१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोरोनासँग लड्न मित्र राष्ट्रहरुबाट सहयोग आउँदै, अमेरिकाले छिट्टै पठाउने



काठमाडौं । नेपालमा बढ्दै गएको कोरोना महामारीबिरुद्धको लडाईमा मित्र मुलुकहरुबाट सहयोग प्राप्त हुन सुरु भएको छ । केही देशहरुले स्वास्थ्य सामाग्री पठाउन थालिसकेका छन् भने कतिपयले पठाउने तयारी गरेको समाचारहरु प्राप्त भएको छ ।

अमेरिकाले छिट्टै पठाउने

अमेरिकाले नेपाललाई छिट्टै विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउने भएको छ । नेपाल लगायत दक्षिण एसियाली मुलुकलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराउने काठमाडौंस्थित अमेरिकी दूतावासले एक ट्वीट मार्फत जानकारी गराएको छ ।

अमेरिकी दूतावासले आफ्नो ट्वीटमा भनेको छ, ‘युएसएआइडीले नेपाल लगायत दक्षिण एसियामा बढेको कोभिड-१९ को संक्रमणसँग लड्न विभिन्न अत्यावश्यक चिकित्सा सामग्रीहरु निकट भविष्यमा नै उपलब्ध गराउँदैछ ।’


तिब्बतले पठायो सहयोग

यस कोरोनाको दोस्रो लहरमा नेपाललाई सहयोग गर्ने मुलुकको रुपमा चीन प्रमुख रहेको छ । चीन सरकारले यसअघि नै अक्सिजन सिलिन्डरलगायतका सामाग्रीहरु सहयोग गरेको छ भने चीनका बिभिन्न प्रान्तीय सरकारहरुले पनि सहयोग गरेको छ । यसअघि सिचुवान प्रान्तको सरकारले पनि हसयोग गरेको थियो । यसैबीच बिहीबार चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन बिहीबार ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए ।

तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिण्डर भर्न सकिने बताइएको छ । तिब्बत सरकारले २०० थान आइसियू बेड, पाँच थान भेन्टिलेटर र १० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

स्वास्थ्य सामग्री बोकेका कार्गो स्थलमार्गबाट नेपाल लैजान कुनै रोकावट नहुने तिब्बत सरकारले जनाएको महावाणिज्य दूतावासले बताएको छ ।

प्रधानमन्त्रीले मागे बेलायतसँग कोरोना खोप

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित बेलायत राजदूत निकोला पोलिटसँग कोरोना खोप सहयोग गर्न अनुरोध गरेका छन् । बिहीबार बेलायती राजदूत निकोला पोलिटसँगको भेटमा प्रधानमन्त्री ओलीले नेपाली नागरिका लागि एस्ट्राजेनेकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध, कोभिड–१९ विरुद्धको लडाईंमा परस्पर सहयोगको आदानप्रदान बारेमा छलफल भएको थापाले बताए । बेलायतले पनि नेपाललाई सहयोग पठाउने तयारी गरिरहेको छ ।

स्पेनबाट पनि सहयोग

यूरोपेली मुलुक स्पेनले नेपाल सरकारलाई स्वास्थ्य सामग्रीहरु पठाएको छ । स्पेनको स्वास्थ्य मन्त्रालयले कार्गो गरेर आइबेरिया एयरलाइन्समार्फत स्वास्थ्य सामग्री नेपाल पठाएको हो । स्पेनमा सहयोग सामग्री जुटाउन भूमिका खेलेकी नेपालकी राजदूत दावा फुटी शेर्पा पनि सोही जहाजमार्फत् काठमाडौं आएकी छन् । कार्गोमा ५ टनभन्दा बढी कोभिड नियन्त्रणसम्बन्धी स्वास्थ्य सामग्री रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वास्थ्य सामग्री बुझेका छन् । यसैबीच स्वास्थ्य सामाग्री लिएर आएको जहाजले नेपालमा रोकिएका स्पेनिस नागरिकलाई फिर्ता लिएर गएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहिबार  ४ : २८ बजे