काठमाडौँ । सरकार र प्रतिबन्धित नेत्रबिक्रम चन्दले नेतृत्व गरेको माओवादीबीच बार्ता हुने भएको छ । चन्द समुहले बेला बेला हिंसात्मक गतिविधि गरेपछि फेरी पहिलेको माओवादी हिंसा सम्झेर मानिसहरु त्रस्त थिए ।
सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री केपी ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको दुई सदस्यीय वार्ता टोली सार्वजनिक गरेपछि चन्द समुहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दीपक’ को दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।
चन्द समूहद्वारा सरकारसँग वार्ताका लागि केही दिनअघि नै टोली गठन गरिए पनि सार्वजनिक भने मंगलबार मात्र गरेको हो । वार्ताका लागि जेलमा रहेका नेताकार्यकर्ता रिहा र हतियारसम्बन्धी मुद्दा फिर्ता गर्नुपर्ने चन्द समूहको पहिलो सर्त रहेको छ ।
त्यस्तै सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध पनि फुकुवा हुनुपर्ने उनीहरुको माग रहेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्दले मंगलबार दिउँसो विज्ञप्ति जारी गरी सरकारसँग वार्ता गर्ने टोली गठन गरिएको जनाएका छन् ।
मंगलबार सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले चन्द समूहले पनि वार्ता टोली गठन गरे चाँडै वार्ता हुने बताएका थिए । उनले हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लगाइने पनि जानकारी दिएका थिए ।
चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ,’नेपाल सरकारसँग देशका राजनीतिक,आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिष्ट पार्टी सहमत भएको छ ।’
यसअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गुरुङले ‘चन्द समूहले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा छ । हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्नेछ’ भनेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता चन्दसँग वार्ता हुन लागेको संकेत गरिरहेका थिए । सोमबार मात्रै पोखरामा प्रधानमन्त्री ओलीले चन्द समूहलाई शान्तिपूर्ण रुपमा मूलधारको राजनीतिमा आउन आग्रह गरेका थिए । त्यसअघि चन्दले फागुन ८ गते विज्ञप्ति निकालेर सहज वातावरण बनेमा आफ्नो पार्टी नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।
सरकारले चन्द नेतृत्वको नेकपामाथि ०७५ फागुन २८ मा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । झन्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।