काठमाडौँ । सभामुख अग्नी सापकोटाले फिर्ता पठाएपछि विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई बुधबार बिहान राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ ।
संबैधानिक परिषद्ले सिफारिस गरेपछि संसदको सुनुवाई समितिले सुनुवाई गर्नु पर्ने हुन्छ । तर प्रतिनिधि सभा विघटन भइसकेको र सभामुखले असहमति जनाएको हुँदा सिधै सपथ खुवाएर नियुक्ति दिइएको हो ।
सुनुवाई समितिले सुनुवाई नगरेको अवस्थामा ४५ दिनपछि स्वत नियुक्ति गर्न रोकिने छैन भन्ने कानुनी व्यवस्थाको आधारमा नियुक्ति गरिएको हो । यसमा सत्तारुढ दलकै पनि प्रचण्ड–माधव नेपाल समुह र विपक्षीहरुले असहमति जनाउँदै आएको छ ।
बुधबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् ।
प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए ।
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिएका छन् ।
कछाड र भाँग्रामा सपथ
सपथ खाना जानेमा आदिवासी आयोगका अध्यक्ष रामबहादुर थापाको छुट्टै पहिचान देखिएको थियो । अरु सबै दौरा सुरुवाल र साडीमा आएको भएपनि थापाले भने कछाड र भाँग्रा लगाएर सपथ लिएका छन् । उनले आफ्नो पहिचान दर्शाउनका लागि पनि यस्तो पोशाक लगाएको बताएका छन् । उनी नेपाल आदिवासी जनजाति महासंघको महासचिव र संविधानसभाको सदस्य भइसकेका व्यक्ति हुन् ।