२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

तातिंदै नेपाली राजनीतिक माहोल, नेकपाका नेताहरुको दौडधुप जारी



काठमाडौं । सरकारको सीफारिसमा राष्ट्रपति बिद्यादेवि भण्डारीले आइतवार प्रतिनिधिसभाको विघटन गरेपछि एकाएक तातिएको नेपाली राजनीतिको महोल सोमवार पनि गरमागरम छ ।

बिहानैदेखि सत्तारुढ दल नेकपाका नेताहरुको दौडधुप जारी छ । प्रधानमन्त्री केपी ओलीले आफु पक्षका सांसदहरुलाई बालुवाटारमा बोलाएर काम गर्नै नदिएपछि बाध्य भएर संसद बिघटनको सिफारिस गर्नु परेको बताउँदै सरकारले गरेका राम्रा कामहरु लिएर चुनाव जान भनेका छन् । साथै आफु नै नेकपाको अध्यक्ष र संसदीय दलको नेता रहेको उल्लेख गर्दै आफ्नो पक्ष नै नेकपा रहेको जीकिर गरेका छन् ।

तर माओवादीबाट आएका नेता तथा गृहमन्त्री रामबहादुर थापा भने बालुवाबाटर बैठकमा पुगेनन् । उनी आफ्ना पक्षका नेताहरुलाई आफ्नै निवासमा बोलाएर बैठक गरे । उनी पक्षका देव गुरुङ र पम्फा भुषाल प्रचण्ड–माधव नेपाल पक्षमा सक्रिया छन् । त्यहाँ करिव २० जना सहभागी भएको बताइएको छ । साथै सबै जनाले ओलीको कदमको विरोध गरेको पनि बताइएको छ ।

दिउँसो १ बजे प्रचण्ड–नेपाल पक्षले बानेश्वरस्थित संसद भवनमा आफु पक्षका सांसदहरुलाई बोलाएका छन् । तीन बजे त्यही स्थायी समितिको बैठक बस्ने पनि तय भएको छ । आइतबार बालुवाटारमा बसेको प्रचण्ड–माधव नेपाल पक्षको मात्र उपस्थित स्थायी समिति बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई अनुशासनको कारवाही प्रस्ताव गर्दै केन्द्रीय समितिको बैठक मंगलबारका लागि आह्वान गरेको छ ।

यही बीच कानुन व्यवसायीहरु प्रतिनिधिसभा पुनस्थापनाको माग लिएर सर्वोच्च अदालत समेत पुगेका छन् ।

एकाएक आइतवारदेखि सुरु भएको नेपाली राजनीतिको सरगर्मी घट्ने होइन बढ्ने निश्चित देखिएको छ । यसले मुलुकलाई कस्तो अप्ठ्यारोमा फसाउँछ त्यो हेर्न पनि बाँकी नै छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  १२ : ५१ बजे