दाहाल–नेपालको थप सङ्घर्षका कार्यक्रम, ओलीले पनि प्रदर्शन गर्ने

२०७७ माघ १२, सोमबार १८:२६

काठमाडौं । आन्दोलनरत नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल र माधव नेपाल समुहले प्रतिनिधिसभा विघटनविरुद्ध थप सङ्घर्षका कार्यक्रम सार्वजनिक गरेको छ । नेकपाको केन्द्रीय संघर्ष समितिले यही माघ २८ गतेसम्म विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

कार्यक्रमअनुसार यही माघ २८ गते काठमाडौँमा विरोध प्रदर्शन र विशालसभा आयोजना गरिएको छ । यस्तै माघ २६ गते देशव्यापी मसाल जुलुस, माघ २२ गत काठमाडौँमा युवा र्‍याली गरिने केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन तथा आमसभा गरिने नेकपाले जनाएको छ । माघ १६ गते जुलुससहित श्रद्धाञ्जली तथा माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधानसभा सदस्य, सङ्घीय सांसद तथा प्रदेशसभा सदस्य सहभागी भएर धर्ना दिने, माघ १३ गते सिठ्ठी जुलुस निकाल्ने कार्यक्रम तय गरिएको संघर्ष समितिले जनाएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम खारेज नहुँदासम्म आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिले जनाएको छ । सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेसँगै नेकपाको एक समूह सडक संघर्षमा उत्रिएको छ । सो समूहले दुई चरणमा देशव्यापी आन्दोलन गरिसकेको छ । संघर्ष समितिले आन्दोलनमा सहभागी हुने सम्पूर्ण पार्टी कमिटीका सदस्य तथा जनसमुदायलाई धन्यवादसमेत दिएको छ ।

ओली पक्षले पनि जनप्रदेर्शन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्ष केपी ओली समुहले यही माघ २३ गते काठमाडौँमा जनसभा गर्ने भएको छ । वाग्मती प्रदेश सङ्गठन कमिटीको आयोजनामा हुने सभामा सफलतापूर्वक सम्पन्न गर्नका लागि शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा एक हजार १११ सदस्यीय जनसभा परिचालन कमिटी गठन गरिएको छ ।

‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागिएको हो । सभा मध्याह्न १२:०० बजे शुरु हुनेछ । सभामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यन्त महत्वपूर्ण जानकारी दिने श्रेष्ठले बताइएको छ । यसअघि यही माघ ९ गते दाहाल–नेपाल समूहले काठमाडौँमा सभा गरेको थियो ।

 

सम्बन्धित समाचार