आदिवासी जनजातिबारे एकै पटक १४ पुस्तक

२०७७ पुष १२, आईतवार २०:१९

ललितपुर । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, डा. कुन्साङ लामा योन्जन, डा. कृष्णराज चौधरी र दिवस राईले आज आइतबार आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न विधाका १४ वटा पुस्तक सार्वजनिक गरेका छन् । प्रतिष्ठानले ती पुस्तक प्रकाशित गरेको हो ।

त्यसमध्ये ‘छन्त्याल जातिको चिनारी’ (इथ्नोग्राफिक प्रोफाइल) एक रहेको छ । यो पुस्तकमा आदिवासी छन्त्यालको इतिहास, संस्कृति, संस्कार, भाषा, साहित्य, सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, राजनीतिक प्रणालीजस्ता पक्ष समेटिएको छ । हरिचन छन्त्यालले अध्ययन अनुसन्धान, पुस्तक लेखन गर्रेका हुन् ।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ मा उल्लेख ‘आदिवासी जनजातिको भाषा, लिपि, संस्कृति, साहित्य, कला, इतिहासको संरक्षण र प्रवद्र्धन गर्ने’ उद्देश्य प्राप्तिका निम्ति पुस्तक प्रकाशन गरिदै आएको छ ।

प्रतिष्ठानले स्थापना कालदेखि विभिन्न लेखकको कृति प्रकाशन सहयोग गर्दै आएकोमा आ.व. २०७१/०७२ देखि आफैले प्रकाशन गर्दै आएको छ । त्यसैअनुसार प्रतिष्ठानले सूचिकृत आदिवासीहरूको विभिन्न भाषाका विभिन्न विधाका ४०० वटा पुस्तक प्रकाशित गरेको प्राज्ञिक शाखा प्रमुख सरिना गुरुङले बताईन् । त्यसमा सूचिकृत आदिवासी जनजातिमध्ये २२ जातिको छुट्टाछुट्टै ‘जातीय चिनारी’ (इथ्नोग्राफिक प्रोफाइल) पुस्तक प्रकाशित छन् । ती पुस्तकमा सम्बन्धित जातिको चिनारी, इतिहास, आर्थिक, सामाजिक, भाषिक, सांस्कृतिक, राजनीतिक, शिक्षा, स्वास्थ्य विषय समेटिएका छन् ।

त्यसैगरी प्रतिष्ठानद्वारा आदिवासी जनजातिहरूको जनसंख्या समेटिएको सूची विवरण पुस्तक ‘नेपाल एटलस’ (इथ्निक एण्ड कास्ट गु्रप्स, २००६), तिनीहरूको मातृभाषा झल्कने पुस्तक ‘नेपाल एटलस अफ ल्यांग्वेजेज ग्रुप्स, २००६’ पुस्तक प्रतिष्ठानबाट प्रकाशित छ । यी पुस्तकहरूमा भएको विभिन्न आदिवासी जनजातिहरूको विवरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरूलाई विकास रणनीति बनाउनमा ठूलो सहयोग पुग्ने योजना प्रमुख दिवस राईले बताए ।

यसैगरी आदिवासी जनजातिहरू बारे लेखिएका पुस्तक, लेखहरू समेटिएको विवरण सहितको ‘नेपाल बायोग्राफी अफ इन्डिजिनियस पिपल (जनजाति)’ पुस्तक पनि प्रकाशन भएको छ । साथै प्रतिष्ठानले आफ्नो नीति तथा कार्यक्रमहरूलाई आदिवासी बुलेटिन र आदिवासी जनजाति जर्नलहरू प्रकाशन गर्दैआएको छ ।

प्रतिष्ठानबाट अध्ययन अनुसन्धान भएका, विभिन्न विषयविज्ञ, अध्यता, अनुसन्धाता, लेखकले विभिन्न विधामा तयार गरेका पुस्तकहरू प्रकाशन गरेको छ । इतिहास, संस्कृति, लोकवार्ता, पाठ्यपुस्तक जस्ता पुस्तक प्रकाशित छन् । जसमा १४ भाषाको व्याकरण, १० भाषाको शब्दकोश, २३ भाषाको वर्णमालाप्रकाशित छन् ।

विभिन्न मातृभाषामा साहित्यका विविध विधाका पुस्तक प्रकाशित छन् । ती भाषा आठपहरिया, कुलुङ, कोयु, चाम्लिङ, छिन्ताङ, छिलिङ, जेरो, दुङमाली, दुमी, नाछिरिङ, पुमा, बान्तावा, बाहिङ, वाम्बुले, साम्पाङ, नेवार, लिम्बु, मगर, थारू, उराँव, कुमाल, सुनुवार, गुरुङ, छन्त्याल, तामाङ, थामी, दुरा, धिमाल, मगर, ल्होमी, डोल्पो, जिरेल, राजवंशी, ताजपुरिया, किसान, दनुवार, थामी, मुगाली, बराम, मगर ढुट, मगर पाङ÷खाम, मगर काइके, याक्खा, गन्गाई, माझी, छन्त्याल लगायत छन् । यसरी दस्तावेजिकरण कार्यले आदिवासी जनजातिको मातृभाषा, संस्कृति संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन भएको छ भने नयाँ–नयाँ लेखकहरू जन्माउने काम भएको छ ।

विमोचित १४ पुस्तकहरू

1. पम्परागत मुगाल जातिको विवाहमा जन्तीहरुले गाउने गीत
2. कुमाल समाज पाइने मिथक किंबदन्ती र लोककथा विश्लेषणात्मक
3. राजवंशी व्याकरण
4. तमु भाषाको शब्दकोश प्रकाशन
5. आदिवासी जनाजातीहरुको अधिकार र नेपालको सन्दर्भ
6. लोसार फेस्टिवल सेलिब्रेटेड बाई शेर्पा
7. ‘रमिपाङ मिचिवो मिन्मा’
8. ‘यच्याङमाखा” (धरती) वाम्बुले राई भाषाको कविता संग्रह
9. राबल्आम (चौबाटो) वाम्बुले राई भाषाको कविता संग्रह
10. छ्वाङल्याक (छाल) वाम्बुले राई भाषाको मुक्तक संग्रह
11. चाम्लिङ मामला गीत संग्रह
12. डगौरा थारुको वर्ण निर्धारण
13. छन्तयालको जातीय चिनारी
14. थुँगा कविता सँगालो

सम्बन्धित समाचार