प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने, माधव नेपाल समुह निर्णायक

२०७८ श्रावण ३, आईतवार १४:१४

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारहतार स‌सद सुरु भएकै दिन विश्वासको मत लिने भएका छन् । संसद् सचिवालयमा उनले विश्वासको मत लिने प्रस्ताव दर्ता भइसकेको छ र संसदको कार्यसूचिमा प्रवेशसमेत भइसकेको छ । आज दिउँसो ४ बजे संसदको बैठक बस्दैछ ।

बिघटित प्रतिनिधिसभाको पुनस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री नियुक्त भएका देउवाले एमालेको माधव नेपाल समुह पार्टी एकतामा गइनसकेको मौका पारेर विश्वासको मत लिन लागेका हुन् ।

करिब साढे तीन वर्ष एमाले अध्यक्ष केपी ओलीले सरकार चलाए भने बिश्वासको मत पाएमा देउवाले बाँकी १७ महिना सरकार चलाउने छन् ।

यसैबीच एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ भने माओवादी, जनता समाजवादी र जनमोर्चाले विश्वासको मत दिने निर्णय गरेको छ । एमालेको माधव नेपाल समुह देउवाले विश्वासको मत पाउने र नपाउनेमा निर्णायक रहेको छ । नेपाल र केही साँसदहरु विश्वासको मत दिने तयारीमा छन् भने पार्टी एकता कार्यदलका सदस्यहरु पार्टीले निर्णय गर्नु पर्ने बताइरहेका छन् ।

यसैबीच एमालेको स्थायी समिति बैठकले देउवालाई विश्वासको मत दिनेहरु एमालेमा नरहने निर्णय गरेको छ । नेता झलनाथ खनालले भने दिल्लीस्थित अस्पतालबाटै विश्वासको मत दिन अपील गरेका छन् ।

विश्वासको मत लिन देउवालाई १ सय ३६ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसको ६१, माओवादी केन्द्रको ४८ (सभामुख बाहेक), एमालेको १२१ (माधव नेपाल पक्ष–२३ ), जसपा ३२ (उपेन्द्र यादव पक्ष–१९) तथा जनमोर्चा, नेमकिपा र राप्रपाको एक–एक मत छ ।

 

सम्बन्धित समाचार