विदेशी भन्दा नेपाली पाइलटको तलब बढी!

२०७७ आश्विन १५, बिहीबार १६:२१

काठमाडौं । बेला बेला नेपाल वायु सेवा निगमका विदेशी पाइलटले धेरै तलब खाने गरेको चर्चा हुने गरेको छ । कोरोना संक्रमण बढेपछि पनि महंगो वविदेशी पाइलटलाई राखेको भन्ने प्श्न उठेपछि कस्ले कति तलब लिन्छन् भन्ने विवरण निगमले सार्वजनिक गरेको छ ।

निगमको विज्ञप्ति अनुसार कोरोना महामारी पछि विदेशीले भन्दा नेपाली पाइलटले धेरै तलब लिने गरेको उल्लेख गरेको छ । निगमका अनुसार जुलाई(साउन) महिनामा नेपाली पाइलटले न्यूनतम ५ लाख २९ हजार १८७ रुपैयाँ बुझेका छन् भने त्यही अवधीमा विदेशी पाइलटले ४ लाख ८० हजार मात्र बुझेका छन् ।

निगमले जारी गरेको विज्ञप्तीमा २०७६ चैतदेखि विदेशीका हकमा ५० देखि ६० प्रतिशतसम्म सेवा सुविधा एवम् पारिश्रमिक कटौती गरिएको, करार अवधि समाप्त भएका सात जना विदेशी पाइलटको करार सेवा नवीकरण नगरिएको र हाललाई न्यूनतम सङ्ख्यामा उडानहरु भर्न सक्ने गरी ६ जनामात्र विदेशी पाइलट राखिएको बताइएको छ ।

योसँगै हाल करार सेवामा रहेका विदेशी पाइलटलाई उनीहरुको सेवा सुविधा तथा पारिश्रमिकमा ६६ प्रतिशतसम्म कटौती गरी करार नवीकरणको अवधिसमेत छोट्याइएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार पछिल्लो पटक विदेशी पाइलटको करार नवीकरण गरी खुद तलब प्रतिमहिना ४ हजार अमेरीकी डलर र बसोबास खर्च १ हजार अमेरीकी डलर मात्र तोकिएको छ ।

एयरवस ३३० को एक विदेशी पाइलटको करार भङ्ग तथा अर्का एक पाइलटलाई पूर्ण वेतलबी विदामा राखिएको निगमले जनाएको छ । बन्दाबन्दी शुरु भए लगत्तै प्रभावकारी जनशक्ति योजना व्यवस्थापनका साथै क्रमिकरुपमा भइरहेको सेवा सुविधा तथा पारिश्रमिक कटौती एवम् करार भङ्ग तथा नवीकरण नगरिएका कारण विदेशी पाइलटप्रति निगमको आर्थिक दायित्व घट्न गई जुलाई महिनामा जम्मा मासिक रु ७३ लाख ७१ हजार मात्र रहेको जनाएको छ । जुन कोभिड–१९ अघिको तुलनामा ७७ प्रतिशत कम हो ।

यसैगरी निगमको वर्तमान अप्रेसन म्यानुअल ट्रेडिङअनुसार ए ३२० जहाजमा कम्तिमा ६ जना र बढीमा ९ जनासम्म इक्जामिनर प्रशिक्षक पाइलटको जरुरी रहेको र सन् २०१९ मा निगमले तयार गरेका नेपाली प्रशिक्षक पाइलटमध्ये एक जना प्रशिक्षक पाइलट करिव २ महिनाको सेवा मात्र गरी ए ३३० को तालिममा गएका र निगमको ए ३२० जहाज सञ्चालन गर्न प्रशिक्षक पाइलटको अभावले हाल एक जना मात्र विदेशी प्रशिक्षक पाइलट करारमा राखिएको उल्लेख छ ।

सम्बन्धित समाचार