१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

नेपालमा एकैदिन ५६५७ संक्रमित, थेग्न सकिन्न : स्वास्थ्य मन्त्रालय



काठमाडौँ । नेपालमा मटपछिल्लो २४ घण्टामा ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणबाट शुक्रबार ५ हजार ६ सय ५७ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ ।

२४ घण्टामा ३३ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ७९ पुगेको छ । आइसोलेसनमा ३८ हजार ८ सय १३ र क्वारेन्टाइनमा ५५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

थेग्न नसकिने भयो: स्वास्थ्य मन्त्रालय

कोभिड १९ को संक्रमण नेपालमा निकै उच्च गतिमा फैलिरहेको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आएको बताएको छ ।

मन्त्रालयले शुक्रबार सार्वजनिक अपील जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य १९ जिल्लामा संक्रमण फैलने दर डरलाग्दो भएका कारण अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने अवस्था आइसकेको बताएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको अपीलमा संक्रमणको रोकथामका लागि सबैलाई जनस्वास्थ्य मापदण्डहरु कडाईका साथ पालना गर्न अनुरोध गरिएको छ । यस्तै कुनै पनि मार्गबाट देश विदेश जाने आउने वा आन्तरिक बाह्य पर्यटनका लागि कहि कतै जाने कामहरु पूर्ण रुपमा नगर्नु नगराउनुहुन पनि अपील गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ५ : ०६ बजे