९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

सफा हिमाल अभियानमा संलग्न ब्यक्ति तथा संस्थालाई सम्मान



काठमाडौं । नेपाली सेनाको सफा हिमाल अभियानले २७ हजार ६७१ किलो फोहोर संकलन गरेको छ । सेनाले छ हिमालमा सफाई अभियान चलाएको थियो ।

विश्व वातावरण दिवसका अवसरमा शनिबार सफा हिमाल अभियानमा सम्लग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरिये । सैनिक मुख्यालय जङगी अड्डामा आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उहाँहरुलाई कदरपत्र प्रदान गरेका हुन् । सेनाको अगुवाइमा सर्बोच्त शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट गत चैत ३१ गतेदेखि यही जेठ १५ सम्म फोहर सङ्कलन गरिएको थियो ।

अभियानका क्रममा सङ्कलन गरेको नकुहिने २५ हजार १६६ फोहर प्रशोधनका लागि काठमाडौ ल्याएर सम्वन्धीत संस्थालाई हस्तान्तरणका साथै कुहिने २ हजार ५०५ किलो सम्वन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको थियो । यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका दुई शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेका दुई शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाएको पनि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कदरपत्र हस्तान्तरण कार्यक्रममा उपरथी भण्डारीले अभियानले हिमाल सफाई सम्बन्धमा आम जनतालाई सूसूचित गराउन,मुलुकको अमूल्य नीतिका रुपमा रहेका हिमालको मनोरम कायम राख्न तथा नागरिक– सैनिक सम्वन्ध विस्तार र सहकार्यमा नमूना प्रस्तुत भएको बताए ।

सेनाले सन् २०१९ मा सगरमाथा हिमाल सफाइका क्रममा १० टन फोहरसगै विभिन्न मितिमा हिमाल आरोहरणका क्रममा ज्यान गुमाएका ४ आरोहिको शव काठमाडौ ल्याएर सम्बन्धित परिवारलाई हस्तान्तरण गरेको थियो । सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका निर्देशक हिमांशु खड्काले सेनाको अगुवाईमा ४३ सैनिक र ६९ गैरसैनिक सम्मिलित पाँच टोली बनाएर अभियानका क्रममा छ हिमालबाट फोहर सङ्कलन गरिएको जानकारी दिए ।

‘हिमाल हाम्रो शान भएकाले जति सक्दो सफा राखौ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियान निकै प्रभावकारी भएको सो अवसरमा जानकारी दिइयो । वन तथा वातावरण मन्त्रालय वातावरण महाशाखाका महानिर्देशक धनन्जय पौडेलले अभियान मार्फत हिमालको महत्व र सरसफाई सम्वन्धमा ठिक ढंगबाट जनचेतना प्रवाह भएको बताए । अभियानका क्रममा तीन जना सैनिक र दुई जना गैरसैनिकले आमादब्लम हिमालको सफल आरोण समेत गरेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार  १० : ५९ बजे