- बीके नेवा, न्युयोर्क

भद्र कूटनीति प्रयोग गर्दै अमेरिकी राष्ट्रपति जोए बाइडेनले प्रतिद्वन्द्वी रुस र चीनलाई साइजमा ल्याउने प्रयास गर्नुभएको छ । सहयोगी मुलुकहरुसँग युरोपमा जी सात शिखर सम्मेलन, नेटो शिखर बैठक र अमेरिका रुस शिखर वार्ता गरी स्वदेश फर्कनु भएका बाइडेनले अमेरिका नै विश्वको नेतृत्वकर्ता भएको पुष्टि गर्नुभयो ।
उहाँले रुस र चीनलाई विश्व व्यवस्थालाई असर पार्ने कुनै पनि गतिविधि नगर्न नेटो मार्फत चेतावनी दिनुभयो । उहाँले विश्व व्यवस्थालाई सहज बनाउन पश्चिमी विश्व एकजुट भएको सन्देश पनि दिनुभयो । राष्ट्रपति भएपछि गर्नु भएको पहिलो विदेश भ्रमणबाटै बाइडेनले अमेरिकाको शक्ति प्रदर्शन गर्नुभयो ।
बाइडेनसहित नेटोका नेताहरूले बेइजिङबाट प्रणालीगत चुनौतीआइरहेको भन्दै चेतावनी दिए पछि चीनले नेटो माथि आफ्नो शान्तिपूर्ण विकासको अपमान गरेको आरोप लगायो । नेटोले आणविक अस्त्र विकास गर्ने सहितका चीनका कामले ‘विधिमाआधारित अन्तर्राष्ट्रिय व्यवस्था’लाई खतरामा पारेको निष्कर्ष निकालेको थियो ।
चीनलाई नेटोले आफ्नो छलफलको विषयवस्तुको केन्द्रमा पहिलो पटक राखेको हो । नेटोको चेतावनीको प्रतिवाद गर्दै चीनले आफ्नो रक्षा नीति ‘प्रतिरक्षात्मक स्वरूपको’ रहेको भन्दै नेटोलाई आफ्नो शक्ति ‘संवाद प्रवर्द्धनका लागि’ प्रयोग गर्न आग्रह गरेको छ । युरोपेली सङ्घमा रहेको चिनियाँ नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, प्रतिरक्षा र सैन्य आधुनिकीकरणको हाम्रो जोड औचित्यपूर्ण, तर्क सङ्गत, खुला र पारदर्शी छ । चीनको सेना विश्वकै सबैभन्दा ठूलो फौज हो जसमा सक्रिय सेवामा २० लाखभन्दा बढी कार्यरत छन् ।
अमेरिकी राष्ट्रपति बाइडेन पहिलो पटक नेटोको बैठकमा सहभागी हुनु भएको हो । युरोपेली र उत्तर अमेरिकी देशहरूको यस शक्तिशाली राजनीतिक एवं सैन्य गठबन्धनले रुस र चीनलाई आफ्नो मुख्य जोखिमका रूपमा हेर्ने गरेको छ ।
नेटो शिखर बैठक पछि जारी गरिएको विज्ञप्तिमा चीनको ‘घोषित महत्वकांक्षा र आक्रामक व्यवहारले नियममाआधारित अन्तर्राष्ट्रिय व्यवस्था र गठबन्धनको सुरक्षासँग जोडिएका क्षेत्रमा’ प्रणालीगत चुनौती दिने उल्लेख गरिएको छ । त्यसमा नेटो पारदर्शिताको अभाव र गलत सूचनाको प्रयोग प्रति चिन्तित रहेको उल्लेख गरिएको छ ।
चीन विश्वको एउटा प्रमुख सैनिक र आर्थिक शक्ति हो र त्यहाँको कम्युनिस्ट पार्टीले राजनीति, दैनिक जीवन र समाजको धेरै हिस्सामा आफ्नो प्रभाव कायम राखेको छ । पछिल्ला दिनमा चीनको बढ्दो सैनिक सामर्थ्यलाई लिएर नेटोले बढी चासो देखाएको छ । उसले त्यसलाई सुरक्षा र आफ्ना सदस्य राष्ट्रहरूको लोकतान्त्रिक मूल्यप्रतिको जोखिमका रूपमा हेर्ने गरेको छ । हालैका वर्षमा अफ्रिकामा सैनिक शिविरहरू बनाउने चिनियाँ गतिविधिलाई लिएर पनि नेटो झस्किएको छ।
नेटो शिखर बैठकले खवरदारी गरेपछि आक्रोशित चीनले ताइवानको आकाशमा २८ लडाकु विमान उडाएर शक्ति प्रदर्शन गरेको छ । ताइवानको रक्षा मन्त्रालयकाअनुसार ताइवानको हवाई क्षेत्रमा पहिलो पटक यति ठूलो संख्यामा चिनियाँ विमान प्रवेश गरेका हुन् । ताइवानले आफ्नो क्षेत्रमा प्रवेश गरेका चिनियाँ विमान मध्ये केही परमाणु हतियार पनि खसाल्न सक्ने किसिमको भएको बताएको छ । सोमबार नेटोका नेताले चीनको सैन्य चुनौतीलाई लिएर चेतावनी दिएको केही दिनमा नै चीनले ताइवानको आकाशमा आफ्नो लडाकु विमान उडाएको हो ।
ताइवानले आफूलाई एक स्वतन्त्र मुलुक भएको दाबी गर्दै आएको छ तर चीनले भने ताइवानलाई आफ्नै एक प्रान्तको रुपमा लिँदै आएको छ । पछिल्लो केही महिनायता चीनले पटक पटक ताइवानको हवाई क्षेत्रमा आफ्नो विमान उडाउँदै आएको छ । गत जनवरीमा यस्तै मिसनमा १५ चिनियाँ विमान ताइवानको आकाशमा उडेका थिए भने अप्रिलमा यो संख्या २५ पुगेको थियो । विशेषगरी कोरोना भाइरस (कोभिड–१९) को महामारी पछि चीन र ताइवानको विवाद चुलिएको छ ।
उता अमेरिका र रुसका राष्ट्रपतिहरूले जेनेभामा भएको शिखर वार्ता केही मतभेदका बीच सकारात्मक भएको बताउनु भएको छ । सन् २०१८ यता भएको पहिलो प्रत्यक्ष भेटवार्तामा दुई नेताहरूले खासै ठोस प्रगति कायम गर्न भने सक्नु भएन । अमेरिकी राष्ट्रपति बाइडनले बढाइचढाइ नगरी फरक मतहरू प्रस्तुत गरिएको उल्लेख गर्दै रुसले नयाँ शीतयुद्ध नचाहेको बताउनु भयो । रुसी राष्ट्रपति पुटिनले बाइडेन अनुभवी राजनेता भएको उल्लेख गर्दै दुवैले ‘समान धारणा’ राखेको बताउनु भयो ।
दुई नेताहरू बीचको छलफल झन्डै तीन घण्टा चलेको थियो । वार्ताका लागि त्यो भन्दा बढी समय छुट्याइएको भए पनि बाइडेनले आफूहरूलाई थप समय नचाहिएको र रुससँग सम्बन्ध सुधारको वास्तविक सम्भावना अहिले देखा परेको बताउनु भयो । दुवै पक्षले परमाणु अस्त्र नियन्त्रणबारे छलफल आरम्भ गर्न सहमति जनाएका छन् । अब दुवै मुलुकले एक अर्काका देशमा राजदूतहरू पठाउने भएका छन् । अमेरिकामा सन् २०२० को राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको आरोप अमेरिकाले लगाएपछि दुवै देशहरूले छलफलका लागि भन्दै आआफ्ना राजदूत फिर्ता गरेका थिए । तर साइबर सुरक्षा, युक्रेन र हाल अढाई वर्षको जेल सजाय काटिरहेका विपक्षी नेता एलेक्सी नभाल्नीको भविष्य जस्ता विषयमा कुनै ठोस प्रगति भएन । नभाल्नीको जेलमा ज्यान गए त्यसले रुसका लागि ‘भयावह परिणाम’ निम्त्याउने भन्दै बाइडनले पुटिनको ध्यानाकर्षण गराउनु भयो ।
यस पटकको शिखर बैठकअघि दुवै पक्षले आपसी सम्बन्ध हालसम्मकै न्यून बिन्दुमा पुगेको बताएका थिए । पुटिनले बन्दीहरू साटासाट बारे सहमति हुन सक्ने सङ्केत गर्दै सम्झौतामा पुग्न सकिने सम्भावना औँल्याउनु भयो । साइबर हमलाहरूका विषयमा पुटिनले रुस जिम्मेवार नभएको दावी गर्नुभयो । बाइडनले संवेदनशील पूर्वाधार जस्तै पानी वा इन्धनमा कुनै किसिमको ह्याकिङ वा आक्रमण अस्वीकार्य हुने र त्यसको प्रतिकार गरिने बताउनुभयो ।
हालै २४ दिनभोक हडतालमा बसेका नभाल्नीका बारेमा अमेरिकी सरोकार खारेज गर्दै पुटिनले उनले कानुन मिचेको र जेल सजाय हुने आफू स्वयंलाई थाहा भएको दावी गर्नुभयो । केही समय पहिले जर्मनीमा उपचार गराएर रुस फर्किएका नभाल्नीले आफूलाई पुटिनको आदेशमा स्नायु प्रणालीमा असर गर्ने विष दिइएको बताउने गरेका छन् । त्यसलाई रुसी राष्ट्रपतिले अस्वीकार गर्दै आउनु भएको छ । रुसले आफ्नो भूमिमाअस्थिरता नचाहेको उल्लेख गर्दै पुटिनले रुस परमाणु शक्ति भएको र विश्वमा शान्ति चाहेको बताउनुभयो ।
दुई पक्षबीच रहेका गहिरा मतभेदहरूबारे विस्तृतमा छलफल भएकाले दुवै नेताले यो शिखर बैठकलाई सकारात्मक रुपमा लिनु भएको छ । बाइडेनले देशभित्र ‘अमेरिका पुनःफर्किएको’ र आफू डोनल्ड ट्रम्प नभएको सन्देश यो भ्रमणमार्फत प्रमाणित गर्नुभएको छ ।
उहाँले नम्र भाषामा रुसले साइबर, मानवअधिकार र अरू विषयमा हामीले चाहे जस्तो नगरे हामी प्रतिक्रिया जनाउने छौँ भन्नुभयो । पुटिनले यसअघि धेरै पश्चिमा नेताहरू सित भेटवार्ता गर्नुभएको छ । उहाँले बाइडनलाई अरूभन्दा फरक अमेरिकी राष्ट्रपतिका रूपमा पनि हेर्ने सम्भावना छ । तर यो शिखरवार्ता पछि दुवै मुलुकले चाल्ने कदमले आगामी दिनमा सम्बन्ध कस्तो बन्ने हो स्पष्ट हुनेछ ।