आफ्नै डम्फु
———- कृष्ण बाउसे
न देख्दा बलियोबाङ्गो
न माक्कमुक्क ,न रातोपीरो
सनपाट निकालिसकेको सन्ठीजस्तो
रगत सुकेको
मासु झिकेको
मात्र कपडाले बेरेको अस्थिपिन्जर तिमी !
तिमी त राँको हुनुपर्ने बरू
र उज्यालो पारिदिनुपर्नै बाटाहरू
अनि हिड्न सजिलो पार्दिनुपर्ने बटुवालाई ।
उस्तै परे
डढेलो लगाइदिनुपर्ने तिमीले
ननाशी नहुने वनमारा झारमा।
उस्तै परे
आगो बालिदिनु पर्ने तिमीले
निमुखाका चुलाहरूमा।
तर तिमी त कोदाली बोकेर पो आयौ !
र पस्यौ हिलो खेतमा
अनि इत्तरिन थाल्यौ रोपारहरूसँग ।
भन
ए अपत्यारिलो मान्छे !
म तिमीलाई साँच्चै बाउसे ठानौं कि
मानौं तिमीलाई
चटक देखाउन आएको
कुनै सिकारु जादूगर !