२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

काठमाडौंमा दैनिक कोरोना संक्रमित सय नाघ्यो, कुल मृत्यु ७०



काठमाडौं । काठमाडौं उपत्यकामा पहिलो पटक कोरोना संक्रमितको संख्या एकै दिन सय नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङका दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १ सय ६ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सहित पछिल्लो २४ घण्टामा नेपालभर ४६४ संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा थपिएका मध्ये काठमाडौँमा ९२ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना छन् । बिहीबार उपत्यकामा ८७ जना संक्रमित भेटिएका थिए ।

त्यसैगरी मुलुकभार कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाबाट मृत्यु भएपछि ७० पुगेको हो । मृत्यु हुनेमा ललितपुरमा २, बीरगञ्जमा २ र धरानमा १ रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४२५ जना निको भएर डिस्जार्ज भएका छन् । हालसम्म १५ हजार ८१४ निको भएर घर फर्किएका छन् । हाल आइसोलेसनमा ६ हजार ३३० जना उपचाररत छन् । पछिल्लो २४ घन्टामा ७ हजार ९२६ पीसीआर परीक्षण भएको पनि बताइएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ५ : ४४ बजे