३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

नेपालमा खुल्यो लकडाउन, बढ्यो जोखिम



काठमाडौँ । साउन ६ गते सरकारले लकडाउन अन्त्य भएको घोषणा गर्यो । त्यसबेला कोरोनाबाट संक्रमितको संख्या घट्ने क्रममा थियो । सयको हाराहारीमा झरेको थियो । मृत्यु हुनेको संख्या ४० थियो ।

सीसीएमसीले यो सबैको बिश्लेषण गर्दै लकडाउन हटाउने सिफारिस गर्यो । सरकारले त्यसलाई लागु गर्यो । मुलुकभर लागु गरिएको सवारी साधनको जोरविरझार हटाइयो । सरकारी कार्यालयहरु दुई सिफ्टबाट एक सिफ्टमा सारियो । जिल्ला भित्र सार्वजनिक सवारी साधन खुला गरियो ।

हिजो साउन ज्ञछ गतेदेखि पर्यटकीय व्यवसायहरुलाई पनि खुला गरिएको छ । होटल, रेष्टुरेन्ट, ट्रभाल, ट्रेकिङ, हाइकिङ पनि खुलेको छ । राजधानी काठमाडौं लगायतका सहरी क्षेत्रमा भिड बढेको छ । विगतमा जस्तै काठमाडौंमा सवारी जाम हुन थालेको छ । किनमेल, ललहरु तथा रेष्टुरेन्टहरु भरिन थालेका छन् ।

तर जोखिम घट्ने होइन, बढ्न थालेको छ । पछिल्लो एक सातामा स‌क्रमितको संख्या १७ हजारबाट बढेर २० हजारको छेउछाउ पुगेको छ । दैनिक संक्रमित देखिने दर २ सय भन्दा बढी छ । शुक्रबार २ सय २४ जना थपिएका छन् । बिहीबार २ सय ७१ जना थपिएका थिए । राजधानीका काठमाडौंमा पनि संख्या बढ्दे गएको छ ।

मर्नेको संख्या ५६
लकडाउन खुलाउने बेला कोरोनाबाट नेपालमा ४० मात्र नेपालीको मृत्यु भएको थियो । तर एक सातामै यो संख्यामा १६ जना थपिएको छ । अन्य देशको तुलनामा संक्रमण र मृत्यु दर कम रहेको नेपालमा पछिल्लो एक साताको तथ्यांकले झस्काएको छ । विहीबार एकै दिन वीरगञ्जमा तीन जनाको मृत्यु भयो भने शुक्रकार ललितपुरको पाटन अस्पतालमा एक जनाको मृत्यु भयो ।

अझ संक्रमितको संख्या प्रत्यक्ष जनसरोकारमा काम गर्ने प्रहरी र स्वस्थ्यकर्मी रहेका छन् । संक्रमित स्वास्थ्यकर्मीमा कोरोना अस्पताल भन्दा पनि अन्य अस्पतालका रहेका छन् । यसले संक्रमण समुदाय स्तरमा त पुगेन भन्ने प्रश्न उब्जाएको छ ।

फेरी लकडाउन?
संक्रमण बढ्दै गएपछि सीसीएमसीले भावी रणनीतिको बारे छलफल गरेको छ । समुदायस्तरमा कोरोनाको अबस्था के छ भन्ने बारेमा परीक्षण गराउने तयारी गरेको छ । उक्त परीक्षणले देखाएको नतिजाको आधारमा थप निर्णयहरु गर्ने बताइएको छ ।

योजना अनुसार भदौ १ गतेदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान सुचारु हुने छ भने लामो दुरीका सवारी पनि सञ्चालनमा जाने छन् । यसले जोखिम झन बढाउने जनस्वास्थ्यविद्हरुको भनाई रहेको छ ।
अहिले नै काठमाडौं र पोखराबाहेक मुलुकका ठूला सहरहरु निषेधज्ञामा गइसकेका छन् । विराटनगर दुई साताको लागि बन्द गरिएको छ भने नेपालगञ्ज, वीरगञ्ज र राजविराज यसअघि नै बन्द गरिएका छन् ।

 

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ४७ बजे