नेता नेपाल र रावल ६ महिनाका लागि निलम्बित

२०७७ चैत्र १६, सोमबार २२:२४

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको हित विपरीतको गतिविधि गरेको तथा पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावललाई पार्टी सदस्यताबाट निलम्बन गरेका छन् ।

वरिष्ठ नेता नेपाल र रावललाई सच्चिनका लागि समय दिइएको र आफ्ना क्रियाकलापमा सुधार गरेर पार्टीको पक्षमा लाग्न आग्रह गरिएको छ । अध्यक्ष ओलीले नेता नेपाललाई सम्बोधन गर्दै लेखेका छन्, “तपाईंले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कुभलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भइ उक्त कार्यलाई निरन्तरता दिने स्वीकारोक्ति सहित अहंकार र आत्मकेन्द्रित कुरा उल्लेख गरी स्पष्टिकरणको जवाफ दिएको देखियो ।”

पार्टी विरोधी, फाटोवादी र गुटगत क्रियाकलाप नेकपा (एमाले)कै नाममा गरिएको र त्यसलाई आगामी दिनमा निरन्तरता दिईरहनेतर्फ अग्रसरता देखिएको, पार्टीका लागि एकताका लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनसायका निम्ति दुरुपयोग गर्ने सम्भावना देखिएको निलम्बन पत्रमा उल्लेख छ ।

“पार्टी विरोधी गतिविधि बन्द गर्न र सही बाटोमा फर्किने मौका दिन एकैपटक कडा कारवाही गर्नुभन्दा हाललाई दशौँ महाविधेशन आयोजक कमिटी सदस्य र पार्टी सदस्यबाटै पार्टीको विधान २०४९(संशोधन २०७१ समेत) को धारा ४९ ख बमोजिम हाललाई ६ महिनाका लागि निलम्बन गरिएको” स्पष्ट पारिएको छ ।

यस्तै, नेता रावललाई स्पष्टिकरणमा सोधिएअनुसार ‘आफ्नो भूलत्रुटीको स्वीकारोक्ती नगरेको, कुनै आत्मसमीक्षा नगरेको, आत्मआलोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो’ भन्ने निलम्बन पत्रमा उल्लेख छ । यस्तै ‘आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्याउन तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्टी भएको यही चैत ८ गते पेश गरिएको स्पष्टिकरणको जवाफमा’ देखिएको उल्लेख छ । केही दिनअघि बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीभित्र आवश्यक निर्णय गर्ने अधिकार अध्यक्षलाई दिएको थियो ।

सम्बन्धित समाचार