– आङछिरिङ शेर्पा
न्युयोर्क । एक दशक भन्दा लामो समय गैरसरकारी संस्थाको परियोजनाहरूमा राम्रो नाम र दाम कमाइरहेका आङ फुरि शेर्पाको दुई दशक अघि फेरियो । उनले गृहस्थी जीवन छाडेर बौद्ध भिक्षुको जीवनमा प्रवेश गरे । त्यसबेला यसले हिमाली बौद्ध समुदायमा उनको चर्चा पनि बढ्यो । सेभ द चिल्ड्रेन फन्ड, युके र नेदरल्याण्डस् डेभलप्मेन्ट प्रोजेक्टमा १२ वर्ष अधिकृतको रूपमा काम गरेपछि आङ फुरिले बौद्ध भिक्षुको जीवन रोजेका हुन् ।
भिक्षु बनेको २२ वर्षमा आङफुरिले आफ्नो लागि मात्र नभई सम्पूर्ण प्राणी र मानव जीवनको लागि महत्त्वपूर्ण कार्यहरू गर्दै आएका छन् । उनको सोच र कार्यप्रति प्रभावित भएर उनकै भान्जा ल्हाक्पा गेल्जे शेर्पा पनि कलेज पढ्दापढ्दै बौद्ध भिक्षु बने । लाक्पा र फुरिकै पाइला पछ्याउँदै पछिल्लो समय नेपालको पाटन, ओम र मेडिकेयर अस्पतालमा लामो समय चिकित्सक पेसा गर्दै आएका डा. आङ गेलु शेर्पा पनि गत वर्ष बौद्ध धर्म अध्ययनको सिलसिलामा भिक्षु बनेका छन् ।
चिकित्सक पेसामा राम्रो नाम र दाम कमाउँदै आएका डा. शेर्पा भिक्षु भएपछि सबैतिर चर्चा र चासोको पात्रा बनेको छ भने धेरैले आश्चर्य पनि मानेका छन् । कतिपयले चिकित्सक भइसकेको व्यक्ति किन र कसरी भिक्षु बनेको होला भनेर प्रश्नहरू समेत गरेका छन् । कतिले पत्याएका छैनन् पनि । नेपाली समाजमा चिकित्सक हुन त्यति सजिलो छैन । लामो समयको मेहनत, सङ्घर्ष र उत्तिकै महँगो खर्च गरेर हुने चिकित्सक पेसामा अनुभवी तथा कहलिएका डा. शेर्पा भिक्षु बन्नु भनेको आम मानिसको लागि स्वाभाविक कुरा होइन ।
बौद्ध भिक्षु बनेका डा. शेर्पाले बुद्ध दर्शनको अध्ययनसँगै निःशुल्क स्वास्थ्य सेवा दिएर नेपाल र दक्षिण भारतमा पनि उदाहरणीय काम गरिरहेका छन् । लामो समयको अध्ययनपछि चिकित्सक भएर स्वास्थ्य सेवा र स्वास्थ्य सम्बन्धी विषयको अध्यापन गराउँदै आइरहेका उनी यतिखेर दक्षिण भारतस्थित पेनुर रिम्पोचेको मेन्ढ्रोलिङ गुम्बामा अध्ययनसँगै नि:शुल्क उपचारमा संलग्न छन् ।
‘मेडिकल शिक्षा लिने क्रममा जति सिक्यो त्यही अनुसार काम गर्ने मौका पनि मिल्यो । डिएम गर्न मात्र बाँकी थियो, त्यतिमै बिट मारेर फरक जीवन यात्रामा अघि बढियो’ सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका सलुङ गाउँमा जन्मेका डा. शेर्पाले एभरेस्ट टाइम्ससँग भने, ‘यो एक्कासि गरेको निर्णय भने होइन, लामो समयदेखिन् बनाएको योजना हो ।’ परिवारमा सबै जना बौद्ध धर्ममा आस्था राख्ने भएकाले उनी उच्च अध्ययनकै क्रममा बौद्ध धर्मको पुस्तकहरू रुचिका साथ पढ्ने गरेको अनुभव सुनाउँछन् ।
उनले सोलुखुम्बुको जुनबेंशी स्कुलको अध्ययनपछि काठमाडौँमा आएर लिटल एन्जल्स बोर्डिङ स्कुलबाट प्लस टु, युरोपको जोर्जियाबाट एमबिबिएस र काठमाडौँ युनिभर्सिटीबाट इन्टर्नल मेडिसिनमा एमडी गरे । एमडी अध्ययन पुरा गरे लगतै ओम अस्पताल, पाटन अस्पताल र नाम्चेको स्वास्थ्य केन्द्रमा स्वास्थ्य उपचारमा संलग्न भए । चिकित्सक भइसकेको व्यक्ति भिक्षु बनेर करुणा र सेवा भावले नि:शुल्क रूपमा दिँदै आएको स्वास्थ्य सेवाकै कारण दक्षिण भारतमा उनी यतिखेर निकै चर्चित र सम्मानित छन् ।
‘यो जीवन र अनन्त जीवनमा सुख, बुद्धत्व प्राप्ति र प्राणी हितको लागि बुद्ध दर्शन अध्ययन र अभ्यास एक मात्र विकल्प हो भन्ने लागेर आर्थिक लाभको पेसा छाडेर बौद्ध दर्शन अध्ययनसँगै नि:शुल्क सेवामा लागेको हुँ’ डा. शेर्पाले भने, ‘मैले अहिलेसम्म लिएका ज्ञानहरूसँगै अब साच्चिकै जीवन के हो भन्ने वास्तविक भित्री ज्ञान पाउन थालेपछि मनमा सन्तोष र आनन्द अनुभूति हुन थालेको छ ।’
उनका अनुसार अस्पतालमा काम गर्न छोडेपछि कतिपय साथीहरूले चित्ता दुखाएका थिए । ‘कतिपयले यो लाइनमा जानबाट रोक्ने कोसिस समेत गर्न खोजेको थियो तर मैले लामो समयदेखिकै सोच र योजनाको निर्णय सुनाएपछि उनीहरूले रोक्न सकेनन्’ उनी भन्छन्, ‘मेरो बाटो फरक भए पनि ती साथीहरूसँग सम्पर्कमै छु अहिले उनीहरूले बुझेर खुसी मानेका छन् ।’
विद्यालय र कलेजमा अध्ययन गर्दा देखिनै बुद्ध धर्मको बारेमा चासो र अध्ययन गर्दै आएका डा. शेर्पालाई विगत ६ वर्ष देखिको भिक्षु लामा फुरिसँगको सामीप्यले बौद्ध धर्म अध्ययन गर्न थप हौसला मिलेको थियो । ‘दाजुभाइ र बुबासमेत धर्मप्रति रुचि राख्दै आएकोले मलाई बौद्ध धर्म अध्ययनमा थप हौसला मिलेको छ’ उनले भने, ‘मलाई स्कुल र कलेजमा अध्ययन गर्दा देखिनै बौद्ध धर्ममा रुचि थियो, यही क्रममा विगत ६ वर्षदेखि भिक्षु लामा फुरिकै विशेष सल्लाह र उहाँकै पथप्रदर्शनमा यात्रा अघि बढेको छ ।’
उच्च शिक्षा अध्ययन सकेर आफ्नो पेसामा यति उच्च तहमा पुगेर बौद्ध भिक्षु बनेका हिमालयन बुद्धिस्ट समुदायबाट भिक्षु आङ फुरि र डा. आङ गेलु सायद पहिलो हुन सक्छन् । बौद्ध मार्गीबाट उनीहरू पहिलो भए पनि जर्मनी, अमेरिका, भियतनाम, चीन, फ्रान्सलगायतका देशहरूबाट विभिन्न क्षेत्रमा सफलता हासिल गरिसकेका व्यक्तिहरू भिक्षु बनेको धेरै उदाहरण छन् ।
‘अध्ययन र पेसाको क्रममा मैले जति सफलता पाएँ, त्यो भन्दा बढी बौद्ध धर्मको अध्ययनको क्रममा आत्मसन्तुष्टि मिलेको छ’ उनले भने, ‘बाहिर धेरै आवश्यकता र अनेक चिन्ता र समस्याहरू आइरहन्छ तर यहाँ बाहिर जस्तो अनावश्यक इच्छा, आवश्यकता, समस्या र चिन्ता केही पनि छैन ।’ अबको मेरो यात्रा भनेको बौद्ध धर्मको गहिराइमा अध्ययन गरी ध्यानसँगै बुद्धको दर्शनलाई नजिकबाट बुझ्नु हो ।
उनी अध्ययनरत पेनुर रिम्पोछेको नाम्डोलिङ गुम्बामा करिब ५ हजार भिक्षु भिक्षुणीहरु अध्ययन गरिरहेका छन् । नेपालमा चिकित्सा क्षेत्रमा हासिल गरेको ज्ञान र सीपको कारण उनी गुम्बाको अस्पतालमा मुख्य चिकित्सकको रुपमा छन् । अहिले त्यस आसपासका व्यक्तिहरू माझ उनी निकै चर्चित बनेका छन् । नेपालको अनुभवी चिकित्सक गुम्बामा आएपछि अहिले स्वास्थ्य जाँच गराउन आउनेहरू गुम्बाको भिक्षु भिक्षुणीहरु मात्र नभई बाहिरका बिरामीहरू पनि छन् ।
‘यस अघि अस्पतालमा गुम्बा र क्याम्पकै बिरामी मात्र आउने गर्थ्यो । तर अहिले बाहिरका पनि आउन थालेकोले अध्ययनसँगै अस्पतालमा समय दिन सकिरहेको छैन’ डा शेर्पाले भने ।
अहिले उनी गुम्बाकै विद्यार्थीहरूसँग बसेर अध्ययन गरिरहेको छन् । अरू विद्यार्थीहरू जस्तै बिहानै कक्षामा पुग्छन् । निरन्तर अध्ययन गर्दै गएमा ९ वर्षपछि उनी लोपेन हुनेछन् । उनी बिहान बेलुकी अध्ययनमै व्यस्त छन् भने बाँकी समय गुम्बाकै अस्पतालमा उपचार सेवा दिँदै आएका छन् ।
‘नेपालमा राम्रो नाम र दाम दुवै कमाउँदै आएको डा शेर्पा तीन करोड नेपाली मध्येमा उदाहरणीय र प्रेरणाको श्रोत बनेका छन्’ भिक्षु लामा फुरिले भने, ‘उहाँ जस्तो बुद्धिजीविनै बौद्ध भिक्षु भएर नि:शुल्क स्वास्थ्य सेवा दिन थालेपछि कैयौँलाई यसबाट प्रेरणा मिलेको छ ।’
चिकित्सक पेसामा हुँदा आफूसँग बौद्ध धर्मको बारेमा सरसल्लाह लिन आउने क्रममा उनले देखाएको रुचि र मेहनतेले समाजमा मात्र नभई देशकै लागि राम्रो सन्देश दिएको भिक्षु आङ फुरिको भनाई छ ।
भिक्षु आङफुरि शेर्पा
सोलुखुम्बु दुधकुण्ड नगरपालिका २ मपुङमा जन्मेका आङ फुरि शेर्पा सानैदेखि पढाइमा निकै अब्बल थिए । उनी मपुङ गाउँबाट एसएलसी दिने मात्र होइन शिक्षक हुने र दुई ठुला प्रोजेक्टमा काम गर्ने पहिलो व्यक्ति हुन् । उच्च अध्ययन सकेर बौद्ध धर्मको अध्ययन क्रममा भिक्षु हुने शेर्पा समुदायमा मात्र नभई सायद हिमालय समुदायमा पहिलो हो ।
सानोमा घरमा बुबाले धार्मिक पूजापाठ गर्दा देखि नै धर्मप्रति रुचि राख्दै आएका उनी उच्च अध्ययन गरुन्जेलसम्म कसैले पनि भिक्षु हुन्छ भनेर सोचेको थिएन । कलेज अध्ययन गर्दा पनि बौद्ध धर्मको बारेमा अध्ययन गदै आएका उनी योजनाबद्ध रूपमै ४० वर्षको उमेरमा भिक्षु बने ।
‘बुद्धले दिनु भएको ज्ञानसँगै यो जीवनमा फरक जीवन यापन गरी शान्तिको मार्गमा लाग्ने सोचका साथ भिक्षु बनेको हुँ’ भिक्षु फुरिले भने, ‘मानवता र प्राणी जगतको हितमा केही गर्न सकिन्छ भनेर लागिरहेको छु ।’
उनी वि.सं. २०३३ सालमा ओखलढुङ्गाबाट एसएलसी दिए लगतै ९ महिना आफ्नो गाउँ नजिकै जुनबेशींमा शिक्षक भए । त्यसपछि काठमाडौँमा उच्च अध्ययन गरेर वि.सं. २०३९ सालमा सोलुखुम्बु जिल्ला सदरमुकामको जनजागृति माध्यमिक विद्यालयमा एक वर्ष विज्ञानको शिक्षक भए । त्यसपछि काठमाडौँमा फर्केर एमबिए पास गरेपछि सेभ चिल्ड्रेन फन्ड युकेमा अफिसरको रूपमा १० वर्ष जागिर खाए । त्यतिखेर उनले ७ विभिन्न जिल्लामा प्रशिक्षकको रूपमा तालिम दिने गर्थे । त्यसपछि दुई वर्ष नेदरल्याण्डस् डेभलप्मेन्ट प्रोजेक्टमा इलाम, पाँचथर र ताप्लेजुङको लागि हयुमन रिर्सोस डेभलप्मेन्ट अफिसरको रूपमा काम गरे । त्यतिखेर उनले ५५ हजार रुपियाँ तलब पाउँथे, जुन २३ वर्ष अघिको कुरा हो । जतिखेर ८ हजार रुपियाँ हरेक महिना सरकारलाई कर बुझाउँथे । बाल्यकालदेखि नै राम्रो अध्ययन त्यसपछि अध्यापनमा लागे, अनि राम्रो आयस्रोतको जागिरे जीवन छाडेर ४० वर्षको उमेरमा विवाह समेत नगरी बौद्ध धर्मको अध्ययनमा लागे ।
वि.सं. २०५६ सालमा बुद्ध धर्मको अध्ययनको लागि देहरादुनमा गएका थिए । जीवनको चार दशक पार गरेपछि उनी ससाना बालबालिकाहरूसँग बसेर बुद्ध धर्मको अध्ययनमा लागे । त्यतिखेर उनी कलेजमा नगईकन अनौपचारिक रूपमा विभिन्न सूत्र तन्त्रको उच्च अध्ययन र अभ्यासमा लाग्दै आएका थिए । बुद्ध धर्मको अध्ययनपछि उनले गाउँ गाउँमा बुद्ध धर्मको शिक्षा दिनुको साथै नेपालमा शाकाहारी अभियान थालनी गरेका थिए ।
उनकै अभियानले माछा मासु खानु हुँदैन भन्ने जनचेतना जगाउँदै जाने क्रममा काठमाडौँको अधिकांश गुम्बाहरूमा मासु पकाउन बन्द भएका छन् । त्यही अभियानले अहिले काठमाडौँमा शाकाहारी विवाह र शाकाहारी ल्होसार समेत मनाउन थालिएको छ। त्यस्तै कतिपय हिन्दुको मन्दिरहरूमा दिँदै आएको बलि कम हुनुको साथै १२ वर्षमा लाग्ने गढीमाईको मेला हुने बलीमा पनि कमी आएको छ । अभियानकै कारण गढीमाईमा गरिने ५ लाख वलीको ठाउँमा यस पटक ३५ सय बली भएको छ । शाकाहारी अभियानकै क्रममा उनले नेपालको ३५ जिल्लाको साथै सिक्किम र दार्जिलिङ हुँदै भारतको विभिन्न स्थानसम्म पर्चा वितरण गरेका छन्, ब्यानर टाँगेका छन् । बाल्यकालमा बुबाले धर्मको बारेमा बताउँदा रुचि लिएर सुन्ने उनी विद्यालय हुँदै कलेज पढ्दा पनि बौद्ध ज्ञानको बारेमा चासो लिँदै आएका थिए । धर्मको अध्ययन प्रतिको त्यही लगावले उनलाई भिक्षु बनायो ।