प्रधानमन्त्रीको विश्वासको मत प्रस्ताव असफल, ओली पदमुक्त

२०७८ बैशाख २७, सोमबार १८:२०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओेलीले प्रतिनिधिसभामा विश्वास प्राप्त गर्न असफल भएका छन् । प्रतिनिधिसभाको सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले राखेको विश्वासको प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए । त्यस्तै हुन्न भन्ने पक्षमा १५ सांसद तटस्थ बसेका छन् । बैठकमा २३२ सांसद उपस्थित भएको सभामुख सापकोटाले जानकारी दिए ।

विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले) लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव विफल भएको हो । एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत परेको हो ।

प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मतदात गरेका थिए । जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहे भने केहीले विपक्षमा मतदान गरे । मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो ।

प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत प्राप्त गर्न आवश्यक पर्थ्यो । मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ । प्रस्तावमा सभामुखबाहेक २६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो ।

एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ ।