७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

चौतर्फी विरोधका बावजुद प्रतिनिधिसभा विघटन, चुनाव वैशाख १७ र २७ गते



काठमाडौं । सत्तारुढ दल भित्र र प्रतिपक्षीको व्यापक विरोधका बावजुद राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटनको घोषणा गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत हुने उल्लेख गरिएको छ ।

‘मन्त्रिपरिषद्को बैठकबाट निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी मिति २०७८ साल बैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति २०७८ साल बैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्नु भएको छ’, राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारले संसद विघटनको लागि गरेको सिफारिसको सत्तारुढ दलभित्रको एउटा समुह र सबै प्रतिपक्षी दलहरुले बिरोध गरेको थियो । साथै संविधानविद्हरुले अहिलेको अबस्थामा स‌ंसदको विघटनको कुनै व्यवस्था नभएको उल्लेख गरेका थिए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ०९ बजे