विपक्षी गठबन्धनद्वारा सरकारको काममा सहयोग नगर्न आग्रह

२०७८ जेष्ठ १६, आईतवार १७:१६

काठमाडौँ । सरकारबिरोधी विपक्षी गठबन्धनले ‘राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने’निर्णय लिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा भएको बैठकले सरकारले गरेका असंबैधानिक कामहरुलाई सहयोग नगर्न पनि सबैलाई आग्रह गरेको छ । यसको अर्थ सरकारी संयन्त्रलाई सरकारलाई साथ नदिन भनेको हो ।

काम चलाउ सरकारले पूर्ण बजेट ल्याएको भन्दै असन्तुष्टी जनाएको विपक्षी गठबन्धनले यही सन्दर्भमा सरकारको कामकाजलाई नसघाउन आह्वान गरेको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेले कारवाही गरेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए । नेताहरूले आफनो असंवैधानिक कदमका विरुद्ध सडक प्रदर्शन हुने डरले प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई कडा बनाएको निष्कर्षसमेत निकालेको बताइएको छ । तर यो विषय जारी विज्ञप्तिमा उल्लेख छैन ।

सम्बन्धित समाचार