यहि पनि खाईयो । केही साथीहरुसंग चाउचाउ, बिस्कुट, चीप्स थियो । हामीले बाडेर खायौं । चाउचाउ दालमोठको बास्नाले गर्दा नाईट बस चढेको यादआयो र लाग्यो कतै हामी पनि नाइट बस चढेर न्युयोर्क त गईरहेको छैनौ
त्यसपछि हामी ईस्तानबुलमा ओर्लियौं ।

सुरुमा टिकट काट्दा एजेन्ट्सले ३ वा ४ घण्टाको ट्रान्जिट भने पनि हामी करिब ८ घण्टाको ट्रान्जिटमा फस्यौं । ईस्तानबुलको बिहान ६ बजेको समयमा हामी न्युयोर्क उड्यौ र आशा गर्यौ यो फलाईटमा हामीलाई बिशेष ख्याल गरिने छ, खानापनि मिठो हुने छ र जहाज पनि सफा हुने छ । तर आशा क्रमसः हाम्रो आशाहरु निराशामा बदलियो । काठमाण्डूबाट उड्दा जस्तो
थियो यो जहाज पनि उस्तै फोहर थियो, खानाको नाममा त्यहि बासी स्याण्डवीच थियो । फरक के थियो भने स्याण्डवीच रातो राम्रो बाकशमा मिलाएर राखिएको थियो। बाकस हेर्दा त पक्कै केही नया खानेकुरा होला भन्ने लागेको थियो तर त्यही बासी स्याण्डवीच देख्दा हामी खिन्न भयौं । फेरी दुईपटक त्यहि बासी स्याण्डवीच खाएर हामी न्युयोर्क ओर्लियौं । राम्रो खाना र चिया कफी केही खान नपाउदा हामी सबै भोका थियौं तर पनि न्युयोर्कमा ओर्लन पाउंदा भने खुशी भयौं ।

न्युयोर्कमा ओर्ले पनि हाम्रो यात्रा सकिएको थिएन । यात्रुहरु कसैलाई टेन्नेसी, कसैलाई बोस्टन, भर्जिनिया, रोचेस्टर, मेरील्याण्ड, न्यूहृयाम्पसायर, पेन्सेलभेनिया, देखि लसएन्जलस सम्म पुग्नु पर्ने थियो । आफनो गन्तब्यमा कसरी पुग्ने होला । सबै साथीहरुमा अन्योलता थियो । एउटा अन्योलताको बिचमा सुरु भएको हाम्रो यात्रा अर्को अन्योलतामा नै अन्त्य भयो । यति महंगो टिकट काटेर कोरोनाको बहानामा चार्टर फलाईटको नाममा सोझा सिधा र अप्ठ्यारामा परेका यात्रुहरुलाई नेपाल सरकार, ट्राभल एजेन्ट्स,एयर लाईन्स र अरु केही लुटेराहरु मिलेर लुट्नु सम्म लुटे । मंहगो टिकट, टर्किश एयरलाईन्सको गुणस्तर हीन र कर्कश लाग्दो सेवाले यसपटकको हवाई जहाज यात्रा बिर्सनै नसकिने सम्झना भएर रहने छ ।

लेखक पौडेल लामो समय न्युयोर्कबाट सञ्चालन हुदै आएको हिमाली श्वरहरु अनलाइन रेडियोको सञ्चालक तथा प्रस्तोता हुन ।

सम्बन्धित समाचार