१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

क्यारोलिन ट्र्यानलाई नेपाली समुदायको समर्थन



न्युयोर्क । आगामी जून महिनामा हुन लागेको काउन्सिल डिस्ट्रिक्ट-२५ को प्राईमरी निर्वाचनका उम्मेदवार क्यारोलिन ट्र्यानको चुनाबी अभियान कार्यालय उद्घाटन समारोहमा नेपाली समुदायको बाक्लो उपस्थितीका बीच सम्पन्न भएको छ ।

ज्याक्सन हाईट्स ब्रोड वे को ७४ र ७५ स्ट्रीटबीचमा रहेको लुङ्ता रेष्टुरेन्टमा उक्त अभियानको कार्यालय स्थापना गरिएको हो । नेपालीहरुको अत्याधिक बसोबास रहेको न्युयोर्क सिटी काउन्सिल डिस्ट्रिक्ट-२५ को प्राईमरी निर्वाचन नजिकिँदै गर्दा नेपाली समुदायको सहभागिता पनि दिन प्रतिदिन बढ्दो छ । सोमबार सम्पन्न उक्त कार्यक्रममा भएको नेपाली समुदायका अगुवाहरुको उत्साहजनक सहभागिताले नेपाली समुदायको समर्थन क्यारोलिन ट्र्यानलाई प्राप्त भएको पुष्टि हुन्छ ।

विगत एक दशक भन्दा बढी काउन्सिल मेम्बर डानियल ड्रोमको कार्यालयमा काम गरेकी क्यारोलिन यस निर्वाचनको सबै भन्दा अनुभवी उम्मेदवार मानिन्छिन् । असल, उदार र प्रगतिशील विचारधाराका उम्मेदवार क्यारोलिन सबै भन्दा नेपाली समुदाय-मैत्री उम्मेदवार भएको तथ्य विगतमा उनले गरेका कामहरुको ट्र्याक रेकर्डले प्रमाणित हुने कुरा सोही अभियानमा कार्यरत नेपाली चेली डोल्मा लामाले बताईन् ।

उक्त अवसरमा बोल्दै उम्मेदवार क्यारोलिन ट्र्यानले नेतामूखी बन्दै गईरहेको स्थानीय राजनीति जनमुखी बनाउन र अल्पसंख्यक तथा आप्रवासीहरुको आवाजलाई निर्णायक तहसम्म लैजानको लागि आफु राजनीतिमा होमिएको बताईन् ।

कार्यक्रममा शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पालगायत दर्जनौं सामाजिक अभियन्ताहरुको उपस्थिति रहेको थियो भने नेपाली समुदायका तर्फबाट नेपाली समाज अमेरिकाका अध्यक्ष समीर महर्जन, फिप्नाका अध्यक्ष लोक चेम्जोङ्, हिमालयन बुद्धिस्ट कम्युनिटीका संस्थापक अध्यक्ष तथा कम्युनिटी बोर्ड मेम्बर लोब्साङ् ठिन्ले सलाका, नेपालको संविधानसभा सदस्य शान्ती जिरेल, तामाङ् सोसाइटी अफ अमेरिकाका अध्यक्ष छेमाङ् लामा, क्वीन्स् डि ए मेलिन्डा क्याट्जका सल्लाहकार श्याम कार्की, शेर्पा संघका अध्यक्ष आङ् जाङ्बु शेर्पा, मुस्ताङ किदुगका अध्यक्ष पेमा छिरिङ् गुरुङ्, ग्याल्सुम्दो सेवा संस्थाका अध्यक्ष निमा लामा, तामाङ् सोसाइटीकी पूर्व अध्यक्ष गोमा योन्जन, न्युयोर्क नेपाली हेल्प पोस्टका सोनाम लामा र तिब्बती समुदायका प्रतिनिधि यिन याङका संस्थापक छिमे डोल्मा लगायतका बक्ताहरुले मन्तव्य ब्यक्त गरेका थिए ।

कार्यक्रम संचालन टिभी पत्रकार सुनिता शर्मा कोइरालाले गरेकी थिईन् ।

वर्तमान काउन्सिल मेम्बर डानियल ड्रोमको कार्यावधि सकिन लागेको र आगामी सालको पहिलो महिनामा कार्यभार सम्हाल्ने गरी काउन्सिल मेम्बर चुन्ने प्रकृया अन्तर्गत अहिले डेमोक्र्याटिक पार्टीको प्राईमरी चुनावले नेपाली समुदायलाई पनि तताएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ६ : ४३ बजे