सरकार–नेकपा सहमति, नेपालमा अब हिंसात्मक द्वन्द्व छैन : प्रधानमन्त्री

२०७७ फाल्गुन २१, शुक्रबार २२:२६

काठमाडौँ । सरकार र नेकपाबीच तीन बुॅदे सहमति भएको छ । नेकपाले हिंसात्मक गतिबिधि त्यागेको छ भने सरकारले प्रतिबन्ध फुकुवा गर्दै बन्दीहरु रिहा गरेको छ ।

सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी ओली र नेकपाका महासचिव नेत्रबिक्रम चन्द उपस्थित थिए ।

कार्यक्रममा सम्हटबोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब शान्तिपूर्ण नयाँ युगमा प्रवेश गरेको बताए ।

प्रधानमन्त्री ओलीले भन्ने, “नेपाल शान्तिपूर्ण देश हो, यहाँ अब हिंसात्मक द्वन्द्व छैन, शान्ति छ । आजको ठूलो सन्देश र उपलब्धि यही हो । संयुक्त राष्ट्रसङ्घले विश्वभरका मुलुकमा गरेको शान्ति स्थितिको मापनमा नेपालको सूचक अझ माथि उठ्ने छ ।”

सो समूहले शान्तिको माध्यमबाट मुलुकको स्वाधीनता र समृद्धिको यात्रामा अघि बढ्ने गरी भएको सहमतिको निर्णयबाट नेपाली जनताको मन जित्न सफल भएको बताउँदै उहाँले भन्नुभयो, “मुलुक र जनताको हितका लागि शान्तिपूर्ण राजनीतिका माध्यमबाट अघि बढ्ने विप्लव नेतृत्वको समूह मुलधारको राजनीतिमा प्रवेश गर्ने निर्णय ‘फोर्स ल्यान्डिङ’ या ‘क्र्यास ल्यान्डिङ’ नभई मुुलुकलाई अघि बढाउने सम्भावना बोकेको ‘सेफ ल्यान्डिङ’ हो ।

दुवै पक्षबीच भएको सहमतिको एउटै उद्देश्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को यात्रालाई अघि बढाउने र मुलुकलाई एकताबद्ध बनाएर लैजाने रहेको बताउँदै प्रधानमन्त्री ओलीले शान्तिको उचाइको यात्रामा मुलुक एक पटक फेरि नयाँ उचाइका साथ अघि बढेको धारणा व्यक्त गरे ।

उनले भने, “नेपालले प्राप्त गरेको सफलता विश्व कम्युनिष्ट आन्दोलनका लागि आदर्श रहने छ, आजको सहमति शान्तिको यात्रालाई अघि बढाउने दिशाका लागि ठूलो सफलता हो ।” विप्लव समूहको शान्तिपूर्ण अवतरण साहासिक कदम भएको जनाउँदै रकारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो । प्रधानमन्त्री ओलीले भने, “नेपाली जनता र राष्ट्रले शान्ति खोजेको छ । राष्ट्रियता, स्वाधिनता र राष्ट्रिय एकताका लागि एकजुट भएर काम गर्नुपर्छ ।”

मुलुकलाई अग्रगमन, विकास र समृद्धिका दिशामा अघि बढाउने र भ्रष्टाचार नियन्त्रणको सन्दर्भमा सफल रहेको बताउँदै उनले नेपाली राजनीतिको अभ्यासमा विप्लवलाई सफलता प्राप्त हुने विश्वास व्यक्त गरे ।

स्वर्णिम अवसरलाई सफल तुल्याऔँः विप्लव

समारोहमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सहमतिले कम्युनिष्ट भनेका विद्रोही मात्र होइन शान्तिका दूत हुन भन्ने पुष्टि गरेको बताए । उनले भने, “शान्तिपूर्ण राजनीतिका माध्यमबाट विकास र समृद्धिको यात्रामा अघि बढ्ने सहमतिप्रति पूर्ण प्रतिबद्ध छौँ, सहमति पालना गर्छौ ।”

कसैलाई पनि पीडा दिएर होइन नेपाली श्रमको योगदानबाटै मुलुकलाई विकासको चरणमा रुपान्तरण गरौँ भन्दै महासचिव चन्दले जनतालाई आफ्नो भविष्यबारे फैसला गर्न अधिकार दिनुपर्ने धारणा व्यक्त गरे । जनता र राष्ट्रको हितका लागि जुटेको स्वर्णीम अवसरलाई सफल तुल्याउन उनल्े सबैसँग आग्रह गरे ।

प्रधानमन्त्री ओली र महासचिव चन्दको उपस्थितमा भएको सहमतिपत्र सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्द समूहको नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्माले आदानप्रदान गरेका थिए । सरकार र चन्द समूहको नेकपाबीच देशको राजनीतिक समस्या वार्ता तथा संवादबाट समाधान गर्ने, नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र सरकारले नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने, कारागारामा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई रिहाइ र सम्पूर्ण मुद्दा खारेज गर्ने तीनबुँदे सहमति भएको छ ।

विसं २०७५, फागुन २८ गते भूमिगत राजनीतिकमा प्रवेश गरेको नेकपा चन्द समूह सरकारसँगको निरन्तर एक वर्षको वार्ता र छलफलपछि शान्तिपूर्ण राजनीतिमा अवतरण गरेको हो । देश र जनताको हितलाई ध्यानमा राखेर चन्द समूहसँग करिब एक वर्षदेखि औपचारिक र अनौपचारिक तथा विभिन्न माध्यामबाट वार्ता हुँदै आएकामा नेपाली कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण घटना भएका दिनको अवसरमा सहमति जुटेको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले बताए ।

नेकपाको वार्ता टोलीका सदस्य दीपक चलाउनेले अग्रगमन, शान्ति र स्थायित्वका लागि आज भएको सहमति ठूलो उपलब्धि र इतिहासको रचना गर्ने नियमित आकस्मिकता र संयोग निर्माणमा महत्वपूर्ण रहेको बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल र दुवै तर्फका वार्ता टोलीका सदस्यसहितको उपस्थिति थियो भने कार्यक्रमस्थल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको हल र परिसर खचाखच भएको थियो ।

सम्बन्धित समाचार