चोकर्म पोखरीको स्थलगत अध्ययन गर्न माग

२०७७ श्रावण २७, मंगलवार ११:३४

काठमाडौं । फुटेको आशंका गरिएको चोकर्म पोखरीको स्थलगत अध्ययनको लागि स्थानीयले माग गरेका छन् ।

सोलुखोलामा पानीको बहाव बढेको पाँच दिन बितिसक्दासमेत प्रशासन कार्यालयले आधिकारिक पुष्टि नगरेको तथा चासो नदेखापछि स्थानीयले उक्त माग गरेको राससले जनाएको छ ।

शुक्रबार बिहानदेखि नदीमा पानीको बहाव बढेर बेनी क्षेत्रको बस्तीमा नदीको पानी पसेको थियो । स्थानीय सरकार तथा प्रशासनले यसको वास्तविकता पत्ता लगाउन नसकेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

हाल फुटेको पोखरी भनिएको पोखरीको स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन आवश्यक पहल गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको बेनीका स्थानीय फुदोर्जी शेर्पाले गुनासो छ । दुई दिनको पैदल हिँडेर पुग्ने ठाउँमा तीन दिन बितिसक्दासमेत सरकारको प्रतिनिधि र जनप्रतिनिधि पठाएको छैन ।

दूधकुण्ड क्षेत्रमा रहेका प्रयत्क्षदर्शीसमेत चोकर्म फुटेर तीन भागमध्ये एक भाग पानी बगिसकेको दाबी गरेका छन् । स्थलगत अध्ययन गरेका फुछिरिङ शेर्पाले चोकर्म पोखरी वरिपरिको भाग चिराचिरा परिसकेकाले जोखिम उच्च रहेको बताए । विपद् जोखिमलाई ध्यान दिएर तत्काल स्थलगत अध्ययन गरी थप सुरक्षा रणनीति अपनाउनुपर्ने निकाय मूकदर्शक बनेको नदी तटीय क्षेत्रका स्थानीय राजकुमार प्रधानको भनाइ छ ।

नुम्बुर हिमालको फेदमा दूधकुण्डसहित अन्य दर्जन बढी साना पोखरी रहेको स्थानीय जानकार बताउँछन् । चोकर्म पोखरी फुटेर चोतारे पोखरीमा आउँदा केही कम क्षति भएको अर्का प्रत्यक्षदर्शी लाक्पा लामाको भनाइ छ । सोलुखुम्बुको माथिल्लो क्षेत्रमा सयौं पोखरी तथा ठूला–ठूला ताल छन् तर पनि तिनीहरु अधिकांशको वास्तविक अवस्थाका बारेमा आधिकारिकरूपमा अध्ययन भने गरिएको छैन । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई (सुरवीर) केन्द्र सरकारसँग यस विषयमा छलफल भइरहेको बताउँछन् ।

नुम्बुर हिमाल क्षेत्रमा रहेका पोखरी फुटेर सोलुखोलामा पानीको बहाव अति उच्च भएमा सोलुखोलामा निर्माणाधीन तीन हाइड्रोपावरमा क्षति पुग्छ भने कम्तीमा तीनवटा बस्ती नै विस्थापित हुनेछ । तत्काल त्यस क्षेत्रको अध्ययन गरी थप योजना नबनाउने हो भने ठूलै जनधनको क्षति हुनसक्ने भन्दै स्थानीयवासीले जतिसक्दो चाँडो राज्यको ध्यान जानुपर्ने बताउँछन् ।

 

सम्बन्धित समाचार