७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

नेपालका पुरातात्विक बस्तु वाणिज्य दूतावासलाई हस्तान्तरण



न्यूयोर्क । नेपालबाट हराएका तीन वटा पुरातात्विक सम्पदालाई अमेरिकाबाट नेपाल फर्काइने भएको छ । न्यूयोर्कस्थित नेपालका वाणिज्य दूतावासले ती सम्पदाहरु प्राप्त भएको उल्लेख गर्दै छिट्टै नेपाल पठाइने जनाएको हो ।

ती सम्पादाहरु अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क काउन्टी जिल्ला अटार्नीको कार्यालयबाट प्राप्त गरेका हुन् । दूतावासले अप्रिल १ मा एक समारोहको आयोजना गरी ती सम्पदाहरु हस्तान्तरण गरेको जनाएको छ । हस्तान्तरण समारोहमा नेपाल सरकारको तर्फबाट कार्यवाहक कन्सुलर जनरल विष्णु प्रसाद गौतम र न्यू योर्क काउन्टीका जिल्ला अटर्नी साइरस भान्स जुनियरले ती परातात्विक सम्पदाहरुको रिकभरी, हस्तान्तरण र स्वदेश फिर्ती गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । न्यू योर्क काउन्टीका कार्यकारी जिल्ला अटार्नी जोन इल्लुजी-ओर्बनले ती बस्तुहरूलाई कार्यवाहक कन्सुलर जनरललाई हस्तान्तरण गरेकी थिइन् ।

त्यसमा ११ देखि १६ औं शताब्दीमा बनाइएका बसेको गणेशको मूर्ती, त्यस्तै १५ औं शताब्दीमा बनाइएका भूमिस्पर्स मुद्रामा बसेका बुद्धको मुर्ती र रंगीन अप्सरा चित्रण गर्ने वुडन बीम रहेका छन् ।

समारोहमा बोल्दै, कार्यवाहक कन्सुलर जनरल गौतमले संयुक्त राज्य अमेरिकाको होमल्याण्ड सुरक्षा विभाग र यसका अधिकारीहरू, न्यूयोर्क काउन्टीका जिल्ला अधिवक्ता भेन्स, कार्यकारी जिल्ला अटर्नी इलुउजी-ओर्बोनप्रति गहिरो आभार व्यक्त गरेका थिए । साथै उनले सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्द्धनका लागि संयुक्त रुपमा काम गर्ने प्रतिबद्धताको स्वागत गर्दै भविष्यमा नेपालको हराएको पुरानो सम्पदाको पुनःस्थापनामा सबैबाट समान सहयोग प्राप्त हुने आशा व्यक्त गरे ।

न्यूयोर्कका कार्यकारी जिल्ला अटार्नी इल्लुजी-ओर्बनले हराएको नेपाली पुरातात्विक बस्तुलाई नेपालमा फिर्ता गर्न सक्षम भएकोमा सन्तुष्टि व्यक्त गरे । उनले होमल्याण्ड सुरक्षा विभाग, र अन्य सबै देशहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता अभिव्यक्त गर्दै गैरकानुनी स्वामित्वमा रहेको पुरातात्विक बस्तुहरूको ट्र्याक गर्न र उनीहरूको सही देशहरू र जनतामा फर्कन अपील गरिन् ।

उनले पुरातात्विक बस्तुहरू होमल्याण्ड सुरक्षा विभागले अन्तर्राष्ट्रिय तस्करहरू र उनीहरूका सहयोगीहरूबाट प्राप्त गरेको बताइन् । साथै पुरातात्विक बस्तुहरूको अवैधरुपमा अधिनमा राख्ने, निर्यात र बिक्रीमा संलग्न व्यक्तिहरूबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  ४ : ०७ बजे