यस्ता छन्, नेकपामा ओली समुहको निर्णय

२०७७ पुष ७, मंगलवार १९:२४

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ जना नयाँ सदस्य नियुक्ति गरेका छन् । केन्द्रीय कमिटीको संख्या ११ सय ९९ पुर्‍याएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका केन्द्रीय कमिटीका सदस्यहरुको बैठकमा उनले उक्त प्रस्ताव पेश गरेका हुन् ।

ओली पक्षका केन्द्रीय कमिटी बैठकले २०७८ मंसिरमा पार्टी महाधिवेशन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । पार्टीको नयाँ महाधिवेशन मंसिर २ गतेदेखि ७ गतेसम्म आयोजना हुने ओली पक्षले निर्णय गरेको छ ।

त्यसैगरी बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी बनाएको छ । उक्त कमिटीको बैठक पुस ९ गते बस्ने भएको छ । त्यस्तै ओली पक्षले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर परराष्ट्रमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई प्रबक्ताको जिम्मेवारी दिएको छ ।