काठमाडौं । नेपालमा मनसुन सुरु भएसँगै लगातार वर्षाले विभिन्न स्थानमा बाढी पहिरो ल्याएको छ । मंगलबार दिउँसोसम्ममा मानवीय क्षती भएको खवर नाएपनी विभिन्न स्थानमा बाढी र पहिरोले सडकहरु अबरुद्ध भएका छन् । बस्तीहरुमा पानी पसेको छ ।
मुग्लिन–नारायण सडकको विभिन्न स्थानमा पहिरो झरेकाले बाटो अबरुद्ध भएको छ । त्यसैगरी स्याङ्जाको भालु पहाडमा पहिरो खसेका कारण स्याङ्जाबाट पोखरा आउने बाटो पनि अबरुद्ध भएको छ ।
बेँसीशहर—चामे सडक अवरुद्ध
आइतबारदेखि निरन्तर वर्षाले बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक अबरुद्ध भएको छ । बाढीले खेल मैदान र बङ्गुर फार्म बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ ।
मनाङको नासोँ गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलामा रहेको बेली बिज्र बगाएको छ । धारापानीको केही घरमा क्षति पुगेको छ भने, नासोँ गाउँपालिका—१ स्थित ताल बजारमा रहेको सबै घरहरु उच्च जोखिममा छन् । मस्याङ्दी नदीले डुबाउन सक्ने खतरा बढेकाले त्यहाँका स्थानीयले जनाएका छन् ।
त्यस्तै मस्र्याङ्दी गाउँपालिका—४ रामबजारमा रहेको बाघेता युवा क्लवको खेल मैदान मस्र्याङ्दी नदीले बगाएको छ । क्लबका अध्यक्ष विष्णु गुरुङका अनुसार नदीमा पानीको बहाव वृद्धि हुँदा १० मिटर जति खेलमैदान बगाएको र अझै खेल मैदान बगाउने क्रम जारी रहेको छ । खेल मैदान यसै वर्ष गण्डकी प्रदेश सरकारको रु २० लाख र मस्र्याङ्दी गाउँपालिकाको रु पाँच लाख गरी रु २५ लाखमा निर्माण गरिएको थियो ।
बाढी सुपरदोर्दी ‘ख’ आयोजना पस्यो
लमजुङ दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट जलविद्युत् आयोजनामा दोर्दी खोलामा आएको बाढी पसेको छ । केही दिनबाट निरन्तर परेको पानीले मंगलबार बिहान दोर्दी खोलामा बाढी आउँदा यस आयोजनाको बाँधस्थल भरिएर आयोजनाको सुरुङ, पार्किङ स्थललगायतका स्थानमा बाढी पसेको हो । सुरुङभित्र काम गर्दै गरेका ५०/६० जना कामदारको सहकुशल उद्धार गरिएको छ ।
राजमार्ग तथा विद्युत् आयोजना अवरुद्ध
अबिरल वर्षाका कारण बाजुरा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्गका विभिन्न ठाउँहरुमा पहिरो आएपछि यातायात अवरुद्ध बनेको हो ।
राजमार्गको बार्जुगाडदेखि मार्तडीका विभिन्न ठाउँमा पहिरो आएपछि अवरुद्ध बनेको हो । बार्जुगाडको खोलादेखि मार्तडीसम्म पहिरो आउने क्रम नरोकिएकाले राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको अम्कोटमा बढी पहिरो बग्न थालेपछि अन्य क्षेत्रभन्दा जोखिम रहेको छ ।
मार्तडीमा रहेको त्रिवेणी साना जल विद्युत केन्द्रबाट हुने विद्युत् उत्पादन पनि अनियमित हुन थालेको छ । विद्युत्को नहरमा बालुवा थुप्रिदै गएपछि विद्युत् सेवा अनियमित हुनुको साथै अवरुद्ध हुने गरेको हो ।
जयपृथ्वी राजमार्ग अवरुद्ध
पहिरो खस्दा जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध भएको छ । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका–६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको हो ।
राजमार्ग अवरुद्ध हुँदा एम्बुलेन्स, मालवाहक सवारी साधन, अत्यावश्यक कामका लागि हिँडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । बझाङबाट धनगढी, महेन्द्रनगर, काठमाडौँ, डडेल्धुरा, बैतडी र बझाङ भित्रिने सवारी साधन र यात्रुहरु पहिरोका कारण रोकिएका हुन् ।
भीमदत्त राजमार्ग अवरुद्ध
वर्षाका कारण डोटीको जोरायल गाउँपालिका–१ गैरामा पहिरो आउँदा अत्तरिया स्याउले जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । सडक माथिबाट आएको पहिराका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पहिरोले राजमार्ग अवरुद्ध भएपछि अहिले तराइँबाट पहाडका लागि अत्यावश्यक सामग्री लिएर आइरहेका दर्जनौं सवारी साधनबीच बाटोमै रोकिएको प्रहरी चौकी गैराले जनाएको छ ।
सडक डिभिजन कार्यालयको डोजरले पहिरो पन्छाउने काम गरीरहेको स्थानीयवासी मोहन मल्लले जानकारी दिनुभयो । जिल्लामा गएरातिदेखि लगातार वर्षात् भइरहेको छ भने ठाउँठाउँमा पहिरा आएर सडक अवरुद्ध भएको बताइएको छ ।