मुलुकमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षी दल तथा विज्ञहरुसँग परामर्श गरेका छन् । संक्रमित र मृतकको संख्या बढेपछि अगामी रणनीति के लिने भन्ने सम्बन्धमा उनले परामर्श गरेका हुन् ।
परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सरकारको मात्र प्रयासले महाकारी नियन्त्रण हुन नसक्ने हुँदा सबैले आफ्नो दायित्व पुरा गर्नु पर्ने बताएका थिए । उनले राजनीतिक दल सामाजिक संस्थाहरु तथा आम नागरिको व्यवहरमा धेरै कुरा भर पर्ने उल्लेख गर्दै संकटको सबै मिलेर अघि बढ्नु पर्ने उल्लेख गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले उल्लेख गरेका छन् ।
साथै प्रधानमन्त्री ओलीले संकटलाई सरकारको विरोध गर्ने अवसरको रुपमा नलिन पनि आग्रह गरेका थिए । ‘कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै परामर्शमा सहभागी एक जनाले भने, ‘यो महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसर ठान्नु हुन्न । जसका लागि सामाजिक अनुशासन चाहिन्छ, विरोधको अवसरका रूपमा लिने हैन ।’
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति देउवाले भने फेरि लकडाउन गर्ने/नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर सरकारले निर्णय लिन सुझाव दिएका थिए । उनले सामाजिक दूरी कायम गराउने र मास्क अनिवार्य गराउने कार्यमा सरकारले कडाई गर्नु पर्ने उल्लेख गरेका थिए ।
छलफलमा कोरोना नियन्त्रण संयन्त्र, सरकारी अधिकारीहरु तथा विज्ञहरुको सहभागिता रहेको बताइएको छ ।
सरकारले साउन १५ गतेदेखि लडकडाउन हटेको घोषणा गरेको थियो । यसअघि चैत ११ गतेदेखि नेपालमा कोरोना महाकारी नियन्त्रणको लागि लकडाउन गरिएको थियो । तर कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि लकडाउन अन्त्य गरिएको थियो । त्यसपछि भने कोरोना संक्रमितको संख्या बढेको बढ्यै छ । नेपालमा कोरोना संक्रमितको संख्या २०५०० नाघेको छ भने ५८ जनाको मृत्यु भइसकेको छ ।
बीरगञ्ज, बिराटनगर, नेपालगञ्ज, जनकपुर लगायतका प्रमुख सहरहरु कोरोना संक्रमण बढेपछि फेरी बन्द गरिएको छ ।