कोभिड–१९ को बेलाको एक चुम्बनले बेलायती मन्त्रीको जागिर चट

२०७८ असार १३, आईतवार २३:१०

बेलायत । बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारंपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।

‘द सन पत्रिका’ले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको थियो । उक्त पत्रिकाले ती तस्बिहरू स्वास्थ्य मन्त्रालयभित्र ६ मेमा लिइएको जनाएको छ ।

प्रधानमन्त्रीलाई लेखेको पत्रमा उनले ‘जनताले यो महामारीमा गरेका धेरै त्यागको लागि र साँच्चिकै भन्नुपर्दा जब हामीले उनीहरूलाई निराश पार्छौँ तब सरकार उनीहरूको ऋणी रहने’ उल्लेख गरेका छन् ।

प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा पत्र पाएर आफू ‘दुःखी’ भएको बताएका छन् । कयौँ पत्रिकाहरूले ह्यानककले आफ्नी श्रीमती मार्थासँगको १५ वर्षे वैवाहिक सम्बन्ध टुङ्ग्याएको समाचार छापेको छ ।

बीबीसीकी राजनीतिक सम्पादक लरा कुन्सवर्गका अनुसार नम्बर टेन भनिने प्रधानमन्त्री कार्यालयले राजीनामा ह्यानकको निर्णय भएको र उनलाई प्रधानमन्त्रीले ननिकालेको बताएको छ ।

“म स्वास्थ्य तथा सामाजिक स्याहार मन्त्रीको पदबाट राजीनामा दिनका लागि प्रधानमन्त्रीलाई भेट्न गएको थिएँ ” ट्विटरमा प्रेषित एक भिडिओमा ह्यानकले भनेका छन्, “यो देशका सबैले गरेको धेरै त्यागलाई मैले बुझेको छु…र हामी जसले नियम बनाउँछौँ त्यसमा प्रतिबद्ध हुनुपर्छ र त्यसकै कारण मैले राजीनामा दिएको हुँ ।”

स्वास्थ्यमन्त्रीका रूपमा तीनवर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा ‘नियम तोडेकोमा’ बारम्बार माफी मागेका छन् ।

 

सम्बन्धित समाचार