ओबामाले तेञ्जिङको बायोपिक बनाउने

२०७७ माघ २९, बिहीबार १५:५८

काठमाडौं । अमेरिकी राष्ट्रपति बराक ओबामा र श्रीमती मिसेल ओबामाको प्रडक्सन कम्पनी, हायर ग्राउन्ड प्रोडक्शन्सले नेटफ्लिक्ससँग मिलेर सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला राख्ने मध्येका एक तेञ्जिङ नोर्गे शेर्पाको जीवनीमा वायोपिक बनाउने घोषणा गरेको छ ।

कम्पनीले गर्न लागेको छ वटा टिभी र फिल्मी परियोजना मध्ये नयाँ मोहसिन हामिदको उपन्यास “एक्जिट वेस्ट” र तेन्जिङ नोर्गेको बायोपिक पनि समावेश गरिएको हो । अन्य परियोजनाहरूमा अमेरिकाका नेशनल पार्क र एन्जलाइन बोउली पुस्तक “फायरकिपर्स डटर” को शृङ्खला रहेका छन् ।

‘हामीले राम्रा कथाहरू सुनाउन मञ्च सिर्जना गरेका छौँ,” ओबामाले परियोजनाका घोषणा गर्दै भनेको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । कम्पनीले अगामी महिनाहरूमा थप परियोजनाहरू घोषणा गर्नेसमेत अपेक्षा राखिएको उल्लेख गरिएको छ ।

बनाउन लागिएको तेञ्जिङ नोर्गे बायोपिक उनकै जीवनीमा आधारित भएर बनाइने छ । सर एडमण्ड हिलारीसँगै सर्वोच्च शिखर सगरमाथामा पहिलो मानव पाइला राख्न सफल तेञ्जिङको बारेमा लेखिको इड डग्लसले लेखेको तेञ्जिङ: हिरो अफ एभरेस्टमा आधारित रहेर यो बायोपिक बनाउन लागिएको हो । यसको निर्देशन डकुमेन्ट्री फिल्म मेकर जेनिफर पेडोम (शेर्पा)ले गर्दै छिन् भने लुक डेभिसले स्क्रिप्ट लेख्दै छन् । अमेरिकी सञ्चार माध्यमहरूले जेनिफरले लामो समय एभरेस्ट क्षेत्रमा बिताएको पनि उल्लेख गरेको छ ।

‘यो ओझेलमा परेको एक जना नायकको कथा हो, जसले बाहिरको मान्छेसँग अद्वितीय सम्बन्ध कायम गरेर इतिहास रच्यो’ भेराइटीले फिल्म तेञ्जिङ नोर्गेको बारेमा भनेको छ ।

सन १९५३ मे २९ तारिखको बिहान ११:१५ बजे हिलारीसँगै सगरमाथाको चुचुरोमा पुग्ने आरोही तेन्जिङ नोर्गे शेर्पाको जन्म १९१४ मा सोलुखुम्बुको थामेमा भएको थियो । तर पछि उनी दार्जिलिङ बसाइ सरेर ९ मे १९८६मा भारतको दार्जिलिङमा निधन भयो ।

भव्य स्वागत

सगरमाथा आरोहण गरेर फर्किएका तेन्जिङ नोर्गे र एडमन्ड हिलारीलाई काठमाडौँमा भव्य स्वागत गरिएको थियो । इतिहास शिरोमणि बाबुराम आचार्यको संयोजकत्वमा तेन्जिङ शेर्पा स्वागत समिति गठन गरिएको थियो । बनेपादेखि खुला जिपमा काठमाडौँ ल्याइएका सगरमाथा आरोहीद्वय शेर्पा र हिलारीलाई डिल्लीबजारको उकालोबाट बग्गीमा नगर परिक्रमा गराई वसन्तपुर गद्दी बैठकमा अभिनन्दन गरिएको बताइन्छ । बग्गीको दायाँ-बायाँ र अगाडि-पछाडि रिसल्ला, मोटरसाइकल र सैनिक ब्यान्ड बाजाको प्रबन्ध मिलाइएको थियो ।

 

सम्बन्धित समाचार