काठमाडौँ । भारतले नेपाललाई १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएको छ । भारतको खोप निर्माता कम्पनी सिरम भारतले उत्पादन गर्ने कोभिसिल्ड खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले उपलब्ध गराउने खोपहरु बिहीबार नेपाल आइपुग्ने र अर्को सातादेखि खोप लगाउन सुरु हुने बताएका छन् ।
यो खोप अक्सफोर्ड विश्वविद्यालय र अमेरिकी औषधि निर्माता कम्पनी एस्ट्राजेनेले विकास गरेको हो । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको ‘एजेडडी१२२२’ नामक खोपलाई भारतको एसआईआईले ‘कोभिसिल्ड’को नाममा उत्पादन गरेको हो ।
औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमति प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिन्छ ।