६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

शान्ति स्थापनाका लागि लिवया जान तयार सैनिकमा कोरोना संक्रमण



काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना गर्न लिबियामा जान लागेका नेपाली सेनाको केही जवानमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यही कारण लिविया प्रस्थानका लागि तयार रहेको उडान पनि स्थगित भएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले राससलाई दिएको जानकारी अनुसार शान्तिस्थापनार्थ लिबिया जान लागेका ११६ शान्ति सैनिकमध्ये ३५ भन्दा बढीमा कोभिड–१९ पोजेटिभ देखिए हो । युनाइटेड मिसन गार्ड युनिटका रुपमा रहेको उक्त टोलीमा १७ महिला सैनिकको समेत सहभागिता छ ।

काभ्रेपलाञ्चोकको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालीम केन्द्रमा तालीम पूरा गरी चार महिनादेखि क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको पछिल्लो परीक्षणमा ती जवानलाई सङ्क्रमण पुष्टि भएको हो । राष्ट्र सङ्घको शान्ति सैनिक बोक्ने विमान नेपाली शान्ति सैनिकलाई लिन गए राति आउने र सोमबार बिहान टोली त्यसतर्फ जाने पूर्वनिर्धारित कार्यक्रम थियो ।

त्यसतर्फ जाने जवानमा आइतबार मात्र कोरोना अचानक पुष्टि भएपछि उडान स्थगन गर्नुपरेको जनाइएको छ । सन् २०१६ देखि लिबियामा नेपाली शान्ति सैनिक रहन लागेका हुन् जहाँ हाल २२९ नेपाली सैनिक तैनाथ छन् ।

वैशाखमा नै लिबिया जानुपर्ने उक्त शान्ति सैनिकको टोली विश्वभर फैलिएको कोभिड–१९ का कारण चार महिना रोकिएको थियो ।

यसअघि अहिलेकै प्रक्रिया अपनाएर क्वारेन्टिनमा बसी द्वन्द्वग्रस्त मुलुक माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक र दक्षिण सुडानमा तैनाथ हुन गएका नेपाली शान्ति सेनामा भने कुनै सङ्क्रमण पुष्टि भएको थिएन । यसैबीच पछिल्लो समय नेपाली सेनाका सकलदर्जामा कोभिड–१९ बाट सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ ।

यही भदौ १७ गतेसम्म ५०८ जनामा मात्र पोजेटिभ पुष्टि भएकामा २८ गतेसम्म सो सङ्ख्या बढेर एक हजार ३८३ पुगेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ बाट सङ्क्रमित सैनिकमध्ये हालसम्म २९४ जना निको भएर घर फर्किसकेका छन् भने एक हजार ८९ जना कोरोनाका सक्रिय बिरामी हुन् ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार  ५ : ४४ बजे