होटल, आन्तरिक हवाई र लामो दूरीका यातायात असोज १ गतेदेखि चल्ने

२०७७ भाद्र ३०, मंगलवार २२:२४

काठमाडौं । सरकारले होटल, आन्तरिक हवाई उडान र लामो दूरीका यातायात असोज १ देखि ञ्चालन गर्ने निर्णय गरेको छ । गत चैत ११ गतेदेखि बन्द हवाई उडान, लामो दूरीका यातायात र होटलहरु बन्द थिए ।

सरकारका प्रबक्ता प्रदीप कुमार ज्ञवालीले मंगलबार पत्रकार सम्मेलनमा बताए अनुसार लामो दूरीका यातायात सञ्चालन हुँदा ५० प्रतिशतसम्म बढी भाडा यात्रुबाट व्यवसायीले लिन सक्ने छन् । हवाइजहाजको भाडा भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोक्ने जनाइएको छ । हटोललगायतका सेवा दिंदा स्वास्थ्य मापदण्ड भने अपनाउनु पर्नेछ ।

आन्तरिक हवाइजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने छन् । “स्वास्थ्यको संवेदनशीलतालाई ध्यानमा राखेर हामीले लामो समयसम्म आवगमन रोक्यौँ । अनन्तकालसम्म आवागन रोक्न सकिँदैनथ्यो”, परराष्ट्रमन्त्री ज्ञवालीले भने, “त्यही भएर हवाई र लामो दूरीका यातायातका साधनलाई निश्चित मापदण्ड लागु गरेर खुला गरेका छौँ ।”

लामो समयसम्म हवाइजहाज र लामो दूरीका यातायात सञ्चालन नहुँदा यात्रु र सञ्चालकलाई समेत कठिनाइ परेकाले सञ्चालन गर्न थालिएको उनले बताए । सिटमा एक जना मात्र राख्न पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने बताइएको छ । सवारी चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ ।

लामो दूरीका यातायातका लागि भौतिक तथा पूर्वाधार र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप मापदण्ड बनाउन सक्ने निर्णय गरिएको छ । सोको अनुगमन यातायात व्यवस्था विभाग र ट्राफिक कार्यालयले गर्ने जनाइएको छ । लामो सयमदेखि हवाई उडान बन्द भएको कारणले हवाई संचालक अप्ठयारो परेकोले संचालन गर्न अनुमति दिइएको उनले जानकारी दिए ।

यस्तै अन्तरराष्ट्रिय हवाई उडानका सम्बन्धमा स्वास्थ्य र सुरक्षासम्बन्धी मापदण्डको पूर्णरुपमा पालना गरी सङ्क्रमणको जोखिमको विश्लेषण गरेर आवश्यकता र औचित्यका आधारमा पर्यटन मन्त्रालयले नियमित तथा चार्टन उडानका लागि अनुमति दिन सक्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञवालीले जानकारी दिए । विदेशबाट आउने यात्रुको यात्रा शुरु गर्नुभन्दा पहिले ७२ घण्टाअघिको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको अनिवार्य हुनुपर्ने व्यवस्था कायमै छ ।

सरकारले अन्तरराष्ट्रिय सीमानाका भने असोज ३० गतेसम्म बन्दै राख्ने निर्णय गरेको छ । यसअघि भदौ ३१ गतेसम्म सीमा बन्द गर्ने निर्णय भएकामा कोभिड –१९ को सङ्क्रमणलाई ध्यान दिँदै असोज ३० सम्म अवधि थप गरिएको ज्ञवालीले जानकारी दिए ।

तर, समस्यामा परेका नेपालीलाई भने आउनका लागि भारतसँग सीमा जोडिएका १२ प्रमुख नाकाबाट प्रवेश गर्न दिइने भएको छ । यसअघि १० नाका खुला गरिएकामा मन्त्रिपरिषद् बैठकले थप दुई नाका इलामको पशुपतिनगर र दार्चुलाको खलङ्गाको नाकाबाट पनि मानिस आउनका लागि निर्णय गरेको छ । यस्तै चीनतर्फको रसुवाको नाकाबाट पनि प्रवेशका लागि अनुमति दिने निर्णय सरकारले गरेको छ ।

सम्बन्धित समाचार