२२ बैशाख २०८१, शनिबार | Sat May 4 2024

नेपालमा पहिलो चरणमा एक लाख ८४ हजारले खोप लगाए, सोमवारदेखि पत्रकारलाई



काठमाडौं । पहिलो चरणको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एक लाख ८४ हजार ८५७ जनाले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार भारत सरकारले उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट एक लाख ८४ हजार ८५७ जनालाई दिइएको छ ।

जसअनुसार प्रदेश नं १ मा २४ हजार २२४, प्रदेश नं २ मा २५ हजार ६३७, वाग्मती प्रदेशमा ६३ हजार ३०८, गण्डकी प्रदेशमा १८ हजार ४७२, लुम्बिनी प्रदेशमा २८ हजार ९४१, कर्णाली प्रदेशमा नौ हजार ४२० र सुदूरपश्चिम प्रदेशमा १४ हजार ८५५ जना छन् ।

मन्त्रालयले यही माघ १४ गतेदेखि पहिलो चरणमा कूल जनसङ्ख्याका तीन प्रतिशतलाई खोप लगाउनेमध्ये प्राथमिकतामा परेका व्यक्तिलाई खोप प्रदान गरेको थियो । खोप अभियान शनिबार सम्पन्न भएको थियो । मन्त्रालयले पहिलो चरणका लागि ल्याइएका खोप प्राथमिकताका आधारमा अर्को चरणमा लगाउने भएको छ ।

नेपालमा कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउने सरकारको योजना छ । मन्त्रालयका प्रवक्ता डा गौतमले कुनै अवाञ्छित घटना नभई खोप अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएको थियो । यस्तै चीन सरकारले पनि नेपाललाई पाँच लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

सोमवारदेखि पत्रकारलाई खोप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भोलि (सोमबार) देखि कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई उपलब्ध गराउने भएको छ ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सोमबारदेखि पाँच दिनसम्म अग्रपङ्क्तिमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल, नयाँ बानेश्वरबाट खोप दिइने जानकारी दिए । उनले खोप लगाउने पत्रकारको विवरण खोप सचिवालय (स्वास्थ्य सेवा विभाग) मा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न आग्रह गरिएको जनाए ।

स्वास्थ्य मन्त्रालयले सञ्चार मन्त्रालयसँग देशभरिको पत्रकारको विवरण मागेको र सोही विवरण खोप सचिवालयमा उपलब्ध गराइनेछ र खोप लगाउन पत्रकारले आफ्नो परिचयपत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने हुन्छ । देशभर करिब १३ हजार पत्रकार रहेका छन् । पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  ८ : ५६ बजे