नेपाल प्रहरीका दुई एसपी र एक इन्सपेक्टर निलम्बित

२०७७ मंसिर १७, बुधबार १६:३०

काठमाडौं । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका एसपी विमल बस्नेत र रामेश्वरप्रसाद यादवसहित तीन जनालाई निलम्बन गरेको छ ।

निलम्बनमा पर्नेमा प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया पनि छन् । मन्त्रालयको मङ्गलबारको सचिवस्तरीय निर्णयले तीनै जनालाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए ।

प्रहरी वरिष्ठ उपरीक्षक कुँवरका अनुसार घटनाका विषयमा अहिले छानबिन भइरहेको र कसुरको मात्रा हेरी कारवाही हुनेछ । तीनै जनामाथि विगतमा कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा रहँदा आचरण विपरीत र गैरव्यावसायिक कार्य गरेको आरोप छ ।

यादव हाल महानगरीय ट्राफिक प्रहरी महाशाखामा प्रवक्ताका रुपमा, बस्नेत महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा र चौरासिया इलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत छन् । मन्त्रालयका अनुसार उनीहरुले प्रहरी सङ्गठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीलाई असर पुर्‍याउने किसिमको कार्य गरेको जानकारी प्राप्त भई प्रारम्भिक छानबिन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी र दायित्व पूरा नगरेको पाइएको छ ।

सम्बन्धित समाचार