उपत्यकाको निषेधाज्ञा केही खुकुलो

२०७८ असार १, मंगलवार १५:३९

काठमाडौं । कोरोनाको महामारी केही घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि थप गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । निषेधाज्ञा असार ७ गते राती १२ बजेसम्म जारी रहने छ ।

काठमाडौँ उपत्यकाकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने तर केही कार्यहरुमा अनुमति दिने निर्णय गरेको थियो ।

यसअघि खाद्य सामग्री खरिद/विक्रीका लागि बिहान ९ बजेसम्म मात्र समय दिइएकोमा आजदेखि ११ बजसम्म बढाइएको छ । सामानको ढुवानी भने राति ९ बजेदेखि विहान ११ बजेसम्म मात्र गर्न पाइने छ । पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खोल्न पाउने गरिएको छ ।

विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल) दिउँसो चार बजेपछि सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ । यसअघि यस्ता पसल खोल्ने अनुमति थिएन ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म चल्न दिने भनिएको छ ।

नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीऊ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रूपमा कामदार राखेर सञ्चालन गर्न भनिएको छ ।

निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । स्कूल कलेजहरु अझै बन्दै रहने छन्, अनलाइनबाट पठनपाठन गर्न सकिनेछ ।

बैँक तथा वित्तीय संस्थाले सिमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्नेछन् । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइने आदेशमा उल्लेख छ ।

विवाहमा सात जना सहभागी हुन सक्ने र एउटा मात्रै गाडी प्रयोग गर्न सक्ने छन् । तर पार्टी प्यालेसमा विवाह ब्रतबन्ध रोक लगाइएको छ ।

 

सम्बन्धित समाचार