फेसबुकका प्लेटफर्महरुमा ट्रम्पलाई दुई वर्ष प्रतिबन्ध

२०७८ जेष्ठ २२, शनिबार १७:५२

अमेरिका । फेसबुकले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कम्तिमा दुई वर्षका लागि इन्स्टाग्रामसहितको आफ्नो प्लेटफर्मबाट प्रतिबन्धको घोषणा गरेको छ । यो प्रतिबन्ध जनवरी २०२३ सम्म रहने बताइएको छ ।

फेसबुकका विश्व मामिलाका उपाध्यक्ष निक क्लेगले ट्रम्पले सामाजिक सञ्जालमा गरेको कार्यले नेटवर्कको ”नियमहरूको गम्भीर उल्लंघन गरेको छउल्लेख गर्दै नयाँ प्रोटोकल अनुसार ती दण्ड योग्य रहेको उल्लेख गरेका छन् ।

फेसबुकको अर्ध-स्वतन्त्र पर्यवेक्षण बोर्डले गत महिना फेसबुकले जनवरी ७ मा संसद भवनमा भएको आक्रमणपछि तत्कालिन राष्ट्रपति ट्रम्पलाई निलम्बन लगाउनु जायज भएको प्रतिवेदन दिएको थियो । साथै फेसबुकलाई निलम्बनको समीक्षा गर्न निर्देशन दिइएको थियो ।

फेसबुकले ट्रम्पको निलम्बनको दुई वर्षको अवधी गत जनवरीमा प्रारम्भिक प्रतिबन्ध लगाएको मितिदेखि नै मानिने उल्लेख गरेको छ ।

फेसबुकले दुई वर्ष प्रतिबन्ध लगाउने भनेपछि पूर्व राष्ट्रपति ट्रम्पले बिज्ञप्ति जारी गरेर यो कार्य ‘अपमानजनक’ रहेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अन्तत् जीत हाम्रै हुने छ ।’

राष्ट्रपति कालमा मूलधारे मिडियाले ट्रम्पको अलोचना गर्न थालेपछि आफ्नो भनाईहरु बाहिर ल्याउनका लागि उनले सामाजिक सञ्जाललाई माध्यम बनाएका थिए । बिशेष गरेर फेसबुक र ट्वीटरमा सक्रिय भएर आफ्ना दशौं लाख फलवर्सहरुलाई उनी आीफ्ना भनाई राख्ने गर्थे ।

तर गत जनवरीमा ट्रम्प समर्थकहरुले वासिङ्टन डीसीस्थित संसद भवनमा आक्रमण गरेका बेला आक्रमणकारीलाई उक्साउने खालका सामाग्रीहरु राखेको भन्दै यूट्युव, फेसबुक, ट्वीटरले उनलाई तत्काल निलम्बन गरेको थियो ।

सम्बन्धित समाचार